जुम्ली किसानलाई रोपाइँको चटारो, मार्सी चामलकाे माग बढेपछि खेतीमा आकर्षण

 जेठ २६, २०८० शुक्रबार ९:४३:२५ | रासस
unn.prixa.net

जुम्लाको चन्दननाथ मन्दिरको सेरा जिउलोमा मार्सीधान रोप्दै चन्दननाथ माध्यमिक विद्यालयका विद्यार्थी ।तस्बिर : रासस

जुम्ला - जुम्लाका किसानलाई अहिले मार्सी धान रोप्न भ्याइनभ्याइ छ । उनीहरु बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुने गरेका छन् । जेठको पहिलो हप्तादेखि असारको दोस्रो हप्तासम्म जिल्लाभर धान रोपाइँ हुने गर्छ । 

पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित हुन थालेका छन् । जुम्लामा उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि मार्सी धान खेती बर्सेनि बढेको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेश अधिकारीले बताउनुभयो । जिल्लाका सात गाउँपालिका, एक नगरपालिकाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्रयाङकोट र विश्वकै उच्च ठाउँमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा पनि स्थानीय कालीमार्सी र रातो मार्सी धानको रोपाइँ धमाधम भइरहेको छ । 

जिल्लामा २ हजार ८ सय ५० हेक्टरमा धानखेती हुने गरेको छ । त्यसमध्ये १ हजार २ सय हेक्टरमा मार्सी धानको खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख अधिकारीको भनाइ छ । गएकाे वर्षको असोज महिनाको बाढीपहिराेले सिञ्जा गाउँपालिकाका ४२ वटा कुलोमा क्षति गरेको थियो ।

गाउँपालिकाको लगानी र स्थानीयवासीको श्रमदानमा २८ वटा कुलो पुनःनिर्माण भइ सञ्चालनमा आएपछि सिञ्जाका प्रायजसाे क्षेत्रमा धान रोपाइँ सुरु भएको सिञ्जा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिनुभयो । 

समुद्री सतहदेखि २ हजार ८ सय ५० मिटरको उचाइ रहेको छुमचौर जिउँलोमा उत्पादन हुने मार्सीधान खेतीलाई संरक्षण गर्नका लागि प्रदेश सरकारले प्राथमिकतामा राख्नुपर्ने गाउँपालिका अध्यक्ष पुन्नसिंह बोहोराले बताउनुभयो । 'पालिकाको आफ्नो बजेटमा मार्सी रोपाइँ हुने जिउलोमा घेरबार गरेका छौँ । बजेटको अभावले अझै हुन सकेको छैन', उहाँले भन्नुभयो । 

मार्सी धान संरक्षण गर्नका लागि गाउँपालिकाको आउने वर्षको नीति तथा कार्यक्रमबाट बजेटको थप व्यवस्थापन गरिने गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जनाकारी दिनुभयो । सङ्घीय सरकारले आउँदाे आव २०८०/८१ का लागि प्रस्तुत गरेको बजेटमा जुम्ली मार्सी धानको ब्रान्डिङ गरिने समावेश गरेको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया