लिखु खोला–२ काे सुरुङमार्गबाट पानी चुहिएर बस्तीमा पसेपछि ४० भन्दा धेरै घरधुरी त्रासमा

 जेठ १२, २०८० शुक्रबार १४:४२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लिखुखोला–२ जलविद्युत् आयोजनाको सुरुङमार्गबाट पानी चुहिएर बस्तीमा पसेपछि रामेछापको उमाकुण्ड गाउँपालिकाका ४० भन्दा धेरै घर जोखिममा परेका छन् ।

निर्माण सम्पन्न हुन लागेको लिखुखोला–२ काे सुरुङमा छाडिएको पानी उमाकुण्ड–१ काे पेकरनास, कोरेम र बच्छीमा चुहावट भई बस्तीमा पसेसँगै ४० भन्दा धेरै घर जोखिममा परेका हुन् । कहिल्यै पानी नदेखिने ठाउँमा एकाएक पानीका मूल देखिन थालेपछि स्थानीयवासी त्रसित बनेका पेकरनासका राजेन्द्र खत्रीले जानकारी दिनुभयो । स्थानीयवासीले घटनाको विषयमा स्थलगत अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेका छन् ।

यसअघि पानी रहेका मुहानमा पानीको मात्रा निकै बढेको र कहिल्यै पानी ननिस्कने ठाउँमा समेत पानी देखिएपछि गाउँलेहरू विस्थापित भएका स्थानीय सुवास बस्नेतले बताउनुभयो । जलविद्युत् आयोजनाले सुरुङमा पानी पठाएदेखि नै गाउँमा जताततै पानी देखिएपछि आफूहरूले बस्ती अन्यत्र स्थानान्तरण गरिदिनु पर्ने माग लिएर आयोजनाको कार्यालयमा धर्नासमेत दिएको उहाँले बताउनुभयो ।

उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले गाउँपालिका–१ काे गुम्देलमा निर्माणाधीन ५५ मेगावाट क्षमताको लिखु–२ जलविद्युत् आयोजनाका कारण स्थानीय नागरिकको भागदौड र चित्कार भएको बताउनुभयो । एमडी दुगड समूहको लगानीमा निर्माणाधीन आयोजनाले सुरुङमा पानी हालेपछि सुरुङबाट पानी चुहिन थालेकाले गुम्देलका आयोजना प्रभावित ४० भन्दा बढी घरपरिवार त्रासमा रहेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

1 Comments

  • नीरज नाथ पन्त

    May 27, 2023, 7:18 a.m.

    भारतको उत्तराखन्दमा पनि येस्तो भएको थीयो।

  •  0 Reply

तपाईको प्रतिक्रिया