११ मध्ये १० उपमहानगरले बजेट ल्याए, कसको कति ?

 असार १०, २०८० आइतबार २०:२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशका ११ वटा उपमहानगरपालिकामध्ये १० वटाले आउँदाे आर्थिक वर्ष २०८०/८१ का लागि बजेट ल्याएका छन् । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले आउँदो १३ गते बजेट ल्याउने तयारी गरेको भए पनि कार्यपालिकामा विवाद रहेको छ । जीतपुर सिमराको नीति तथा कायक्रम भने गएको २ गते नै नगरसभामा पेस भइसकेको छ ।

बजेट ल्याएका १० वटा उपमहानगरपालिकामध्ये सबैभन्दा धेरै मकवानपुरको हेटौँडा उपमहानगरले दुई अर्ब ६० करोड रुपैयाँको बजेट ल्याएको छ । हेटौँडाले गएको ३ गते नै बजेट ल्याएको हो ।

यस्तै सुनसरीको इटहरी उपमहानगरले आउँदाे आर्थिक वर्षका लागि दुई अर्ब ३५ करोड ३१ लाख रुपैयाँको बजेट ल्याएको छ । सुनसरीकै धरान उपमहानगरले एक अर्ब ७१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

धनुषाको जनकपुरधाम उपमहानगरले गएको शुक्रवार नै दुई अर्ब २८ करोड रुपैयाँको बजेट ल्याइसकेको छ । बाराको कलैया उपमहानगरले आउँदो आर्थिक वर्षका लागि एक अर्ब ५४ करोड ३८ लाख रुपैयाँको बजेट गएको बुधवार नै ल्याइसकेको छ । रुपन्देहीको बुटवल उपमहानगरले दुई अर्ब ३६ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

यस्तै दाङको घोराही उपमहानगरले आउँदाे आर्थिक वर्षका लागि दुई अर्ब १५ करोड ५४ लाख ८३ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । दाङकै तुलसीपुर उपमहानगरले एक अर्ब ७९ करोडको बजेट ल्याएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरले हिजो शनिवार नै एक अर्ब ६७ करोड ५६ लाख रुपैयाँको बजेट ल्याएको छ । धनगढीको धनगढी उपमहानगरले एक अर्ब ९३ करोड आठ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया