गगन थापाकाे गुनासाे– ‘बजेट निर्माणमा अधिकार प्रयाेग नगरेका कारण सरकारले हामीलाई हेप्छ’

 जेठ २८, २०८० आइतबार १५:५४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बजेट प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । बजेट कार्यान्वयनका लागि कानुन निर्माण गरेरमात्रै अघि बढ्ने प्रणालीको विकास गर्न सकेमात्रै यसको कार्यान्वयन सुनिश्चित हुने उहाँको भनाइ थियो । 

आइतवार प्रतिनिधि सभा बैठकमा सरकारले ल्याएको आउँदाे आर्थिक वर्षको बजेटमाथिको छलफलमा महामन्त्री थापाले बजेट निर्माणमा आफ्नो अधिकार प्रयोग नगरेकै कारण सरकारले सांसदहरूलाई हेप्ने गरेको गुनासोसमेत गर्नुभयो । संसद् प्रणालीमा सरकारसँग बहुमत हुने भएकाले सरकारले पेलेरै बजेट पारित गराउने र कार्यान्वयनको सुनिश्चित नहुने अवस्था भएकाले त्यसको अन्त्य हुने गरी अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘बजेट ल्याएपछि सरकारसँग बहुमत छ । जस्ताको तस्तै पास हुन्छ । डराउनै परेन । बजेट पनि अर्थ मन्त्रालयले लिएर आउँछ । यसको समीक्षा पनि अर्थ मन्त्रालयले लिएर आउँछ । अनि हामीहरूसँग सीमित ज्ञान हुन्छ । सीमित सूचना हुन्छ । यसको आधारमा यहाँ आएर बोल्दा कुण्ठा पोख्छौँ । गाली गर्छाैँ । तर तथ्य, तथ्याङ्कले गर्दा समात्नुपर्ने ठाउँमा समात्दैनौँ । बजेट निर्माणमा हामी सांसदहरूले व्यापक ढङ्गले काम गरेको नदेखेको हुनाले नागरिकले हामीसँग मन्दिरमा गजुरका लागि पैसा माग्छन् । इनार खन्न पैसा माग्छन् । किनभने संसदमा हामीले टेबलमात्रै ठोकेको देखिरहेका हुन्छन् । हुन्छ, हुन्न भनेको मात्रै देखिरहेका हुन्छन् । अर्थ मन्त्रालय वा सरकार हामीसँग डराइराखेको देखिरहेको हुँदैन । स्रोत के मा खर्च गर्ने, कसरी खर्च गर्ने ? यावत् कानुन बनाउने अधिकार हामीसँग छ । त्यो अधिकारको हामीले प्रयोग गरिरहेका छैनौँ । त्यो अधिकारको प्रयोग नगरेको हुनाले सरकारले हामीलाई हेप्छ । जे गरे पनि हुन्छ भन्छ । किनभने संसद प्रणालीमा सरकारसँग जहिले पनि बहुमत हुन्छ । र हामीकहाँ क्रस पार्टी काम गर्ने प्रचलन पनि छैन ।’

महामन्त्री थापाले करको दर फेरहेर गर्नका लागि राजस्व बोर्ड नै गठन गर्न उपयुक्त हुने धारणासमेत राख्नुभयो ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया