गोरखाबाट मक्का मदिना जाने हजयात्रीको बिदाइ

 जेठ १४, २०८० आइतबार २०:१७:१६ | किरण लोहनी
unn.prixa.net

गाेरखा – गोरखाबाट यस वर्ष २३ जना हजयात्री साउदी अरेबियाकाे मक्का मदिना जाने भएका छन् । काठमाण्डौबाट मक्का मदिनातर्फ उड्ने हजयात्रीलाई आइतवार गोरखा सदरमुकामबाट बिदाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक कार्यक्रमको आयोजना गर्दै हजयात्रीलाई बिदाइ गरेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा, गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषाल, प्रहरी प्रमुख अनुपम श्रेष्ठसहितले उनीहरूलाई फूलको गुच्छासहित शुभकामना प्रदान गर्दै बिदाइ गरेका हुन् । गोरखाबाट १२ पुरुष र ११ महिला गरी २३ जना हजयात्री साउदी अरेबिया जान काठमाण्डाैतर्फ लागेका हुन् । जेठ १८ गते बिहान हजयात्री काठमाण्डौबाट साउदी अरेबिया प्रस्थान गर्ने तालिका रहेको छ ।

हजयात्रीलाई गृह मन्त्रालय मातहतको हज समिति र जिल्लामा रहेकाे प्रशासन कार्यालयले संयोजन गरी साउदी अरेबिया पठाउने गर्दछ । इस्लाम धर्मका पाँच आधार स्तम्भमध्ये हजलाई मुख्य मानिन्छ । प्रत्येक मुसलमानको जीवनसँग धार्मिक एवम् ठूलो पुण्य प्राप्ति हुने, जीवनको सफलतासँग हजयात्रा गाँसिएको नेपाल मुस्लिम सङ्घका केन्द्रीय सचिव रहमतुल्लाह मियाँले बताउनुभयो । हजयात्रामा गएका तीर्थालुहरूले बकर इदको दुई दिन अगाडि साउदी अरेबियाकाे मक्कादेखि पाँच किलोमिटर पूर्वको मीना मैदानमा भेला भएर इद–अल–अधा पर्व मनाउँछन् भने बाँकी दुई दिन मक्काको भव्य मदिना मस्जिदमा नमाज एवम् प्रार्थना गरी हज मनाउँछन् । हज गरेर आउने मुसलमानलाई हाजीको सम्मान दिइन्छ ।

नेपाल मुस्लिम सङ्घ गोरखाका अध्यक्ष जमिल मियाँको अध्यक्षतामा भएको हजयात्रीको बिदाइ कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख थापा, गोरखा नगरपालिकाका मेयर राना, प्रमुख जिल्ला अधिकारी भुषाल, प्रहरी प्रमुख श्रेष्ठ, हजयात्रीका तर्फबाट आरुघाट गाउँपालिकाका रज्मद्धिन मियाँले थरीथरीका धार्मिक समुदायको विविधताभित्रको एकताले देश सुन्दर बनेको बताउनुभयो । केही हजयात्रीले भने सरकारले हजयात्राको खर्चलगायतका पक्षलाई थप पारदर्शी बनाउनुपर्ने बताएका छन् ।

हजयात्रामा जान चाहने हजयात्रीका लागि सरकारले आवेदन खुलाउँछ । आवश्यक शुल्क र कागजात बुझाएपछि प्राथमिकताका आधारमा हजयात्रीको छनाेट गरिन्छ । साउदी अरेबिया सरकारले हजयात्राका लागि विभिन्न देशलाई कोटा निर्धारण गरेअनुसार त्यसलाई जिल्लागतरूपमा विभाजन गरेर हजयात्रीको छनाेट हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया