भारतले नेपाली भूमिसहितकाे नक्सा संसदमा राखेर गम्भीर गल्ती गर्‍याे : सांसद सापकाेटा

 जेठ २६, २०८० शुक्रबार १८:४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारूढ नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि सिङ्गो देश एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।

सांसद सापकोटाले भारतले नेपालको भूमिसहितको नक्सा आफ्नो नयाँ संसदमा राखेर गम्भीर गल्ती गरेको समेत बताउनुभयो । भारतको त्याे कदम उसकै उन्नति, प्रगति र हितको पक्षमा नरहेको उहाँको भनाइ थियो । 

शुक्रवार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद सापकाेटाले विश्व बजारमा प्रतिस्पर्धामा जानुपर्ने बेलामा भारतले सीमामा विवाद खडा गरेर बस्नु कुनै पनि अर्थमा सही नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भारतले जे गर्‍याे, गल्ती गर्‍याे । यसले भारतको उन्नति, प्रगति, हित छँदै छैन । किनभने विश्व बजारमा प्रतिस्पर्धामा जानुपर्ने बेलामा पुराना कुराहरूमा अलमल्लिएर नक्साकाे कुरामा मात्रै विवाद गर्ने भनेको भारत विश्व बजारको प्रतिस्पर्धामा आफूलाई खह्रो ढङ्गले लैजान सकिरहेको छैन भन्ने नै देखिन्छ । हाम्रा तर्फबाट कुटनीतिक ढङ्गले, राजनीतिक ढङ्गले सिङ्गो देश एकताबद्ध भएर भारतसँग वार्ता गर्नुपर्छ ।’

सांसद सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा दुई देशबीचको सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग छलफल गर्नुभएको पनि दोहोर्‍याउनुभयाे ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया