उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
हामीले यातायातको भाडा समायोजन गर्न स्वचालित मूल्य प्रणाली लागू गरेका छौँ । कतिपय देशमा यो खालको व्यवस्था छ । तर, विकसित देशहरुमा भने यो खालको प्रणाली छैन । प्रायः विकसित देशमा सरकारले अनुदान दिएर सार्वजनिक यातायात सञ्चालन गरेको हुन्छ । त्यसकारण यस्तो भाउ घट्ने, बढ्ने भन्ने त्यति हुँदैन ।
विकसित देशको अनुपातमा हाम्रो देशमा भाडादर एकदमै कम हो । हाम्रोमा १५ रुपैयाँ भनेको युरोपमा जाँदा १५ सेन्ट हो । १५ सेन्टमा त त्यहाँ गाडी नै चढ्न पाइँदैन । तर, भारत तथा अफ्रिकी देशहरुमा भने भाडादर यस्तै छ । अनुदान नदिने देशहरुमा भाडादर घटाउने बढाउने गरिन्छ । अनुदान दिने देशहरुमा सार्वजनिक यातायातको बोझ सबै सरकारले लिने हुँदा यस्तो घटबढ हुने भन्ने हुँदैन ।
हाम्रो देशमा डिजेलको भाउ बढेको भोलिपल्टदेखि नै गाडीको भाडा बढ्यो भनेर व्यवसायीले गाडीमा सूचना टाँस्नेदेखि लिएर भाडा असुल्न थाल्छन् । तर, घट्दा भने त्यस्तो गर्दैनन् । हुनत यस पटक डिजेलको भाउ घटेर लामो दुरीको गाडी भाडा घटाएको ९ दिनपछि मात्र बाग्मती प्रदेशले छोटो दुरीको भाडा घटायो ।
अर्थतन्त्रमा विभिन्न कारणले भाउ बढिरहेको हुन्छ र बढेको भाउ घटाउन भनेको संसारभरि नै गाह्रो हुन्छ । यो संसारभरकै चलन जस्तो छ । सार्वजनिक यातायात भनेको संसारभर नाफा कमाउने व्यवसाय होइन । तर, हामीकहाँ व्यवसायीलाई तिमीहरु नै लगानी गर तिमीहरु नै नाफा गर भनेर छोडेको अवस्था छ ।
स्वचालित मूल्य प्रणाली हुने बित्तिकै एउटा सिस्टममा राख्ने हो त्यसपछि बढ्दा बढ्ने अनि घट्दा घट्ने हो । तर, हामीकहाँ भने स्वचालित भने पनि यातायात व्यवस्था विभागले अनेक प्रोसेस गरेर बल्ल कार्यान्वयनमा ल्याउन सक्छ । अहिले त यो सबै अधिकार प्रदेशलाई दिएका कारण पनि प्रदेशले लागू गर्ने नगर्ने अनि कसरी गर्ने भन्ने बारेमा सोच्न सक्छ ।
स्वचालित मूल्य प्रणाली भनेको फमूर्ला सफ्टवयरमा राख्ने अनि बढ्ने, घट्ने बित्तिकै पैसा हाल्ने अनि आएको मूल्य लागू गर्ने हो । कि यसलाई पूर्णरुपमा स्वचालित बनाउनु पर्यो । होइन भने यातायात व्यवस्था विभागले निर्णय लिन परेपछि भने यो गाह्रो विषय हो ।
स्वचालित मूल्य प्रणालीमा मूल्य तय गर्दा पैसा त दशमलवमा पनि आउँछ । यसलाई निर्धारण गर्न सबैभन्दा गाह्रो कुरा हो । यसको सबैभन्दा ठूलो कठिनाइ भनेकै यही हो । यसकारण हामीले कार्ड सिस्टम, ई पेमेन्ट लागू गरौँ भनेको हो । यो गर्नु पनि पर्छ र गर्ने पनि यही हो ।
अब अहिले १९ रुपैयाँ भाडा तिर्दा कसरी तिर्ने ? न गाडीवालासँग चानचुन छ न यात्रुसँग । त्यसकारण यो अलि गाह्रो अवस्था हो । त्यसकारण अब गाडीको भाडा पनि विद्युतीय माध्यम प्रयोग गरी तिर्न मिल्ने व्यवस्था अपनाउनु पर्छ । अब कार्ड सिस्टम लागू गर्नुपर्यो नत्र यो समस्या रहिरहन्छ ।
अहिलेको समस्या भनेको चानचुन पैसा नबोक्नु नै हो । हुनत त चानचुन पैसाको व्यवस्था गर्न नै नसकिने भन्ने चाहिँ होइन । टेम्पोवाला अनि भाटभटेनी तथा बिगमार्ट जस्ता दैनिक लाखौँ रुपैयाँको व्यापार गर्नेहरुले चानचुन पैसाको व्यस्था गरेरै व्यापार गरिरहेका छन् । त्यहाँ त एक रुपैयाँ छैन र दुई रुपैयाँ छैन भन्ने हुँदैन । ठूला व्यापारीले त चानचुन पैसाको व्यवस्था गरेका छन् भने गाडीवालाहरुले व्यवस्था गर्न नसक्ने भन्ने होइन ।
व्यवसायीले चानचुन पैसाको व्यवस्था नगर्दा यात्रुलाई धेरै घाटा र उनीहरुलाई नाफा भइरहेको अवस्था छ । यो व्यवसायीको पनि बदमासी हो । हरेक दिन व्यवसायीले एक हजारको सिक्का साटेर राख्ने हो भने नपुग्ने भन्ने नहोला । नपुगे दुई हजारको पनि सिक्का साट्न सकिन्छ नि ।
यसलाई सरकारले अलि कडाइ गर्ने हो भने व्यवस्था गर्न नसकिने भन्ने चाहिँ होइन । यसमा कहिलेकाहीँ यात्रुले चानचुन पैसाको व्यवस्था गर्ने भनेको पनि सुनिन्छ । तर, त्यो त्यति व्यवहारिक होइन । जस्को जे काम हो त्यही गर्ने हो । उसोभए त भाटभटेनी जस्ता सुपरमार्केटले पनि उपभोक्तालाई सिक्का बोकेर आउ भन्ने हो र ? यसको समाधान भनेकै कार्ड सिस्टममा जाने हो ।
कार्डको व्यवस्था गर्न गाह्रो छैन । यसमा मोबाइलको कार्ड बोके जस्तै हो । प्रिपेड कार्ड यात्रुले किनेर बोक्ने हो । त्यसो गर्दा कार्डबाट कति पैसा तिर्ने हो तिर्यो सकियो । यसमा यात्रुको पैसा धेरै जाने भन्ने पनि भएन । गाडीवालाले पैसा छोड्नुपर्ने भन्ने पनि भएन । यसमा एउटा गाडीमा एउटा डिभाइस राख्ने अनि कार्ड डिभाइसमा राखेर पैसा कटाउन सकिन्छ ।
यो खासै ठूलो प्रविधि पनि होइन । तर, अब हामी यसमा जानका लागि भने तयारी गर्नुपर्छ । यसमा यातायात तथा पासपोर्ट विभागमा जस्तो सफ्टवेयर डाउन भन्ने पनि हुँदैन । यो सामान्य डिभाइस हो । यो सामान्य कार्ड रिडर हो । बिग्रने भन्ने त्यस्तो समस्या पनि आउँदैन । समस्या त जे मा पनि आउँछ आयो भने पनि समाधान गर्दै जाने हो ।
हामी अन्ततः जाने भनेको यही कार्ड सिस्टममा नै हो । अहिले जाने की दश वर्षपछि जाने भन्ने मात्रै हो । अब यसमा बुढाबुढीलाई नपढेको मान्छेलाई समस्या हुँदैन भन्ने पनि सुनिन्छ । यो खासै समस्या हुने कुरा पनि होइन । गाडीमै भएकाले पनि सिकाइदिन्छन नि । यो ठूलो कुरा पनि होइन । पहिले पहिले मोबाइल आएको बेलामा पनि कसरी चलाउने भन्ने थियो । बिस्तारै चलाउन सिके, जाने भइहाल्यो नि त । अहिले त सबैले मोबाइल चलाउँछन् । फेसबुक चलाउँछन् । सुरु सुरुमा अलि गाह्रो होला बिस्तारै सिक्दै र बानी पर्दै जान्छ । यो सिस्टम लागू गरेपछि मान्छे बिस्तारै अपडेट भइहाल्छन नि ।
(यातायात क्षेत्रका जानकार गजुरेलसँगको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गजुरेल नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक हुनुहुन्छ ।