बुटवल उपमहानगरकाे बजेट दुई अर्ब ३६ करोड रुपैयाँ

 असार १०, २०८० आइतबार १९:२६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – रुपन्देहीकाे बुटवल उपमहानगरपालिकाले आउँदाे आर्थिक वर्ष २०८०/८१ का लागि दुई अर्ब ३६ करोड ५४ लाख रुपैयाँको बजेट ल्याएकाे छ । 

उपमहानगरको १३ औँ नगरसभामा आज आइतवार उपमेयर सावित्रादेवी अर्यालले प्रस्तुत गर्नुभएको बजेटमा सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण ३० करोड १७ लाख, ससर्त अनुदान ४७ करोड ९२ लाख, समपूरक अनुदान ८० लाख र विशेष अनुदान दुई करोड रुपैयाँ रहने अनुमान गरिएको छ । 

यस्तै प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान दुई करोड ३१ लाख ६९ हजार, ससर्त अनुदान दुई करोड नौ लाख ५० हजार र समपूरक अनुदान दुई करोड रुपैयाँ अनुमान रहेको छ । राजस्व बाँडफाँटबाट प्राप्त हुने अनुदान ३१ करोड ८५ लाख ३१ हजार र आन्तरिक आयतर्फ ९१ करोड रुपैयाँ राजस्व सङ्कलन हुने तथा गएकाे आर्थिक वर्षको अघिल्लो वर्षको बाँकी (अल्या) २६ करोड ३८ लाख ५० हजार रुपैयाँ हुने अनुमान गरिएको छ । 

बजेटमा उपमेयर अर्यालले शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, रोजगार, उद्योग, व्यापारजस्ता क्षेत्रको समुन्नतिमा जोड दिनुभएको छ । त्यस्तै बजेटमा उज्यालो बुटवल, सफा, सुन्दर, हरियालीसहितको सुरक्षित र समुन्नत सहरका रूपमा विकास गर्नेलगायतका कार्यक्रम समावेश गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया