पर्वतकाे कुश्मामा बाँदर धपाउन दिनभरि मकैबारी रुँग्दै वडाध्यक्ष

 जेठ २५, २०८० बिहिबार १२:३२:३ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

पर्वत - पर्वतको कुश्मा नगरपालिका–९ का वडाध्यक्ष रामशर्मा लामिछाने हरेक महिनाको १५ गते र ३० गते वडा कार्यालयमा भेटिनु हुन्न । महिनाको दुई दिन लामिछाने खेतबारी रुँगेर बस्नुहुन्छ । कारण हो,  बाँदर। 

वडाको कामसँगै खेतबारीमा लगाइएको मकै, बोडी, सिमी जोगाउन बारीमा बाँदर धपाउन जाने गरेकाे लामिछाने बताउनुहुन्छ । 

खेतबारीमा मकैले भर्खरै घोगा हाल्दै गरेका छन् । किसानलाई घोगा जोगाएर मकै घरमा भित्र्याउने पाइने हो कि होइन भन्ने चिन्ता छ । आफूले भन्दा पहिल्यै बाँदरले मकै खाला भन्ने डर भएपछि खेतबारीमै छाप्रो हालिएको छ । छाप्राेमा प्रत्येक दिन गाउँका कोही न कोही हेरालु बस्नुपर्ने बाध्यता परेपछि आफू पनि महिनामा दुई दिन खेतबारी रुँगेर बस्ने गरेको शर्मा बताउनुहुन्छ । 

'अब एक महिना बाँदरबाट बाली जोगाउन एकदमै कठिन हुन्छ, बाली पाक्नै लाग्दा बाँदर खेतबारीमा पसेर सबै खाइदिन्छ', उहाँले भन्नुभयो, 'यसपालि चाहिँ पालो नै बनाएर बाँदर धपाउन खेतबारीमै बसेका छौँ ।'

याे क्षेत्रमा बाँदर आतङ्क नयाँ भने होइन । विगतका  वर्षमा पनि बाँदरले बालीनाली नष्ट गर्ने गरेको वडाध्यक्ष लामिछानेले बताउनुभयो । 'यसअघि पनि बाँदरले बाली खाइदिन्थ्यो, बाँदरबाट जोगाउन धेरै कोसिस गरियो तर, नसकेपछि यसपालि पालो गरेर खेतबारीमै बस्ने गरेका छौँ', उहाँले भन्नुभयो, 'कराउने हल्ला गर्ने गरेपछि बाँदर भाग्छ, त्यसरी बालीनाली जोगाउने गरिएकाे छ ।'

बाँदरबाट बालीनाली जोगाउन खेतबारीमा छाप्रो बनाइएको छ । पालो परेको व्यक्ति त्यही छाप्रोमा आएर बस्ने र बाँदर आएपछि सङ्केत गर्ने गरिन्छ । 'हामीले खेतबारीको छेउमा सानो छाप्रो बनाएका छौँ । सबैको पालो लगाएका छौँ, कसकाे कति गते पालो परेको छ, त्यहीअनुसार छाप्रोमा बस्छन् र बाँदर आयो भने त्यहाँबाट सङ्केत गरिन्छ, सङ्केत पाउने बित्तिकै सानो झुन्ड रैछ भने आफैँ धपाउँछन्, ठूलै झुन्ड रैछ भने सबै गाउँले गएर धपाउँछौँ', वडाध्यक्ष लामिछानेले भन्नुभयो, '७० घरको खेती यसरी नै जोगाएका छाैँ ।'

बाँदर धपाउने कृत्रिम उपाय अपनाए पनि नभागेपछि याे उपाय अपनाइएको लामिछानेले बताउनुभयो । 'बाँदर धपाउन धेरै उपाय अपनाऔँ, बन्दुक पड्काउने, बजाउने सबै गरियो तर, भागेन', उहाँले भन्नुभयो, 'अहिले पालो लगाएर खेतबारीमा बसेपछि बाली जोगाउन सकिएको छ ।'

त्यस्तै, पत्रकार राजबाबु पिसी महिनाको दुई दिन बाँदर धपाउने पालोमा खेतबारी कुरेर बस्ने गरेकाे बताउनु हुन्छ । महिनाको दुई दिन पत्रकारिताको काम छाडेर खेतबारीमा बाँदर धपाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । वडाअध्यक्ष लामिछाने, पिसी मात्र हैन कुश्मा नगरपालिका–९ का १५ परिवार यसैगरी दिन कटाउँछन् । फाँटमा लगाइएकाे मकै जोगाउन वडाध्यक्षलगायत १५ जनाले आलोपालो गरेर कुरुवा बस्छन्।

खेतबारीमा लगाइएका बाली जोगाउन कटुवा चौपारीवासीलाई हम्मेहम्मे परेको छ । यहाँको करिब साढे दुई सय रोपनीमा मकै लगाइएको छ । मकैले घोगा हाल्दै छन्, बाँदर भने दैनिकजसो खेतबारीको आसपास आउँछन् । बाँदर आतङ्क बढेपछि कटुवा चौपारीवासीले पालो नै छुट्याएर बाँदर धपाउन थालेका हुन् । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया