फूलैफूलले ढकमक्क लमजुङका घर-आँगन (फोटो फिचर)

 कात्तिक ८, २०७५ बिहीबार १६:२१:३० | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – सुन्दरबजार नगरपालिका–९, भोटेओडारकी लक्ष्मी जोशीको आँगनकाे डिलमा ढकमक्क सयपत्री फूल फुलेका छन् । बारीमा ढकमक्क फुलेका फूललाई उहाँले बडो जतनका साथ जोगाइराख्नुभएको छ ।

‘तिहार नजिकिँदै छ । दाजुभाईलाई टिका लगाइदिँदा फूलको माला पनि चाहिन्छ । त्यसैले फुलेका फूललाई बडो जतन गरी जोगाइराखेको छु,’ उहाँले भन्नुभयो । 
जोशीका दुई दाजु हुनुहुन्छ । 

उहाँले बर्सेनि तिहारमा आफ्नै घर–आँगन, बारी, कान्लामा फुलेका फूलको माला दाजुहरुलाई लगाइदिँदै आउनुभएको छ । उहाँले अहिलेसम्म बजारमा पाइने कृत्रिम माला किन्नु भएको छैन । तिहारमा फूल पनि किन्नु भएको छैन । 

उहाँको घरमात्र होइन तनहुँको भानु नगरपालिका–९, कालीमाटी बान्द्रेमा रहेको माइतीमा पनि ढकमक्क फूल फुलेका छन् । 

‘घरमा फुलेको फूलका साथै माइतीमा पनि फुलेको फूल टिपी, माला गाँसेर यसपालीको तिहारमा दाजुहरुलाई लगाइदिनेछु,’ उहाँले आफ्नो चाहना सुनाउनुभयो । 

घरमै फुलेको, आफैँले टिपी, गाँसेको फूलको माला लगाईदिनुको मज्जा बेग्लै  

विशेषगरी गाउँघरमा अहिले सबैको घर–आँगन, डिल, बारी, कान्लामा ढकमक्क विभिन्न प्रजातिका फूल फुलेका छन् ।

आँगनको डिलमा फुलेका सयपत्री, मखमली, गुर्दौली फूलले भाटेओडार बालुनेकी शकुन्तला घिमिरेलाई लोभ्याएको छ । ढकमक्क फूलले उहाँलाई तिहार आएझैँ आभाष भएको छ ।

 घरमै फुलेका फूलको मालाले यसपाली तिहारमा आफ्ना ३ दाजुहरुको ‘गला’ सजाइदिने उहाँको योजना छ । उहाँको माइती लमजुङकै फूलबारीमा रहेको छ । उहाँले पनि अहिलेसम्म तिहारमा बजारमा पाईने माला किन्नु भएको छैन ।


 
तिहारको बेला आफ्नै घरमा फुलेको, आफ्नै हातले टिपेर, गाँसेर बनाएको माला दाजुभाईलाई लगाइदिँदाको खुशी छुट्टै हुने उहाँ बताउनुहुन्छ । 

‘मैले अहिलेम्म बजारमा पाइने माला, फूल किनेकै छैन, तिहारमा । घरमै लगाउन, हुर्काउन सकिन्छ, फूल । आफ्नो घरमा फुलेको, आफ्नै हातले टिपी, गाँसेको माला दाजुभाईलाई लगाइदिँदा प्रेम झल्कन्छ । सद्भाव हुन्छ । त्यसरी आफ्ना दाजुभाईलाई फुलको माला, सप्तरंगी टिका लगाइदिँदाको खुशी नै बेग्लै हुन्छ । महत्व नै छुट्टै हुन्छ,’ उहाँले मुस्कुराउँदै भन्नुभयो । 

उहाँका ३ दाजुहरु हुनुहुन्छ । 

आयातित वस्तुको प्रयोग बढ्दो

यसवर्ष तिहार पर्व केही ढिला भएकाले बोटमै फूल सुक्ला कि, बोट भाचिएँला कि भन्ने चिन्ताले घर–आँगन, बारी, कान्लामा फूल हुर्काएकाहरुलाई सताएको छ । 

उनीहरुले ढकमक्क फुलेका फूलको बोटलाई ‘टेको’ लगाएर राखेका छन् । 


पछिल्लो समय तिहारमा घरमै फुलेको फूलको माला भन्दा पनि बजारमा पाइने कृत्रिम मालाको प्रयोग बढ्दै गएकोप्रति सँस्कृतिप्रेमी चिन्ता व्यक्त गर्छन् । 

उनीहरुका अनुसार आयातित फूल, माला, किन्नुभन्दा घर–आँगनमै फूल हुर्काउन सकिन्छ । बरु व्यावसायिक रुपमै फूलको खेती गरी मनग्य कमाउन सकिने तर्क उनीहरुको छ । 

‘हाम्रो मूल्य–मान्यता, सँस्कारमा फूलको ज्यादै महत्व छ । तिहारमा झनै यसको महत्व बेग्लै छ । त्यसैले आयतित फूल, माला  किन्नुभन्दा घरमै फूल हुर्काउन सकिन्छ । पैसा पनि जोगिन्छ । मौलिक सँस्कार पनि कायम रहन्छ । बरु गाउँघरमै फूल खेती गरी मनग्य कमाउन सकिन्छ । यसप्रति सबैको ध्यान जानु जरुरी छ,’ सुन्दरबजार–६, का सँस्कृतिप्रेमी रामचन्द्र बुढाप्रिथीले भन्नुभयो ।


 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया