हरियाली प्रवर्द्धनका लागि एक लाख बिरुवा रोप्दै काठमाण्डाै महानगर

 जेठ ६, २०८० शनिबार १९:१४:१६ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सहरमा हरियाली प्रवर्द्धनका लागि एक लाख बिरुवा रोप्ने अभियानअन्तर्गत आज काठमाण्डाै महानगरपालिकाले  शङ्खधरपार्क (रत्नपार्क) मा वृक्षारोपण गरेको छ । 

रोपिएका बिरुवा कपुर, धूपी र समीका छन् । अभियानको थालनी गर्दै यसअघि कोटेश्वर–जडीबुटी सडक खण्डमा एक सय २० कपुरका बिरुवा रोपिसकिएको छ । सहरी हरियालीका प्रवर्द्धनका लागि एक लाख बिरुवा रोप्ने सपना पूरा गर्ने अभियान रहेको महानगरका मेयर बालेन्द्र शाहले बताउनुभयो । 

सहरी हरियालीका लागि धार्मिक मान्यता पाएका, फूल फुल्ने, फल फल्ने र बास्ना आउने बिरुवा रोपेर हरियाली बचाउने, वनस्पतिक र जैविक विविधता जोगाउने प्रयास थालिएको शाहको भनाइ छ । चराचुरुङ्गी तथा अन्य जीव जनावरलाई खाना र बास उपलब्ध गराउनसक्ने क्षमता भएका स्थानीय जातका बोट बिरुवालाई जोगाउने योजनाअनुरुप रैथाने (इडेमिक) र प्राकृतिक रुपमा उम्रने (इन्डिजेनियस) बिरुवा रोपण कार्यलाई पहिलो प्राथमिकतामा राखिनेछ ।   

सन् १८०२ मा एक वर्षसम्म काठमाण्डाैको नारायणहिटी र स्वयम्भूमा वैज्ञानिक बुचानन हामिल्टनले बोटबिरुवाको अध्ययन गर्नुभएकाे थियाे । त्यसबाट ४१ प्रजातिका बिरुवाको नाम नेवारी लवजमा राखिएको छ ।

अन्तर्राष्ट्रियस्तरमा नेवारी लवजबाटै उच्चारण गरिने ती बिरुवा बोसिस्वाँ, नःकुस्वाँ, भोलुस्वाँ, लुँकुलिस्वाँ, गुँसीलगायतका हुन् । यी बिरुवाको वैज्ञानिक नाम क्रमशः बेटुला बोसिस्वाँ (अल्नस नेपालेन्सिस), लौरस नकुस्वाँ, डाँफे भोउलु, लुकुलिया ग्राटिसिमा, पोडोकार्पस नेरिफोलियस हो । यी बिरुवा स्थानीय हावापानीमा सजिलै हुर्कने तथा नेपाली जनजीवनसँग परिचित भएकाले जैविक र वानस्पतिक विविधताको संरक्षणमा सघाउ पुग्ने छ ।  

वनस्पतिविज्ञ प्रकाश खड्गीका अनुसार नेपालमा पाइने एक सय ५८ प्रकारका रूख र ७५ प्रकारका बुटाहरु विश्वका अन्त कतै पाइँदैनन् । यहाँ तीन सय १२ प्रकारका रैथाने जातका बोट बिरुवा छन् ।

सडकको किनारा, पार्क वा घरमा जहाँ ठाउँ छ, त्यहाँ आफ्नै वातावरणमा परिचित बोट बिरुवा रोप्न वनस्पतिविज्ञको सुझाव छ । यसरी रोपिने बिरुवामा उत्तिस, काब्रो, लप्सी, सिमल, पैयूँ, लेक पाङ्ग्रा, सिरिङ्गे, मिकुसी स्वाँ जस्ता बिरुवा छन् । सहरको पानी, माटो, हावा, तापक्रम व्यवस्थापन गर्न वृक्षारोपण आवश्यक छ । यो आवश्यकता स्थानीय जातका बोटबिरुवाले पूरा गराउन सक्छन् । 

काठमाण्डाै महानगरपालिकाको उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाका प्रमुख नवराज थापाका अनुसार रत्नपार्कसँगै खुल्ला मञ्च क्षेत्र तथा पार्कसँगै वडासँग समन्वय गरेर निर्धारण भएका ठाउँमा बिरुवा रोपिने छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया