विशेष अभियानमा छुटेका बालबालिकाले अहिले पनि खोप लगाउन पाउने

 जेठ १२, २०८० शुक्रबार ८:१२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - अभियान चलेका बेला छुटेका बालबालिकाले अहिले पनि खोप लगाउन पाउने भएका छन् ।

नियमित खोप लगाउन छुटेका बालबालिकालाई नजिकैको स्वास्थ्य केन्द्र तथा स्वास्थ्य संस्थाहरुमा लगेर खोप लगाउन पाइने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतमले बताउनुभयो ।

सरकारले गएको वैशाख १५ र ३१ गते विशेष अभियान नै चलाएर खोपबाट छुटेका बालबालिकालाई खोप दिएको थियो । यो जेठ महिनामा विशेष अभियान नभए पनि नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन पाइने डाक्टर गौतमले बताउनुभयो ।

बालबालिकालाई रोगबाट जोगाउन तत्काल नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन उहाँको सुझाव छ । उहाँका अनुसार ५ वर्षमुनिका सबै बालबालिकालाई १५ महिनाभित्र लगाउनु पर्ने नियमित खोप दिइनेछ । खोपले बालबालिकालाई विभिन्न रोग तथा अपाङ्गता र मृत्यु हुनबाट जोगाउँछ ।

सरकारले जन्मदेखि पाँच वर्षसम्मको उमेरका बालबालिकालाई विभिन्न १३ प्रकारका रोगविरुद्धका खोप नि:शुल्क दिने गरेको छ । आफ्ना बालबालिकालाई स्वस्थ राख्नका लागि नियमित खोप लगाउन अभिभावकलाई डाक्टरको सुझाव छ ।

कोरोना महामारीका समयमा कतिपय बालबालिका खोपबाट छुटेका थिए । जसले गर्दा अहिले ठाउँठाउँमा दादुरालगायत रोगको सङ्क्रमण देखिन थालेको छ । यस्ता सङ्क्रामक रोगबाट बालबालिकालाई जोगाउन खोप लगाए/नलगाएको ख्याल गर्न र नलगाएको भए तुरुन्त लगाउन डाक्टरको आग्रह छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया