नेपालमा भ्रष्टाचार नगर्ने मान्छे पाउन मुस्किल भयाे : बाबुराम भट्टराई

 जेठ २५, २०८० बिहिबार १६:४४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा भ्रष्टाचार नगर्ने मान्छे पाउन मुस्किल भएको टिप्पणी गर्नुभएकाे छ ।

बिहीवार भक्तपुरमा पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले आफूले सङ्घर्ष गरेर ल्याएको उपलब्धिको रक्षा गर्दै नेपाललाई छोटो अवधिमा समतामूलक समृद्धिको दिशामा लैजान आवश्यक रहेको बताउनुभयो । उहाँले न्यायपूर्ण समाज निर्माणको लक्ष्यसहित नेपाल समाजवादी पार्टी बनेको भन्दै दाबी गर्दै आफ्नो पार्टीले निकट भविष्यमा नै अन्य पार्टीभन्दा फरक पहिचान स्थापित गर्ने जिकिर गर्नुभयाे । भ्रष्टाचारको अन्त्य गरी नेपाललाई बदल्न सङ्कल्पसहित अघि बढ्नुपर्ने खाँचो रहेको भट्टराईले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले सङ्घर्ष गरेर ल्याएको उपलब्धिको रक्षा गर्दै नेपाललाई छोटो अवधिमा समतामूलक समृद्धिको दिशामा लैजाने एउटा न्यायपूर्ण समाज निर्माणको लक्ष्यसहित हाम्राे पार्टी बनेको हो । देशमा भ्रष्टाचारको चरम विकृति छ, अहिले त भ्रष्टाचार नगर्ने मान्छे कोही छ भनेर खोज्नुपर्ने समय आएको छ । यस्तो ठूलो सङ्क्रामक रोगबाट हामी गुज्रेका छौँ । त्यसको अन्त्य गरी देशमा सुशासन दिने र हाम्रै कार्यकालमा सबैको निम्ति समृद्धिको लक्ष्य प्राप्त गर्नुपर्नेछ । हामी नेपाललाई बदल्न सङ्कल्पसहित हिँडेका अगुवाहरूको यो पार्टी हो । पुराना र नयाँ भुल्काका रूपमा उदाइरहेका शक्तिहरूभन्दा फरक नेपाल समाजवादी पार्टी हो ।’

अध्यक्ष भट्टराईले पार्टीको मुख्य कार्यदिशा भनेको राजनीतिक कार्यदिशा भएको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया