जलवायु वित्तको आकार नबढे नेपाललगायत अतिकम विकसित देशको लक्ष्...
मंसिर ६, २०८१ बिहिबार
सरकारले प्याज नामक वस्तुमा भ्याट नामक ब्याज लगाएपछि हिजोआज धेरैका आँखामा प्याजको पिरो पसेको छ । मान्छेको प्याज किन्ने हैसियतलाई सरकारले सगरमाथाको टुप्पोबाट बेसक्याम्पभन्दा तल झारिदिएको छ । प्याज किन्ने औकात सकिएपछि मान्छेको रुवाबासी चलेको छ । कोही प्याजको गहना देखाएर सामाजिक सञ्जालमा रुँदैछन्, कोही प्याजकै डल्लो तेर्साएर संसदमा चिच्याउँदैछन् । प्याज किन्न नसकेर रुनेको लेखा राख्ने कोही नभए पनि प्याज किन्दा रुनेहरूको रुवाइको हिसाबकिताब बर्खाकाे पानी झैँ जताततै छताछुल्ल छ । प्याजका पत्र झैँ प्याजे गफका पोका खोतल्दै फेसबुकेहरू साहित्य छाँट्दैछन्– पहिले प्याज काट्दा मात्रै आँखाबाट आँसु आउँथ्यो, अहिले त प्याज किन्ने कल्पना गर्दै पनि आँखाबाट आँसुको भेल बग्छ ।
चटपटेदेखि छटपटेसम्मले प्याजका पत्र खोतलेर गन्ध छाड्न थालेपछि सरकार र प्रतिपक्षको प्याजे बैठक बस्यो । सबैभन्दा पहिले प्रतिपक्ष सांसदहरूले प्याज कोट्याए ।
‘यो त अति भयो ? बजेटमा चाहिँ १३ प्रतिशत भ्याट, भाउ चाहिँ सय प्रतिशत महँगो !’ प्रतिपक्षी एक सांसदले केरमेट गरेर लेखेको कागजको नोट देखाए ।
‘अब सरकारले सूचना टाँस्नुपर्याे प्याज खान स्वास्थ्यका लागि हानिकारक छ भनेर’ अर्का सांसदले यसो भन्दै हाँस्दा उनको मुखबाट प्याजको ह्वास्स गन्ध आयो ।
‘स्वास्थ्यका लागि हानिकारक छ भनेर लेख्दा जाँड–रक्सी र चुरोट, सुर्ती चाहिँ खान छाडेका छन् र ?’ सँगै रहेका सत्तापक्षका सांसदले सुर्ती खाँदा पहेलिएको गिजा देखाए ।
‘प्याज पनि त कहाँ खान छाडेका छन् र ?’ अर्का सांसदले बिहान खाएको प्याज सम्झिए ।
‘त्यही त अब छोड्नुपर्याे प्याज खान । प्याज किन खाने हँ ?’ प्याज मन्त्री कड्किए ।
‘तपाईँको मुखबाट त ह्वास्स प्याजको गन्ध आइरहेको छ त ?’ प्रतिपक्षका सांसदले प्रतिवाद गरे ।
‘यो त महिना दिनअघिको गन्ध हो । मैले त प्याज खान छाडिसकेँ’ मन्त्रीले दौराको फेरले मुख पुछे ।
‘हो हो महाकालेश्वरको दर्शन गरेर फर्किएपछि मैले पनि प्याज खान छाडेँ । बाहुनले प्याज खान हुँदैन भनेर हाम्रा बाबुबाजेले ठिकै भनेका रहेछन्’ प्रधानमन्त्रीसँगै भारत गएर फर्किएका अर्का मन्त्रीले काँधमा भिरेको गेरुवस्त्र सुम्सुम्याए ।
‘त्यही त प्याज किन खाने क्या ? प्याजमात्रैको तरकारी हुने पनि होइन । प्याज नहालेर पनि तरकारी बनिहाल्छ । प्याज खानु नै बेकारको चलन हो’ प्याज मन्त्री प्याच्च बोले ।
‘ए मन्त्रीज्यू, तपाईँले प्याज नहाली चटपटे खाने गर्नुभएको छ ?’ नयाँ दलका युवा सांसद बोले ।
‘तपाईँहरूजस्तो केटाकेटी हो र चटपटे खानलाई ? उ बेला खाइन्थ्यो होला बिर्सिसकियो’ चटपटेको कुरा सम्झेर मन्त्री छटपटिए ।
‘हेर्नुस् हामीलाई त अहिले पनि चटपटे खानुपर्छ । प्याज, धनियाँ, खुर्सानी र कागती नहालेको चटपटे त मिठै हुँदैन’ युवा सांसदले घुटुक्क थुक निले ।
‘मेरो कुरा मान्नुहुन्छ भने तपाईँहरू पनि चटपटे खान छाड्नुहोस् । अझ तपाईँहरू बिहे नभएका युवा नेताहरूले त प्याजलाई प्रेमसँग दाँजेर पनि हेर्न सक्नुपर्छ । प्रेमिल कुरा गर्दा तपाईँहरूले भन्ने गर्नुभएको होला, रुनेहरू कमजोर र रुवाउनेहरू बलिया हुन्छन् । सामान्यतः मूल्य बढी बलियाहरूकै हुन्छ । प्याजमा शक्ति छ रुवाउँछ र त मूल्य बढ्छ’ मन्त्रीले प्याजको मूल्यलाई मायाप्रेमको मूल्यसँग दाँजे ।
‘प्याजले मायाप्रेम गर्ने केटाकेटीलाई हैन क्या, सोझासिधा जनतालाई रुवायो’ अर्का प्रतिपक्ष सांसद कड्किए ।
‘प्याजमा ब्याज हैन मन्त्रीज्यू, ब्याजमा चाहिँ प्याज थप्नुपर्याे’ अर्का प्रतिपक्षले थपे ।
सबैको कुरा सुनेपछि मन्त्रीले प्याजमा ब्याज थप्नुको फाइदाबारे बेलिबिस्तार लगाए ।
‘अनि रोइराेइ किन खानुपर्याे त प्याज ? जनतालाई रुन नपरोस् भनेरै प्याजमा ब्याज थपेको हो । हेर्नुहोस् अहिले तपाईँ हामीबाहेक सबैलाई आर्थिक सङ्कटले घेरेको छ । मान्छेहरू के खाने र कसरी बाँच्ने भनेर छटपटिएका छन् । जताततै हाहाकार छ । कोही कुटो बोकेर खोरिया पस्दैछन्, कोही कुम्लो बोकेर खाडी । यस्तो बेला अनावश्यक वस्तुमा खर्च नरोक्ने हो भने मान्छेलाई झन् बढी सङ्कट आइलाग्छ । जुन आवश्यक नै छैन, त्यसमा जनताले अनावश्यक खर्च नगरून् भन्ने कुरामा सरकार सचेत छ ।
अर्को कुरा प्याज काट्दा आँखाबाट आँसु आउँछ भन्ने त सबैलाई थाहा छ । दुःख, पिर, सङ्कट पर्दा आँसु आउनु स्वाभाविक हो । तर प्याज काटेर आँसु किन खेर फाल्नु ? प्याज काटेर बग्ने आँसु रोकेर मासुमा बल गर्नुपर्छ भन्ने सरकारको नीति हो । भान्सामा प्याज नै भएन भने प्याज काट्नु पर्दैन । प्याज काट्न नपरेपछि आँखाबाट आँसु निस्कदैन । आँखाबाट आँसु नआउनु भनेको मान्छे खुसी हुनु हो । खुसी भएपछि मान्छे हाँस्छ । जो धेरै हाँस्छ, त्यो धेरै बाँच्छ । त्यसैले प्याजमा ब्याज लगाएर सरकारले मान्छेको दीर्घायु बढाउन खोजेको हो ।
ल कुरा बुझ्नु भयो नि तपाईँहरूले । सुखी नेपाली, समृद्ध नेपाल भनेर गफ गरेरमात्रै हुँदैन । साँच्चै काम गर्नुपर्छ । प्याजमात्रै नहुने हो भने नेपाली भान्सादेखि नै हँसिला हुन थाल्छन् । हँसिलो हुनु भनेको खुसी हुनु, अनि खुसी हुनु भनेको सुखी हुनु हो । बाहिरबाट प्याज ल्याउन नपरेपछि देश पनि समृद्ध हुने भयो । प्याजकै कारण सुखी नेपाली, समृद्ध नेपाल ।
ल खाजा आयो खानुस् । ए खाजा ल्याउने भाइ, चनामा खै प्याजको टुक्रा राख्नै बिर्सेछौ त । प्याज र खुर्सानी काटेर नराखेको त चना पनि मिठो हुँदैन क्या !’
बैठक कक्षमा हाँसो छुट्यो ।
‘ल हेर्नुस् प्याजकै कुराले तपाईँहरु पनि हाँस्नुभयो, जनता नहाँस्ने त कुरै भएन’ मन्त्रीले प्याजको ठूलो टुक्रा करप्प टोकेर बैठक सकाए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।