ठगीको आरोपमा मेडिसिटी अस्पतालका ३ जना पूर्वकर्मचारी पक्राउ

 जेठ २४, २०८० बुधबार १६:३८:२९ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरको 'बिलिङ सेक्सन' मा काम गरेका तीन जना पूर्वकर्मचारी अस्पतालबाट ठगी गरेको आराेपमा पक्राउ परेका छन् । 

बिरामीबाट लिएको शुल्कबाट अस्पतालमा दाखिला गर्नुपर्ने भन्दा कम रकम देखाएर ठगी गरेको पाइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरूले बिरामीबाट लाग्ने शुल्क लिएर सफ्टवेयरको दुरुपयोग गरी कम शुल्क प्रविष्ट गरी ठगी गरेका हुन् । यसरी ठगी गरेको आरोपमा पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका–४ घर भई भक्तपुरको ठिमी बस्ने ३४ वर्षीय राघव सापकोटा, ललितपुरको गोदावरी नगरपालिका–११ चापागाउँ बस्ने २९ वर्षीय सनम देशार र काठमाण्डाैकाे बालुवाटार बस्ने ३४ वर्षीय आशीष अर्याल छन् । 

उनीहरूविरुद्ध आपराधिक लाभ तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको एसपी कार्कीले जानकारी दिनुभयो । उनीहरूलाई आजै सार्वजनिक पनि गरिएको छ । 

ती कर्मचारीले अस्पतालमा प्रयोग हुँदै आएको सफ्टवेयरको दुरुपयोग गरी बिरामीबाट शय्या शुल्क, डाक्टर शुल्क र नर्सिङ शुल्कसमेतको वास्तविक शुल्क लिई लिएको शुल्कभन्दा कम शुल्क देखाएर दुई करोड ६३ लाख ५५ हजार रुपैयाँ ठगी गरेको आरोप लागेको ललितपुर प्रहरीको भनाइ छ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया