काेशीमा अध्यादेशमार्फत बजेट आयाे, सांसद विकास कोषका लागि डेढ अर्ब रुपैयाँ (पूर्ण पाठ)

 जेठ ३२, २०८० बिहिबार २०:२७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोशी प्रदेशमा सरकारले अध्यादेशमार्फत आउँदाे आर्थिक वर्षकाे बजेट जारी गरेको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले अध्यादेश जारी गर्नुभएको हो । खापुङ्गले कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र कोशी प्रदेश विनियोजन अध्यादेश २०८० जारी गर्नुभएको छ । दुवै अध्यादेश आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री हिक्मत कार्कीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नुभएको छ ।

कोशी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो । जसमा चालु खर्चमा १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार, पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार र वित्तीय हस्तान्तरणतर्फ एक करोड र पालिका वित्तीय हस्तान्तरणमा तीन अर्ब ६० करोड २९ लाख ९२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

बजेटको स्रोततर्फ आन्तरिक चार अर्ब ५७ करोड ७८ लाख र राजस्व बाँडफाँटबाट ११ अर्ब ६४ करोड ८१ लाख, सङ्घीय अनुदानबाट १५ अर्ब ३६ करोड ४६ लाख, नगद मौज्दात तीन अर्ब ७५ करोड एक लाख र वैदेशिक अनुदानबाट १५ करोड चार लाख रुपैयाँ आयको अनुमान गरिएको छ ।

काेशीमा सबैभन्दा धेरै भौतिक पूर्वाधारतर्फ ११ अर्ब ४१ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यस्तै कृषि क्षेत्रका लागि दुई अर्ब सात करोड, उद्योगतर्फ ४३ करोड, खानेपानी सिँचाइ तथा ऊर्जातर्फ पाँच अर्ब ४३ करोड ८३ लाख बजेट विनियोजन गरिएको छ । स्वास्थ्यतर्फ तीन अर्ब सात करोड २७ लाख, सामाजिक विकासतर्फ एक अर्ब ७९ करोड ३३ लाख रुपैयाँ विनियाेजन गरिएकाे छ । साथै प्रदेश सांसद पूर्वाधार विकास कार्यक्रमका लागि एक अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका एमालेका मुख्यमन्त्री कार्कीले कानुनी जटिलताका कारण आजै बजेट प्रस्तुत गर्नुभएको हो । प्रदेश सरकारले असारको १ गते बजेट प्रस्तुत गर्ने व्यवस्था छ । अध्यादेशबाट बजेट ल्याउन मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभाको चालु बर्खे अधिवेशन गए राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिसक्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया