सर्वोच्चको आदेशसँगै नयाँ कानुनअनुसार नागरिकता वितरणको तयारी रोकियो

 जेठ २२, २०८० सोमबार ७:१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएपछि नयाँ कानुनअनुसार नागरिकता वितरणको तयारी रोकिएको छ ।

हिजो गृह मन्त्रालयसँगको छलफलपछि तराईलगायतका अरु ठाउँका जिल्ला प्रशासन कार्यालयहरुले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने काम सुरु गर्ने तयारी गरेका थिए ।

नयाँ कानुनअनुसार नागरिकता वितरणको लागि व्यवस्थापकीय तयारी र सरोकारवालसँग छलफल भइरहेकोमा अब त्यो काम रोकिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले उज्यालोलाई बताउनुभयो । उहाँका अनुसार यसअघिकै व्यवस्थाअनुसार नागरिकता वितरण हुनेछ ।

२०६३ सालमा एक लाख ९० हजार सात सय २६ जनाले जन्मसिद्ध नेपाली नागरिकता लिएका थिए । उनीहरुका झण्डै पाँच लाख सन्तानलाई नागरिकता दिनेपर्ने गृह मन्त्रालयको अनुमान छ । नयाँ कानुन अनुसार जन्मसिद्ध नागरिकका सन्तान, बाबुको पहिचान हुन नसकेका व्यक्ति र गैरआवासीय नेपालीका नातिनातिनासम्मले नागरिकता पाउने व्यवस्था छ ।

गृह मन्त्रालयले गैरआवासीय नेपालीका हकमा नियमावली चाहिने हुँदा त्यो छिट्टै बनाउने र जन्मसिद्ध नागरिकका सन्तान तथा बाबुको पहिचान हुन नसकेका व्यक्तिलाई तत्काल नागरिकता प्रदान गर्ने तयारी गरेको थियो । तर सर्वोच्च अदालतले हिजो राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएपछि यो तयारी रोकिएको छ । 

गएको वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको विधेयक गएको जेठ १२ गते सरकारले गरेको सिफारिसका आधारमा १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको थियो ।

संसद्लाई छलेर सरकारले गरेको सिफारिसका आधारमा नागरिकता विधेयक प्रमाणीकरण गर्नु असंवैधानिक भएको भन्दै वरिष्ठ अधिवक्ताहरु सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपानेले लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतले अन्तरिम आदेश दिने कि नदिने भन्ने निर्णयका लागि छलफल गर्न दुवै पक्षलाई आउँदो २६ गते बोलाएको छ । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा नागरिकता विधेयक प्रमाणीकरण गर्नु असंवैधानिक भएको भन्दै सडक र सदनमासमेत विरोध भएको छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Swabhiman

    June 8, 2023, 2:55 p.m.

    नागरिकता दिनी भन्दैमा प्रधानमन्त्रि र राष्ट्रपति मिलेर बाबुले खल्ती बाट निकालेर देको पैसा जस्तै गरि दिन मिल्छ ? नेपालमा कुनै नियम र कानुन छैनन् / संबैधानिक कुनै विधि छैन ? छाडा सिमा ( दोहराउना चाहन्छु नेपाल इंडिया सिमा खुला सिमा हैन छाडा सिमा हो /) एका तिर तिब्बती भुटानी अनि बिहारी शरणार्थीको संख्या दिन प्रतिदिन बढ्दो क्रममा छ /कुनै विधि र प्रक्रिया नै पुरा नगरी चिहान खनेर नागरिकता विधेयक निकालेर राष्ट्रपति कार्यालय बाट पारित गर्नु राष्ट्रघात बाहेक अरु केहि होइन / #नेपाल_नीति #राष्ट्रघाती_राष्ट्रपति

  •  0 Reply

तपाईको प्रतिक्रिया