विदेशमा बसेर गाउँ चम्काउँदै धादिङका लोकप्रसाद

 कात्तिक ८, २०७५ बिहीबार १४:२९:३५ | रासस
unn.prixa.net

काठमाडौँ - विदेशमा बस्ने नेपालीमाथि एउटा आरोप लाग्ने गर्छ, ‘आफ्नै देशमा पसिना बगाउनु पर्नेमा विदेश पलायन भए ।’ यो वास्तविकता पनि हो ।

अथाह स्रोत-साधन भएको देश छाडेर सामान्यभन्दा सामान्य काम गर्न विदेसिने युवाको कमी छैन । स्नातकोत्तर गरेका थुप्रै युवा सामान्य कामका लागि पनि विदेशिएका छन् । 

नेपाल रेमिटेन्सले नै धानेको देश भनेर चर्चा पनि हुन्छ, तर विदेशमा बसेर आफ्नो देशको विकासमा अहोरात्र खटिनेको पनि समाजमा कमी छैन । विदेशमा बसेर नेपालको गाउँठाउँको विकासमा लाग्ने गैरआवासीय नेपाली प्रशस्तै छन् ।

यस्तै एउटा उदाहरणीय व्यक्ति हुनुहुन्छ धादिङ बुढाथुमका लोकप्रसाद दाहाल । 

गैरआवासीय नेपाली सङ्घ बेल्जियमका अध्यक्ष दाहाल आफ्नो गाउँ धादिङको गङ्गाजमुना गाउँपालिका–७ बुढाथुम र बसेरी आसपासका गाउँको विकासमा निरन्तर लाग्नुभएको छ ।

गाउँको विकासका लागि भूकम्पपछि रु एक करोड ५० लाखभन्दा बढी रकम भित्र्याउनुभएका उहाँले विदेशमा आफ्नै परियोजनाबाट कमाएको रकमसमेत लगानी गर्नुभएको छ । बेल्जियमका विभिन्न सङ्घसंस्था गुहारेर सङ्कलित रकमले गाउँको मुहारमा चमक भर्न उहाँ लाग्नुभएको छ । 

गाउँको स्वास्थ्य, शिक्षा, खानेपानीलगायत क्षेत्रमा व्यक्तिगत रुपमा रु ३३ लाखभन्दा बढी खर्च भइसकेको विवरण अध्यक्ष दाहाल दिनुहुन्छ । उहाँले स्थानीय महालक्ष्मी मावि, कन्या स्कूल, लापुडाँडा र सोती खानेपानी आयोजना, बसेरीमा मन्दिर निर्माणमा पनि सहयोग गर्नुभएको छ ।

बेल्जियममा होटल व्यवसाय गर्दै आउनुभएका उहाँले विसं २०७२ को भूकम्पपीडितका लागि तत्कालै व्यवसायबाट आएको एक दिनको कमाइ १३ लाख रुपैयाँ उपलब्ध गराएर जन्मथलोमा सामाजिक काम थाल्नुभएको हो । 

त्यसपछि ठाउँठाउँमा भूकम्पपीडितका लागि खाद्यान्न, लत्ताकपडा, खानेपानी, विद्यालयमा लाखौँ रूपैयाँ बराबरको भौतिक सहयोग गर्दै आउनुभएका उहाँको यो क्रम अहिले पनि जारी छ ।

गाउँको बद्रिविशाल माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि हालैमात्र  २० हजार यूरो करीब २६ लाख रुपैयाँ रकम विद्यालयलाई हस्तान्तण गर्नुभएको छ । त्यस विद्यालयमा यसअघि ४५ लाख रुपैयाँ खर्च भइसकेको छ । 

विद्यालयको भवन निर्माणका लागि लाग्ने ७२ रुपैयाँ लाखमध्ये यो अन्तिम किस्ता भएको बताउनुभएका अध्यक्ष दाहाल निकट भविष्यमै जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध गराउन तीन लाख रुपैयाँको कोष स्थापना गर्ने घोषणासमेत गर्नुभएको छ ।

मेरो गाउँ बनाउने अभियान जारी रहन्छ, स्थानीयवासीलाई आश्वासन दिँदै उहाँ भन्नुहुन्छ । 

दाहालमार्फत त्यस गाउँको विभिन्न सामाजिक क्षेत्रमा मात्रै एक करोड ६१ लाख रुपैयाँ खर्च भइसकेको छ । स्कूलको भवन निर्माणमा बेल्जियमको सामाजिक क्षेत्रमा लागेका चिकित्सकको संस्था ‘फ्रम पिपुल टु पिपुल’ले पनि सहयोग गरेको र त्यस रकमबाट अहिले आठ कोठे भवन निर्माण भइरहेको छ ।

स्थानीयवासी तथा पर्यटन व्यवसायी सरोज न्यौपाने भूकम्पपछि रोइरहेका स्थानीयवासीको घाउमा लोकप्रसादले मलम लगाउनुभएकाले उहाँको त्यो योगदानको जति प्रशंसा गरे पनि नपुग्ने बताउनुहुन्छ । 

विद्यालय निर्माणका लागि दाहालले खर्चको जोहो गरेपछि स्थानीयवासी अहिले क्याम्पस सञ्चालनका लागि हौसिएका छन् । आवश्यक खर्च लोकप्रसादबाट आउने आशा रहेको बताउँदै क्याम्पस व्यवस्थापन तदर्थ समितिका संयोजक कृष्णबहादुर दाहालका अनुसार लोकप्रसाद हरेक अभावलाई पूर्ति गर्ने गाउँकै धरोहर भएको बताउनुहुन्छ । 

त्यस माविका प्रधानाध्यापक चूडामणि अधिकारी पनि लोकप्रसादको योगदानलाई भुल्नु हुन्न । विद्यालय भूकम्पले क्षतविक्षत भएको बेला बेल्जियमबाट प्राप्त रकम जोहो गरी विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर वृद्धिमा गरेको योगदान अविस्मरणीय रहेको उहाँ बताउनुहुन्छ ।

‘अहिले भवनका चार कोठा निर्माण भइसकेको र दोस्रो तलाको काम थालिएको छ ’ भवन निर्माण समितिका संयोजक भीमबहादुर अधिकारी पारदर्शीरुपमा काम भएको भन्दै विदेशबाट आएको पैसा एक पनि तलमाथि गर्न नदिइएको जिकिर गर्नुहुन्छ । 

विद्यालयमा कक्षा १ देखि १२ सम्म पढ्ने ४२५ विद्यार्थी छन् । बेल्जियममा बसेर लोकप्रसादले गाउँमा गरेको योगदान प्रशंसनीय रहेको भन्दै सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य खेमप्रसाद लोहनीले अझै गाउँको विकासमा लाग्न आग्रह गर्नुहुन्छ ।

बुढाथुम गाउँपालिकाको केन्द्र बनाउने पूर्वाधार रहेपनि विगतमा आफूहरुको प्रयास सफल हुन नसकेको उहाँको गुनासो छ । 

‘हामीले हाम्रो पछाडिका पुस्तालाई आधुनिकतासँग प्रतिष्पर्धी बनाउन सक्ने बनाउनुपर्छ, यसका लागि मुख्य कडी शिक्षा नै हो, शिक्षामा सबैको लगानी जरुरी भएकाले मेरातर्फबाट सहयोग रोकिन्न’, सांसद लोहनी भन्नुहुन्छ ।

हरेकले यसैगरी आफू जन्मेको ठाउँलाई माथि उठाउने प्रयास गर्ने हो भने गाउँको मुहार फेरिने उहाँको विश्वास छ । क्याम्पस बनाउने कुरामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता उहाँ व्यक्त गर्नुहुन्छ ।

‘पाँच वर्षभित्रमा बुढाथुममा पिचबाटो पुग्छ, ढुक्क हुनुहोस्, तपाईहरुको पनि पहल हुनुपर्छ, हामी बाहिर बस्नेले के गर्नुपर्छ गर्न तयार छौँ’, स्थानीयवासीलार्इं सांसद लोहनी सुझाव दिनुहुन्छ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया