नागरिकको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म गणतन्त्रको औचित्य प्रमाणित हुँदैन : प्रधानमन्त्री

 जेठ १५, २०८० सोमबार १२:२९:४९ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म गणतन्त्रको औचित्य प्रमाणित नहुने बताउनु भएकाे छ । आज गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयाेजित कार्यक्रममा उहाँले नागरिकले संविधान र कानुनमा रहेका अधिकारको प्रयोग सहज रुपमा गर्नसक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो नहुने बताउनु भएकाे हाे । 

उहाँले नागरिकको जीवनस्तरलाई यथाशीघ्र माथि उकास्ने प्रतिबद्धताकासाथ कर्म क्षेत्रमा जुट्नुपर्ने खाँचो रहेको उल्लेख गर्नुभयो । उहाँले राजनीतिक परिवर्तनलाई अर्थतन्त्रको सबलीकरण र सामाजिक रुपान्तरणको सहयोगी हुने गरी काम गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सबै राजनीतिक दल र नेपाली नागरिकबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी छ । लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वाभाविक हो । तर महत्त्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र आम नेपाली नागरिकको समान र अविचलित धारणा हुनसके मात्रै देशलाई अघि बढाउन र राष्ट्रिय एकता जगलाई अझ बलियो बनाउन सकिन्छ । संविधान र कानुनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग नागरिकले सहज रुपमा गर्नसक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो हुँदैन ।'

उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली नागरिकबीच एकता र सहकार्य बलियो हुन जरुरी रहेको बताउनुभएको छ । महत्त्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र आम नेपाली नागरिकको समान र अविचलित धारणा हुनसके मात्रै राष्ट्रिय एकताकाे जग बलियाे हुने उहाँकाे भनाइ छ । 

 उहाँले लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वाभाविक रहेको पनि बताउनु भयो ।  प्रधानमन्त्री प्रचण्डले गणतन्त्र र लोकतन्त्रप्रति वितृष्ण जगाउने काम भइरहेको भन्दै यी प्रयासहरु सफल नहुने दाबी गर्नुभयो । उहाँले लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र नै हुने बताउनु भयो । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया