१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले आज बङ्गला...
माघ ५, २०८१ शनिबार
काठमाण्डौ – नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले आज सरकारी वकिल कार्यालयमा बुझाउँदै छ ।
यो प्रकरणमा संलग्नलाई राज्यविरुद्धको अपराधसहित संगठित अपराध र ठगी गरी कम्तीमा तीन वटा मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ ।
यस्तै, चार उच्च पदस्थ पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईमाथि राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन सिफारिस गरिएको छ ।
महत्वपूर्ण र अति संवेदनशील जिम्मेवारीमा रहेका व्यक्तिकै संलग्नतामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रपञ्च रचिएको भन्दै उनीहरुलाई राज्यविरुद्धको अपराधमा मुद्दा चलाउनु पर्ने प्रहरीको निष्कर्ष छ ।
यस्तै, भुटानी शरणार्थीसमेत रहेका अधिकारवादी नेता टेकनाथ रिजाललाई ठगी र संगठितबाहेक राज्यविरुद्धको कसुरमै मुद्दा चलाउन सिफारिस गरिएको छ ।
रिजालले शरण लिएर बसेको देशविरुद्ध अपराध गरेको प्रतिवेदनमा उल्लेख छ ।
यससम्बन्धी अन्तिम निर्णय सरकारी वकिल कार्यालयले गर्नेछ । आउँदो बुधवारभित्र अदालतमा अभियोग दर्ता गरिसक्नुपर्ने हदम्याद छ ।
मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा ५१ मा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान वा नेपालको अन्तर्राष्ट्रिय छवि उपर अपमान हुने, होच्याउने वा घृणा वा द्वैष फैलाउने काम भएमा यसलाई राष्ट्रहित प्रतिकूल हुने उल्लेख छ ।
राष्ट्रहित प्रतिकूल काम गरेको अभियोग पुष्टि भएमा ५ वर्षसम्म कैद, ५० हजार रुपैयाँ जरिबानावा त्यो अपराध गर्दा रकमको लेनदेन भएमा त्योसमेत जफत हुने व्यवस्था छ ।
यस्तै अपराध संहिता ऐन अनुसार ठगी सम्बन्धी आरोप पुष्टि भए ७ वर्षसम्म कैद र ७० हजार जरिबाना हुने व्यवस्था छ ।
सरकारी निकाय वा संस्थानलाई ठगेमा १० वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिबाना हुन्छ ।
यस्तै कुनै पनि अपराध गर्न तीन वा त्योभन्दा बढीको समूह बनाइ संगठित रुपमा काम गरेको भेटिए संगठित अपराधको अभियोगमा मुद्दा चल्न सक्छ ।
संगठित अपराध निवारण ऐन २०७० अनुसार, संगठित अपराध गरेको पुष्टि भए मूल कसुरमा थप ५० प्रतिशत कैद र जरिबाना हुन्छ । सार्वजनिक पदमा रहेकालाई थप दुई वर्ष सजाय हुने कानुनी व्यवस्था छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन् ।
पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वसांसद आङटावा शेर्पा, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा, सागर थुलुङ, नरेन्द्र केसी, रामशरण केसी र गोविन्द चौधरी पक्राउ परिसकेका छन् भने पूर्व गृहमन्त्री थापाका छोरा प्रतीक र नीरज राई फरार छन् ।
भुटानी शरणार्थी बनाउने नाममा ठगी भएको उजुरी गएको वर्ष जेठमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको थियो ।
त्यसको झण्डै १० महिनापछि गएको चैत १२ गते तीन जना आरोपितलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा गिरोहले झण्डै २६ करोड रुपैयाँ ठगी गरेको दाबीसहित सय जनाभन्दा बढीले प्रहरीमा जाहेरी दिएका थिए ।
गिरोहले १ अर्ब रुपैयाँभन्दा बढी रकम उठाएको अनुमान छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Buddhi bastola
May 21, 2023, 10:09 a.m.जती प्रहरीले दुख गरेर प्रतिवेदन बुझाएपनि अव वकिलले दोशि देखिएन भन्दिने हो सकियो, पक्का वकिलसंगत पहिलादेखिनै सेटिङ्ग भएकै छ