कालापानी कहिले कहिले, कालोभैँसी अहिले !

 जेठ २१, २०८० आइतबार १४:४:१२ | मिलन तिमिल्सिना
unn.prixa.net

धेरैलाई लागेको थियो प्रधानमन्त्री भारतबाट फर्कँदा जहाजबाट उहाँसँगै १५ वटा मुर्रा भैँसी पनि पुच्छर हल्लाएर आइँ आइँ गर्दै झर्नेछन् । पानीको फोहोरा र पुष्पगुच्छाले भैँसीको भव्य स्वागत हुनेछ । पत्रकार सम्मेलनमा भैँसीका प्रतिनिधिले नेपाल–भारत सम्बन्धमा भैँसी कुटनीतिबारे प्रष्ट पार्नेछन् । तर जहाजमा सिट खाली भए पो भैँसीले सँगै आउन पाउनु ! प्रधानमन्त्रीको भ्रमण टोलीमा छ बीस मान्छे थिए, भैँसी त के भैँसीको एक डल्लो मःम राख्ने ठाउँ भेट्न पनि मुश्किल !

प्रधानमन्त्रीसँगै भैँसी नआउँदा मान्छेको मनमा भैँसी कुटनीति र नेपाल–भारत सम्बन्धबारे धेरैथरी प्रश्न उठेका छन् । कुटनीतिमा मुर्रा भैँसीको महत्त्व के हुन सक्ला त ? आउनुहोस् घामले तातो भएको दिमागलाई एकछिन चिसो पानीमा आहाल बस्ने भैँसीको कुराले ठण्डा पारौँ।

अहिलेसम्मकै ऐतिहासिक उपलब्धि

यसअघि जति प्रधानमन्त्री भारत भ्रमणमा गए, फर्किँदा रित्तो हात मात्रै हल्लाए । कसैले केही कोसेली ल्याएनन्, उल्टो कसैले उपहार बुझाए कसैले उधारो सम्झौता गरे । यसपटक भारतबाट फर्किँदा प्रधानमन्त्रीले रित्तो हात हल्लाउनु परेन । महाकालेश्वरमा गेरुवस्त्र हल्लाएर दिल्ली फर्किनासाथ भैँसीको पुच्छर हल्लेको देख्नुभयो । दाम्लो समात्न नमिलेर मात्रै हो, नत्र हात परेका १५ वटा भैँसी जहाजबाट सिधै भीआईपी कक्षमा आउँथे । यसअघिका कुनै पनि प्रधानमन्त्रीले गर्न नसकेको यो उपलब्धि ऐतिहासिक हो । किनकि यो पालिको भ्रमणमा भैँसी हाताहाती मिलेका थिए । मोदीसँग भएका र गरेका अरु सम्झौता पूरा हुने/नहुने ठेगान छैन । पहिलेका प्रधानमन्त्रीले गरेका सम्झौता पनि पूरा नभएको अवस्थामा यसपटक भएका सम्झौता पूरा होलान् भन्ने के भर ? हाताहाती मिलेका भैँसी डोहोर्‍याएर ल्याउन बाँकी भएकाले बरु यहाँ पनि वा ती भैँसी उतै बेपत्ता हुने हुन् संशय बाँकी छ । 

विराेधीहरुले भनेका छन् : प्रधानमन्त्रीले भारतबाट कालापानी, लिपुलेक र लिम्पियाधुरा ल्याउनुपर्नेमा जाबो भैँसी लिएर आए । तर, यो नेपाल–भारतबीचको सम्बन्ध बिगार्ने, अनि सरकार र प्रधानमन्त्रीको भारत भ्रमण असफल देखाउने प्रतिक्रियावादी प्रतिक्रिया हो । चुच्चे नक्सामा समेटिएको त्यतिका जग्गा कसरी बोकेर ल्याउनु ? पहिलो कुरा भारतले भोग गर्दै आएको जग्गा कुन मुखले माग्नु ? किन माग्नु ? जग्गा आखिर हाम्रो चुच्चे नक्सामा त छँदैछ । नक्सामा भैरहेको जग्गा मागेर समय खेर फाल्नु व्यर्थ थियो । नेपाली भूमि र सीमाबारे कुरा गरेको भए भारत खुशी हुन्थ्यो ? भारतीय जनताको मुहारमा खुशी देख्न पाइन्थ्यो ? १५ वटा भैँसी मिल्थ्यो ? त्यसैले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नै ठाउँमा सुरक्षित राखेर भारतबाट भैँसी ल्याउन सक्नु कुटनीतिक सफलताको कोशेढुंगा हो ।

भैँसीकै कारण अरु भ्रमण पनि सफल हुने निश्चित

अहिलेको सफलता १५ वटा भैँसी हो । अब यही भैँसी देखाएर भविष्यमा हुने अरु भ्रमण सफल बनाउने बाटो खुलेको छ । कसरी भन्नुहोला । भारतका भैँसीलाई त्यसैअनुसारको अन्न, दानापानी र घाँस चाहिन्छ । नेपालको दानापानी र घाँसपात भैँसीलाई नपच्न सक्छ । अर्कोपटक प्रधानमन्त्री भारत जाँदा नेपालको दानापानी र घाँस नपचेर भैँसी कमजोर भयो भनेर कुरा उठाउन पाइन्छ । नक्सा र सीमाको कुरा उठाउँदा रिसाउने भारत भैँसीको कुरा गर्दा किन रिसाउँछ ? ती भैँसीको कुरा गर्दा बरु भैँसी रिसाउला, भारत रिसाउँदैन । पाशुपत क्षेत्रबाट गएका ब्राह्मण प्रधानमन्त्रीलाई भैँसी दान गर्न पाउँदा गदगद् भएको भारतले आफूले दान गरेका भैँसीलाई पोषिलो दानापानी र घाँसपात मन खोलेर दिनेछ । त्यति मात्र हैन, भैँसीको स्याहार गर्न गोठाला र हेरालु पनि लैजाउ भनेर अझै उदारता देखाउनेछ । अथवा, यसपालिको उपलब्धि भैँसी मात्रै भए पनि यो सुरुवात मात्र हो, अर्कोपटक भारत भ्रमणको उपलब्धि ती भैँसीका लागि चाहिने पोषिलो घाँसपात, दानापानी, अन्नपिठो र गोठाला–हेरालु समेत हुनेछन् ।

भैँसी पूजा र धार्मिक पर्यटनमा टेवा

केही वर्ष पहिले प्रधानमन्त्रीले देशभित्रै भैँसी पूजा गरेका थिए, यसपटक भारतबाट आउँदा भैँसी उपहार पाए । त्यो पनि ख्याउटे भैँसी होइन, बडेमानको मुर्रा भैँसी । नेपालको रैथाने ख्याउटे भैँसीलाई पूजा गर्दा उताबाट मोटोघाटो र रसिलोपोषिलो भैँसी उपहार पाइन्छ भने यही मोटोघाटो भैँसीलाई पूजा गर्दा अरु के-के पाइँदो हो ? उतिबेला भैँसी पूजा गरेपछि कुर्सी गुमेको थियो, यसपालि त महाकालेश्वरको पूजा गर्नेबित्तिकै भैँसी मिल्यो र यही भैँसीले कुर्सी बलियो बनाउने भयो । अब प्रधानमन्त्रीले बिहान बिहान गेरुवस्त्र लगाएर भैँसीपूजा गर्नेछन् । प्रधानमन्त्रीको सिको गरेर मन्त्री र उनलाई नायक ठान्ने, उनको पार्टीका कार्यकर्ता र उनका फ्यानहरुले पनि भैँसी पूजा गर्न थाल्नेछन् । नेपालमा भैँसी पूजा गर्नेहरुको सङ्ख्या बढ्नेछ । आफूले पठाएको भैँसीको पूजा व्यापक हुन थालेको खबर पाएपछि भारतबाट दर्शनार्थीको लर्को लाग्नेछ । उनीहरु पनि पूजामा सहभागी हुनेछन् । यताका प्रधानमन्त्री र मन्त्रीहरु भारत गएर गेरुवस्त्र लगाएझैँ उताका पनि यता आएर उस्तै खालको वस्त्र लगाएर भैँसीपूजा गर्नेछन् । भैँसीका नाममा सरकारले वर्षमा एकदिन भैँसी पूजा दिवस मनाउने घोषणा गरी सार्वजनिक बिदा पनि दिनेछ । नेपालमा कालाभैँसीको भव्य पूजा हुन थालेपछि मान्छेहरुले भारतको महाकालेश्वर बिर्सनेछन् । मुर्रा भैँसीकै कारण नेपालमा धार्मिक पर्यटन फस्टाउनेछ ।

‘स्वस्थ नेपाल : निरोगी नेपाली’ अभियानमा टेवा

बजारमा शुद्ध दूध पाउनै मुश्किल छ । पाउडर र पानी घोलिएको दूध किन्न पनि महँगो छ । न दूध किनेर खान सकिन्छ, न शुद्ध दूध नै पाइन्छ । अब भारतबाट १५ वटा मुर्रा भैँसी आएपछि नेपालमा दूधको छेलोखेलो हुन्छ । दूधको भाउ सस्तो हुन्छ । शुद्ध र पोषिलो दूध पिउन पनि पाइन्छ । बिहान–बेलुका दूध र भात, दिउँसो मःम र अचार । प्रधानमन्त्रीको भारत भ्रमणकै कारण ‘स्वस्थ नेपाल : निरोगी नेपाली’ अभियानमा टेवा पुग्ने भएको छ ।

बाबुरामको ठाउँमा बलराम

भारतले मुर्रा भैँसी दिने खबर सुनेपछि मान्छेहरुले एउटा पुरानो गीत सम्झिएका छन्– गर्नु गर्यौ बलराम भैँसी पालेर.... । खाँटी दूधमा पानी हाले पनि भैँसीको दूध खान पाइन्थ्यो । भैँसी पाल्ने बलरामहरुसँग जोस र जाँगर थियो । तर हिजोआज त्यो गीतसँगै बलरामहरु पनि हराए । बल र जाँगर भएका बलरामहरुको सट्टा मुख भएका र सुखसुविधा मात्रै खोज्ने बाबुरामहरुको बोलवाला भयो । भैँसी पाल्ने बलरामहरु हराएपछि भैँसीको दूध पाउन मुश्किल पर्यो । अब भारतले मुर्रा भैँसी उपहार दिएपछि मान्छेहरुले बाबुराम बिर्सिएर बलरामलाई सम्झन थाले । अब मुर्रा भैँसीकै कारण गाउँठाउँमा बलरामहरु थपिने सम्भावना बढ्यो । भैँसी कुटनीतिले पशुपालनमा एउटा इँटा होइन १५ वटा इँटा थपे सरह भएको छ ।

यति धेरै उपलब्धि त हुने भयो, तर भारतबाट आउने भैँसी र तिनीहरुबाट जन्मने पाडापाडीको नागरिकता चाहिँ के होला ? राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएलगत्तै भारत पुगेका प्रधानमन्त्रीले यसबारे भारतीय पक्षलाई विश्वास दिलाउन सके होलान् त ? यो कुरा चाहिँ भैँसीको व्यवहार मात्रै जान्ने बलरामलाई होइन, प्रधानमन्त्रीको स्वभाव राम्रोसँग चिन्ने बाबुरामले मात्रै भन्न सक्लान् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया