नेपाल र भारतबीच जुम्ल्याहा भाइको जस्तै सम्बन्ध हुनुपर्छ : महासचिव येचुरी

 कात्तिक ९, २०७५ शुक्रबार १८:२६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सिताराम येचुरीले नेपालको कम्युनिष्ट आन्दोलन विश्व कम्युनिष्ट आन्दोलनकै लागि उदाहरणीय भएको बताउनुभएको छ ।

पुष्पलाल फाउन्डेशनले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘भारतीय कम्युनिष्ट पार्टीको अनुभव’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले नेपाली कम्युनिष्ट पार्टी र भारतीय कम्युनिष्ट पार्टीबीच पुरानो र मित्रवत सम्बन्ध भएको बताउनुभयो । 

भारतीय कम्युनिष्ट पार्टीको आफ्नै इतिहास भएको बताउँदै महासचिव येचुरीले विभिन्न कालखण्डमा गरेका गल्तीका कारण भारतमा पछिल्लो समयमा उतारचढावको सामना गर्नुपरेको बताउनुभएको छ । केही वर्षअघि भारतका तीन राज्यमा आफ्नो बलियो उपस्थिति भए पनि अहिले कम्युनिष्ट पार्टी केरलमा मात्रै सरकारको नेतृत्वमा रहेको छ । त्यसैतर्फ इंगित गर्दै आन्तरिक द्वन्द्व र विपक्षी पार्टीको रणनीतिलाई बुझ्न नसक्दा भारतमा कम्युनिष्ट पार्टीले लगातार पराजय बेहोरेको महासचिव येचुरीले बताउनुभयो । 

समाजमा थुप्रै अन्तरविरोध हुने बताउँदै ती अन्तरविरोधमध्ये प्रमुख अन्तरविरोधलाई चिनेर समाधान गर्न नसके त्यसले ठूलो क्षति निम्तयाउने उहाँले बताउनुभयो । 
कम्युनिष्ट पार्टीको स्थापनाकालदेखि नै भारतमा आक्रमण भएको बताउँदै महासचिव येचुरीले भारतीय जनता पार्टी(बीजेपी) सत्तामा आएपछि आक्रमणको संख्यामा वृद्धि भएको बताउनुभयो । पहिले पनि अति हिन्दूवादी समूहले महात्मा गान्धीको हत्या गरेपछि आरएसएसमाथि प्रतिबन्ध लागेको बताउँदै येचुरीले पछिल्लो समय पनि त्यस्तै प्रकरण दोहोरिन लागेको बताउनुभयो ।

भारतीय र नेपाल कम्युनिष्ट पार्टीबीचको सम्बन्ध निकै घनिष्ठ र सुमधुर रहेको बताउँदै महासचिव येचुरीले भन्नुभयो, ‘हामी भाइभाइ हौँ । नेपाल र भारतबीच ठूलो र सानो नभई जुम्ल्याहा भाइको जस्तो सुमधुर र घनिष्ठ सम्बन्ध हुनुपर्छ ।’ 

महासचिव येचुरीले कम्युनिष्ट पार्टीहरुले गल्ती दोहो¥याउन भने नहुने पनि स्मरण गराउनुभयो । पुष्पलाल फाउन्डेशनले भारतीय कम्युनिष्ट पार्टीको अनुभव आदानप्रदानका लागि महासचिव यचुरीलाई गोष्ठीमा प्रमुख वक्ताको रुपमा सहभागी गराएको हो । कार्यक्रममा फाउन्डेशनका अध्यक्ष एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय कम्युनिष्ट पार्टीको अनुभव नेपालको विकासका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नु भएको थियो ।  

तस्बिर - रासस
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया