एमालेले भन्यो– ‘नागरिकता विधेयक प्रमाणीकरण संसद्को अपमान, देशभर विरोध हुन्छ’

 जेठ १९, २०८० शुक्रबार १९:२४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नागरिकता विधेयक प्रमाणीकरण संसद्काे अपमान भएकाे बताएकाे छ ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालयको बैठकले यही जेठ १७ गते राष्ट्रपतिबाट नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको विषयमा पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । बैठकले नागरिकता विधेयक मन्त्रिपरिषदबाट लगेर पास गर्नु नेपालको संविधान, प्रचलित कानुन एवम् स्थापित संसदीय मान्यताको विपरीत भएको ठहर गरेको छ । 

पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले अघिल्लो संसद्ले पारित गरी प्रमाणीकरण गर्नका लागि पठाएको संवैधानिक समय सीमाभित्र प्रमाणीकरण नभएपछि निष्क्रिय अवस्थामा रहेको विधेयकलाई ताजा चुनाव भएर नयाँ प्रतिनिधि सभा गठन भइसकेको समयमा अहिले प्रतिनिधि सभाले पहिलो अधिवेशन सम्पन्न गरी दोस्रो अधिवेशन चालु रहेको अवस्थामा मन्त्रिपरिषद्ले विधेयक प्रमाणीकरणको सिफारिस गर्ने र राष्ट्रपतिबाट प्रमाणीकरण हुनु संसद्को अपमान भएको बताउनुभयो । उहाँले सरकारको यस कदमले संसद्को विशेषाधिकारको हनन भएको र पार्टीले असंवैधानिक कदमको देशभर विरोध गर्ने बताउनुभयो । 

ज्ञवालीले प्रधानमन्त्रीको विदेश भ्रमणको केही घण्टाअघि मात्रै संविधानको विधि, प्रक्रिया विपरीत गरिएको प्रमाणीकरणले सरकार र राष्ट्रपति कार्यालयले नागरिकताको विषय नेपालको आन्तरिक मामिला नभई बाह्य चासोको विषय हो भन्ने नजिर स्थापित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जेठ १७ गते राष्ट्रपतिबाट नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको विषयमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । अघिल्लो संसद्ले पारित गरी प्रमाणीकरण गर्नका लागि पठाएको संवैधानिक समय सीमाभित्र प्रमाणीकरण नभएपछि निष्क्रिय अवस्थामा रहेको विधेयकलाई ताजा चुनाव भएर नयाँ प्रतिनिधि सभा गठन भइसकेको समयमा यस प्रतिनिधि सभाले पहिलो अधिवेशन सम्पन्न गरी दोस्रो अधिवेशन चालु रहेको अवस्थामा मन्त्रिपरिषद्ले विधेयक प्रमाणीकरणको सिफारिस गर्ने र राष्ट्रपतिबाट प्रमाणीकरण हुनु संसद्को अपमान हो । विधेयक प्रमाणीकरणका क्रममा गरिएको संविधानको ठाडो उल्लङ्घन र संसद्को विशेषाधिकारको हननको पार्टीले देशभर सशक्त विरोध गर्दछ । कुनै पनि नेपाली नागरिक नागरिकता पाउनबाट वञ्चित नहुन्, कुनै पनि गैरनागरिकले नागरिकता प्राप्त गर्ने स्थिति नबनोस् भन्ने कुरामा हाम्रो पार्टी स्पष्ट छ ।’

त्यस्तै गणतन्त्र दिवसको सन्दर्भ पारेर जेठ १५ गते टीकापुर घटनाका आरोपी पूर्वसभासद रेशम चौधरीलाई आममाफी दिनुले गम्भीर प्रश्न उठाएको उपमहासचिव ज्ञवालीले बताउनुभयो । उहाँले सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठसमेत नआउँदै सत्ता स्वार्थका लागि चालिएको कदमले विधिको शासनलाई चुनौती दिएको बताउनुभयो । सरकारकाे याे कदमले सर्वसाधारणको पीडामा नुनचुक छर्किने काम गरेको उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया