प्रधानमन्त्रीलाई कांग्रेस सांसदकाे चेतावनी– ‘हेक्का रहाेस् याे गठबन्धनकाे सरकार हाे’

 असार १, २०८० शुक्रबार १४:१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले पुष्पकमल दाहाल प्रचण्डलाई आफूहरूकाे भूमिकाकाे अवमूल्यन नगर्न चेतावनी दिनुभएकाे छ । प्रधानमन्त्री बनाउन आफूहरूको पनि भूमिका रहेको भन्दै त्याे भूमिकाको अवमूल्यन नगर्न चेतावनी दिनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा सांसद घिमिरेले प्रधानमन्त्री बनाउन आफूहरूकाे पनि भूमिका रहेकाे भन्दै त्याे भूमिकाकाे अवमूल्यन नगर्न प्रचण्डलाई चेतावनी दिनुभएकाे हाे । प्रधानमन्त्री बनाउन आफूहरूले दिएकाे मतको ख्याल गर्न उहाँकाे आग्रह छ ।

सांसद घिमिरेले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारबाट अपेक्षा गरे अनुरूपको बजेट आउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा बजेट विनियोजन गराउन मन्त्रालय कुद्दा कुद्दा जुत्ताको तलुवा खिए पनि हात लाग्याे शून्य भएको टिप्पणी गर्नुभयाे । उहाँले पार्टीको समर्थन पाएरमात्रै प्रधानमन्त्रीमा टिकिरहन्छु भन्ने नसोच्न प्रचण्डलाई चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईँहरू पनि हामीजस्ता मान्छेहरू चुनाव जितेर आएको हुनाले मन्त्री हुनुभएको हो । प्रधानन्त्री पनि हुनुभएको होला । तपाईँहरू एक्लै जितेको हुनाले आज यो स्थानमा पक्कै पनि पुग्नुभएको होइन । त्यसैले आफ्नो क्षेत्रमा मात्रै बजेट खन्याएर भोलि आफूमात्रै जितेर आउने सोच पनि त्याग्न म अनुरोध गर्छु । सांसदको सरकार बनाउने, नीति निर्माण र कानुन बनाउने, बजेट निर्माण गर्ने र आफ्नो निर्वाचन क्षेत्र र मतदाताप्रतिको कर्तव्य र दायित्व हुन्छ । यी विषयमा हाम्रो भूमिका कहाँ छ ? नेताले गरेको गठबन्धनलाई भोट हाल्ने, सरकारले ल्याएको कानुन र बजेट टेबुल ठोकेर पास गर्ने, सरकारलाई समर्थन दिने । पचास घण्टा भाषण सुन्ने र पाँच मिनेट भाषण गर्ने । यत्ति हो हाम्रो काम ? हामी यसैका लागि सांसद भएका रहेछौँ ? नागरिककाे अपेक्षा के हामीसँग यतिमात्रै हो ? बजेट विनियोजन गर्ने समयमा सङ्घ र प्रदेशका मन्त्रालय कुद्दा कुद्दा जुत्ताका तलुवा खिए, हात लाग्यो शून्य । प्रधानमन्त्रीज्यू, तपाईँलाई प्रधानमन्त्री बनाउन हाम्राे पनि मत छ । तपाईँको सरकारबाट यस्तो अपेक्षा गरिएको थिएन । तपाईँलाई लागेको होला पार्टीको समर्थन पाएपछि पुग्छ । तर विगतको इतिहास हेर्नुभएकै छ । आफ्नै बहुमत सरकार असफल बनाइदिएको । पार्टी फुटेको । पार्टीभित्रै पनि चरम गुटबन्दी मौलाएको । हेक्का रहोस् यो त गठबन्धनको सरकार हो । स्मरण रहोस् जनप्रतिनिधिको हैसियतले यो देशको बजेटमाथि हाम्रो पनि अधिकार छ ।’ 

सांसद घिमिरेले आफ्नै पार्टीका नेताहरूमाथि पनि विभिन्न प्रश्नहरू तेर्स्याउनुभयाे । उहाँले यसैका लागि एउटा गठबन्धन तोडेर अर्को गठबन्धनमा छिरेको हो भनी प्रश्न गर्नुभयो । उहाँले कांग्रेसलाई ठूलो पार्टी बनाउन आफूजस्ता सांसदहरूको पनि भूमिका भएको भन्दै यसरी पार्टी जोगाउन नसकिने बताउनुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया