राप्ती र नारायणीमा ३ सय ५२ वटा घडियाल गोही भेटिए

 माघ ४, २०८१ शुक्रबार १८:२४:१९ | रासस
unn.prixa.net

फाइल फाेटाे

चितवन – राप्ती र नारायणी नदीमा ३ सय ५२ वटा घडियाल गोही भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्जले गरेको पछिल्लो गणना तथा अनुगमनका क्रममा राप्ती र नारायणी नदीमा गरी तीन सय ५२ वटा घडियाल गोही भेटिएका हुन् ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार गएको पुस १२ गतेदेखि १४ दिन लगाएर गरिएको गणनामा राप्ती नदीमा २ सय ६ र नारायणी नदीमा १ सय ४६ वटा गोही भेटिएका हुन् । गणनामा निकुञ्जका कर्मचारी र माझी सहभागी भएका थिए ।

गएको वर्ष गरिएको सर्वेक्षणमा राप्तीमा १ सय ५२ र नारायणीमा १ सय १३ वटा गोही भेटिएका थिए । त्यस बेला राप्ती र नारायणीमा ३/३ वटा भाले भेटिएकामा यस वर्ष राप्तीमा २ र नारायणीमा ३ गरी ५ वटा भाले भेटिएका छन् । यस वर्ष एउटा भाले गोही नभेटिए पनि समग्रमा सङ्ख्या भने बढेको छ । गणना हुनुअघि राप्तीमा ४१ वटा गोही छोडिएकाले पनि सङ्ख्या बढेको सूचना अधिकारी थापामगरले बताउनुभयो ।

नदी किनारबाट गोहीका अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा कोरलेर बच्चा हुर्किएपछि नदीमा छोड्ने गरिन्छ । अहिलेसम्म राप्ती, नारायणीसहित देशका विभिन्न नदीमा २ हजार १८ वटा गोही छाडिसकिएका छन् । अहिले प्रजनन केन्द्रमा ७ सय ३९ वटा गोही रहेका छन् ।

घडियाल गोही सङ्कटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो । विगतमा पाकिस्तान, बङ्गलादेश, भुटान, म्यानमारलगायत देशहरूमा समेत पाइने घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छन् ।

सन् १९४० को दशकमा यसको सङ्ख्या विश्वमा १० हजार जति रहेको पाइन्छ । सन् १९७० मा त्यसको २ प्रतिशत मात्रै सङ्ख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढ्दै गएको संरक्षणकर्मी बताउँछन् ।

चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरिएको थियो । त्यस बेला देशभर १ सयभन्दा कम सङ्ख्यामा घडियाल गोही रहेको अनुमान गरिएको थियो ।

नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण, माछा मार्नेलगायत कारणले गोहीका प्राकृतिक वासस्थानमा क्षति भइरहेको सूचना अधिकारी थापामगरले बताउनुभयो । साथै बाढी आउँदासमेत गोही बगेर जाने गरेका छन् ।

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया