प्रधानमन्त्रीको भारत भ्रमणबारे मन्त्रिपरिषदमा छलफल

 जेठ १६, २०८० मंगलबार १८:८:३६ | रासस
unn.prixa.net

फाइल फाेटाे

प्रधानमन्त्रीको भारत भ्रमणबारे मन्त्रिपरिषदमा छलफल

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भोलि बुधवारदेखि हुने भारतको औपचारिक भ्रमणबारे मन्त्रिपरिषदमा छलफल भएको छ ।

सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भएको सरकारका प्रवक्तासमेत रहनुभएकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीको भोलिदेखि हुने भारत भ्रमणको तयारीलगायतका विषयमा सामान्य छलफल भएको छ ।’

भारत भ्रमणको सरकारी प्रतिनिधिमण्डलको टुङ्गो लागिसकेको पनि सञ्चारमन्त्री शर्माले बताउनुभयो । भारतको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायु सेवा निगमको जहाजबाट भोलि त्यसतर्फ प्रस्तान गर्ने कार्यक्रम रहेको छ ।

मन्त्रिपरिषद् बैठकमा बजेटका सम्बन्धमा पनि छलफल भएको छ । प्रधानमन्त्रीको भारत भ्रमणपछि मात्रै बजेटसम्बन्धी छलफल गर्ने विषयमा पनि कुराकानी भएको सञ्चारमन्त्री शर्माले बताउनुभयो । अर्थमन्त्री डा. रामशरण महतले सङ्घीय संसद्को दुवै सदनमा सोमवा आर्थिक वर्ष २०८०÷८१ को वार्षिक बजेट प्रस्तुत गर्नुभएको थियो । बजेटमाथि संसद्का दुवै सदनमा छलफल भई पारित हुनेछ ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकमा नागरिकताको विषयमा पनि सामान्य छलफल भएको छ । यद्यपि नागरिकताको विषय अघिल्लो मन्त्रिपरिषद् बैठकले निर्णय गरेर स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा पठाइसकेको छ । ‘आजको बैठकमा नागरिकताको विषय पनि प्रवेश भएको छ । नागरिकताको विषयमा राष्ट्रपतिले संविधानको व्यवस्थाअनुसार पारित गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ’, सञ्चारमन्त्री शर्माले भन्नुभयो ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया