प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीद्वारा नेपालगञ्जको एकीकृत जाँचचौकीको उद्घाटन

 जेठ १८, २०८० बिहिबार १६:३८:२४ | रासस
unn.prixa.net

तस्बिर : रासस

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा नेपालगञ्जको रुपेडियामा निर्माण सम्पन्न भएको एकीकृत जाँचचौकीको उद्घाटन गर्नुभएको छ । 

भारतीय प्रधानमन्त्रीको कार्यालय हैदराबाद हाउसबाट उहाँहरुले जाँचचौकीको उद्घाटन गर्नुभएको हो । सहजरुपमा व्यापार प्रवर्द्धनका लागि याे जाँचचौकी महत्त्वपूर्ण मानिएको छ । यस्तै, त्यही अवसरमा भैरहवामा निर्माण हुने एकीकृत जाँचचौकीकोसमेत शिलान्याश गरिएको छ । नेपाल र भारतबीचको व्यापार प्रवर्द्धन तथा सहजीकरणका लागि त्यस्ता संरचना महत्त्वपूर्ण मानिएको छ । 

यसअघि विरानटगरमा त्यस्तै जाँचचौकी निर्माण सम्पन्न भइ उद्घाटनसमेत भइसकेको छ । गाडीको सहज पार्किङ, सामान आयात तथा निर्यातका लागि त्यस्ता संरचनाले महत्त्वपूर्ण सहयोग गर्नेछ । उद्योगी व्यवसायीले एकीकृत संरचनाको माग गर्दै आएका थिए । 

यस्तै, बैतडीको झुलाघाट नाकामा दुई  पक्की पुल निर्माण हुने भएको छ ।  याे अवसरमा भारतीय प्रधानमन्त्री मोदीले  नेपाल र भारतका नागरिकको सहजताका लागि झुलाघाट नाकामा दुई पुल बनाउने जानकारी दिनुभएको थियो । बैतडीवासीले भारत भ्रमणमा झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि भारतसँग प्रधानमन्त्रीले छलफल गर्नुपर्ने माग गर्दै आएका थिए । 

यो सहमतिले स्थानीयवासीलाई खुसी बनाउनेछ । झुलाघाटमा मोटरेबल पुल नहुँदा समस्या झेलिरहेकाले प्रधानमन्त्रीको भ्रमणमा क्रममा भएको यो घोषणा आफैँमा महत्त्वपूर्ण छ । झुलाघाट नाकामा करिब दुई सयवर्ष अघि निर्माण भएको झोलुङ्गे पुलबाट आवतजावत हुँदै आएको छ । 

त्यस्तै, कञ्चनपुरको  दोधारा चाँदनी नगरपालिकामा भारतको सहयोगमा सुक्खा बन्दरगाह निर्माण हुने भएको छ । याे ठाउँमा भारतको सहयोगमा सुक्खा बन्दरगाह निर्माण गर्ने विषयमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा सहमति भएको हो । 

पछिल्लो सम्झौताअनुसार सुक्खा बन्दरगाह भारतले निर्माण गर्नेछ । सम्झौतामा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ । गएकाे फागुन १ गते नै कञ्चनपुर पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले सुक्खा बन्दरगाह निर्माणको काम सुरु हुने बताउनुभएको थियो । 

बन्दरगाह निर्माणका लागि २०६४ सालमै प्रस्ताव गरिएको थियो । बन्दरगाह निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनसमेत भइसकेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया