छाउपडी प्रथा अन्त्यकाे सन्देश लिएर सर्वाेच्च शिखरमा

 जेठ १६, २०८० मंगलबार १०:१३:२६ | रासस
unn.prixa.net

तस्बिर : रासस

बझाङ - साइपाल गाउँपालिका–४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुनुहुन्छ । २६ वर्षीया उहाँले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै यही जेठ ३ गते दिउँसो साढे १२ बजे सफल आरोहण गर्नुभयो । 

सगरमाथा क्षेत्रमा झण्डै एक महिना बसेर लक्ष्य प्राप्त गर्नुभएकी रोकायाले सुरुमा बेसक्याम्प पुगेर उचाइ पचाउनका लागि क्याम्प–१ र २ मा तलमाथि गर्ने अभ्यास गर्नुभयो । उहाँ गएकाे महिनाअघि नै सगरमाथा क्षेत्रमा पुग्नुभएको थियो । उहाँ यही जेठ २ गते राति क्याम्प–४ बाट शिखरतर्फ प्रस्थान गर्नुभएको थियाे ।

वर्षौँदेखि साँचेको सपना आँखै अगाडि देखेपछि उहाँका आँखा रसाए । 'खै किन हो, चुचुरोमा पुग्नेबित्तिकै भक्कानो फुटेर आयो, धेरैबेरसम्म आँसु थाम्न सकिनँ', उहाँ भन्नुहुन्छ । ‘छाउपडी प्रथा अन्त्य गरौँ', भन्ने सन्देश लेखेको ब्यानरसँगै शिखरमा तस्बिर खिच्दा खुसीको सीमा नै नरहेको उहाँले सुनाउनुभयो ।

रोकायाले विसं २०७५ साल कात्तिकमा पहिलोपटक अन्य चार जना बझाङी चेलीसँगै साइपाल हिमाल (सात हजार ३१ मिटर) आरोहणको प्रयास गर्नुभएको थियो । टिममा स्पेन, इटली, अमेरिकाका विख्यात आरोही पनि थिए । तर मौसम खराब र अप्ठेरो चट्टानका कारण उहाँहरूले साइपाल चढ्न सक्नुभएन । साइपाल छुने प्रयास असफल भए पनि उहाँको हिमाल चढ्ने हुटहुटी भने बढ्दै गएको थियो ।

शिक्षा र चेतनाका हिसाबले पनि पछाडि परेको साइपालमा छोरीलाई हिमाल चढ्न सहज थिएन । 'साइपाल चढ्न नसके पनि सगरमाथा चढेर देखाउँछु भन्दा परिवारले समेत साथ दिएन', उहाँ भन्नुहुन्छ, 'सबैलाई मनाउन धेरै मेहनत गर्नुपर्यो ।' मध्यम आयस्रोत भएको परिवारकी सदस्य रोकायालाई सगरमाथा चढ्नभन्दा बढी दुःख खर्च जुटाउनमा लाग्यो । उहाँले भन्नुभयो, 'खर्चका लागि जिल्लाभरका पालिकादेखि विभिन्न सङ्घसंस्था धाए, कतिले सहयोग पनि गरे, तर प्रायजसाेले पछि गरौँला भन्दै टारे।'

एड्भेन्चर कम्पनीलाई आधा रकम पछि तिर्ने सर्तमा सगरमाथा आरोहण गरेको उहाँले बताउनुभयो । सगरमाथाको चुचुरोमा पुग्न करिब २५ लाख रुपैयाँ खर्च लागेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया