'यो बर्खामा कसरी ज्यान जाेगाउने भन्ने चिन्ता छ'

 जेठ ११, २०८० बिहिबार १९:५६:५४ | रासस
unn.prixa.net

तस्बिर : रासस

बाग्लुङ - जताततै पहिरो । पहिरोका बीचमा माटो, ढुङ्गा र काठले बनेका घर । जब बर्खा सुरु हुन्छ । यी घर रित्तिन थाल्छन् । हिउँदमा घरमा मान्छे बस्ने भए पनि बर्खामा पहिरोका डरले घर छाड्ने क्रम बढ्छ । 

निसीखोला गाउँपालिका–१ हुल्दी गाउँमा साना तथा ठूलो पहिरो वर्षौँदेखि गइरहन्छन् । पहिरोकै कारण वर्षैपिच्छे मानवीय र भौतिक क्षति भइरहेको हुन्छ । बर्खा सुरु भएसँगै ज्यान र सम्पत्ति जोगाउन गाउँलेहरु गाउँमाथिको दह जङ्गलतर्फ लाग्छन् ।

गाउँमा करिब एक सय ५० घर परिवार छन् । यी सबै घरमा पहिरोको जोखिम छ । भूगर्भविद्ले गाउँ बस्नका लागि जोखिमपूर्ण भएको भने पनि स्थानीयहरु अन्यत्र बसाइँसराइ गर्न सकेका छैनन् । बरु जोखिमपूर्ण अवस्थामै गाउँमै बस्न बाध्य छन् । 

हुल्दी गाउँसँगै निसीखोलाको देवीस्थान, खारा बजार, खाडु बजार, धाराखर्क खग्रेनी, काँडा कटेनी र बाहुन गाउँको हालत पनि उस्तै छ । पहिरोका कारण घरमा चिरा परेका छन् । स्थानीयहरु चिरा परेका घर टालटुल गरी बसिरहेका छन् । 

निसीखोला गाउँपालिका जिल्लाकै सबैभन्दा बढी पहिरो प्रभावित अन्तर्गत पर्छ । पालिकामा दुई सय ८२ घरपरिवार पहिरोले विस्थापित भइसकेका गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो । ती घरहमध्ये दुई सय ६० घर स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुगेको उहाँको भनाइ छ । 

गाउँपालिका–१ को देवीस्थान खारा बजारका ४१ घर, हुल्दी गाउँका एक सय घर, वडा नं २ खाडुका ११ घर, वडा नं २ कै काँडा, किटेनी र बाहुनगाउँका ६० घर, वडा नं ३ धाराखर्क खग्रेनीका ४८ घर स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको गाउँपालिकाको तथ्याङ्कमा छ ।

 वडा नं ४ का तीन घर वडा नं ५ का आठ घर, वडा नं ६ का चार घर र वडा नं ७ मा सात वटा घर पहिरोको उच्च जोखिममा रहेको गाउँपालिकाले गौतमले बताउनुभयो । 

'यहाँको भूगोल अलिकति कमजोर खालको हुँदा हरेक वर्ष बाढीपहिरोबाट नागरिक प्रभावित बन्नुपरेको छ, हुल्दी गाउँको पहिरो दुई/चार वर्ष अगाडिको होइन, यहाँ पहिरो जान थालेको दशकौँ भएको रहेछ, स्थानीयको सुरक्षाका लागि स्थानान्तरण गर्नुको विकल्प छैन', सूचना अधिकारी गौतमले भन्नुभयो ।यसका लागि केन्द्र र प्रदेश सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ । 

यसवर्षको  बर्खा सुरु भएपछि गाउँपालिकाले पहिरोबाट जोगिन सचेत गराइसकेको छ । पालिकाका विभिन्न ठाउँमा पहिरोले भत्किएका ४४ घर बनिसकेको उहाँले जानकारी दिनुभयो । मौसमजन्य विपद् अन्तर्गत केन्द्र सरकारले दिएको चार लाख रुपैयाँबाट पहिरो पीडितले घर बनाइसकेको गौतमको भनाइ छ । 

निसीखोला गाउँपालिका–१ हुल्दीका लालबहादुर सिञ्जालीले हुल्दीवासी वर्षौँदेखि पहिरोको डरमा बाँच्नु परेको बताउनुभयो । ठूलो पानी पर्यो भने सबै सरसामान बोकेर दह जान बाध्य हुनुपर्ने उहाँको भनाइ छ । दह पुग्न हुल्दी गाउँदेखि एक घण्टा लाग्छ । त्यहाँ आफूहरु पाल टाँगेर बस्ने गरेकाे सिञ्जालीको भनाइ छ । आर्थिक अवस्था बलियो हुनेहरु बसाइँसराइ सरेर तराईतिर झरे पनि आफूहरु भने जोखिमपूर्ण अवस्थामै बस्नुपरेको उहाँको भनाइ छ । 

सरोकारवाला निकायलाई गाउँको समस्याका बारेमा पटक–पटक सुनाए पनि अहिलेसम्म सुनुवाइ नभएको सिञ्जालीको गुनासो छ । सरकारले एकीकृत बस्ती निर्माण गरेर आफूहरुलाई राखे ज्यान बचाउन सकिने उहाँको भनाइ छ । बर्खामा बालबालिका र बुढाबुढीलाई अझ बढी समस्या हुने गरेको सिञ्जाली बताउनुहुन्छ । 

'फेरि बर्खा सुरु हुन थाल्यो, यो बर्खामा कसरी ज्यान बचाउने भन्ने चिन्ता लागि रहेको छ, बर्खा किन आउँदो हो भन्ने हुन्छ, बर्खा लाग्यो कि गाउँमा केही न केही घटना भइहाल्छ, कहिले कसको घर पुरिन्छ, कहिले मान्छेनै पुरिन्छन्, ५/६ वर्ष अगाडि घरमा सुतिराख्नु भएको मेरो आमा नै पहिरोले पुरिदियो', सिञ्जालीले भन्नुभयो ।

स्थानीय हुमकुमारी मल्लले आफ्नो अन्यत्र सम्पत्ति नहुँदा बर्खामा पनि गाउँमै जोखिम मोलेर बस्ने गरेको बताउनुभयो । ठूलो पानी परेका दिन कुनै दुर्घटना हुन्छ कि भन्दै रातभर नसुती बस्ने गरेको उहाँले बताउनु भयाे । पहिरोले कहिले पशुचौपाया कहिले गोठ पुरिदिने गरेको भन्दै विद्यालय जाने बाटोमा समेत ठूलो पहिरो हुँदा बालबालिका पढ्नबाट वञ्चित भएका उहाँको भनाइ छ । 

'गाउँपालिकामा धेरै पटक भन्यौँ, केन्द्र र प्रदेश सरकारसँग पनि गुहार माग्यौँ तर समस्या जस्ताको त्यस्तै छ',  उहाँले भन्नुभयो, 'पानी पर्न थाल्यो, अब बर्खा पनि लाग्यो, बर्खाको चार महिना त निकै गाह्रो हुन्छ ।'

निसीखोला गाउँपालिका–१ का अध्यक्ष चन्द्रसिंह रामजालीले हुल्दीको पहिरोले वर्षौँदेखि नागरिकलाई दुःख दिइराखेको बताउनुभयो । गाउँको भौगोलिक अवस्था निकै कमजोर हुँदा बस्ती नै स्थानान्तरण गर्नुको विकल्प नभएको अध्यक्ष रामजालीको भनाइ छ । उहाँले बस्ती स्थानान्तरणका लागि गाउँपालिकाको बजेटले नभ्याउने भन्दै यसका लागि केन्द्र र प्रदेश सरकारसँग सहयोग मागी रहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया