विपन्नलाई निःशुल्क सेवा दिएको विवरण हरेक महिनाको १० गतेसम्म नबुझाए कारबाही हुन्छ : बालेन्द्र शाह

 जेठ ७, २०८० आइतबार ९:११:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको दश प्रतिशत शय्या छुट्याइ निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने बताउनु भएको छ ।

बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै उहाँले अस्पतालमा १० प्रतिशत शय्या छुट्याएर गरिब तथा विपन्न बिरामीलाई उपचार दिएको विवरण हरेक महिनाको १० गते भित्र बुझाइसक्न पनि निर्देशन दिनु भएको हो ।

हरेक महिनाको १० गतेसम्म यस्तो विवरण नबुझाउने अस्पताललाई नियम अनुसार कारबाही हुने पनि उहाँले बताउनु भएको छ ।

यस्तै, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई प्रचलित कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्न, अस्पताल भित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्न, अनावश्यक प्रयोगशाला परीक्षणको लागि सिफारिस नगर्न पनि उहाँको निर्देशन छ । 

उहाँले स्वास्थ्य सेवालाई सबै वर्ग, समूहको पहुँचयोग्य बनाउन पनि आग्रह गर्नु भएको छ ।

मेयर शाहले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको दश प्रतिशत शय्या छुट्याइ निःशुल्क उपचार गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको भन्दै ध्यानाकर्षणसमेत गराउनु भएको छ।

यसअघि गएको २ गते काठमाण्डौ महानगरपालिकाले उपचारका लागि पुग्ने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको दश प्रतिशत शय्या छुट्याइ निःशुल्क उपचार दिन महानगर भित्रका सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको थियाे ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया