प्रधानमन्त्रीलाई ओलीकाे प्रश्न– ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालमा पर्छ कि पर्दैन ?’

 जेठ ७, २०८० आइतबार १३:३०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे सरकारको नीति तथा कार्यक्रममा केही उल्लेख नगरिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

आइतवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा अध्यक्ष ओलीले कालापानी क्षेत्रमा भारतले नयाँ संरचना बनाइरहेको कुरा आइरहेको उल्लेख गर्दै त्यसको यथार्थबारे सदनलाई तत्काल जानकारी गराउन पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गर्नुभयो । उहाँले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा भारतसँगको समस्याबारे खुलस्त छलफल गरी समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

वर्तमान सरकारबाट मातृभूमिको सुरक्षाको अपेक्षा गर्न कठिन हुने जिकिर गर्दै अध्यक्ष ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालमा पर्छ कि पर्दैन ? भनेर सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकार परराष्ट्र सम्बन्ध सञ्चालनमा हतास देखिएको छ । छिमेकी मित्र राष्ट्रहरू र विदेशी समुदायलाई कुटनीतिक अपरिपक्वताको परिचय दिएको छ । यस सरकारबाट मातृभूमिको सुरक्षाको अपेक्षा गर्न कठिन छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ कि पर्दैन ? यो सरकारलाई थाहा भएको पनि देखिँदैन । प्रस्तावित नीति तथा कार्यक्रमको बुँदा नम्बर १८५ मा संविधानको अनुसूचीमा रहेको नेपालको नक्सा अटाउन सकेको छैन ।सम्माननीय प्रधानमन्त्रीज्यू केही दिनमा नै भारत भ्रमण जाँदै हुनुहुन्छ । यस हिसाबले म अलिक गम्भीर समस्या यसमा देख्छु । एउटा हामीले के बुझ्नुपर्‍याे भने परराष्ट्र सम्बन्धको विषयमा भने भारत हाम्रो छिमेकी मित्र राष्ट्र हो । मित्रसँग आफूलाई परेको मर्का, आफ्ना कुराहरू खुलस्त गर्न किन नसक्ने ? खुलस्त कुरा नगरि समस्याहरू कसरी समाधान हुन्छन् ? त्यस कारण खुलस्त कुरा गर्नुपर्‍याे । समस्या समाधान गर्नुपर्‍याे ।’

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया