नेपालमा 'डिजिटल डिभाइड' का चुनौती र समाधान

 असार ११, २०८० सोमबार १०:२९:२४ | अविनाश गजुरेल
unn.prixa.net

प्रतीकात्मक तस्बिर

डिजिटल प्रविधि र इन्टरनेटमा पहुँच भएका व्यक्ति वा समुदाय र ती सुविधा नपुगेकाहरू बीचको अन्तरलाई डिजिटल डिभाइड भनिन्छ । अङ्ग्रेजी शब्द कम्प्युटर, इन्टरनेट, फोन, जस्तै 'डिजिटल डिभाइड' लाई पनि नेपालीमा अनुवाद गर्न सकिने देखिँदैन । त्यसैले यसलाई अर्थ्याएर बुझ्नु उपयुक्त हुन्छ ।

डिजिटल डिभाइड भनेको सञ्चार प्रविधिमा पहुँच हुने र नहुनेबीचको दूरी मात्र होइन । यस अन्तर्गत प्राविधिक पूर्वाधार, उपकरण जडान, डिजिटल साक्षरता लगायत विभिन्न पक्षमा रहेको असमानता समेटिन्छ । डिजिटल डिभाइड विभिन्न स्तरमा देख्न सकिन्छ, जस्तै धनी र गरिब देशबीच, सहरी र ग्रामीण क्षेत्र बीच, विभिन्न सामाजिक-आर्थिक समूहबीच, आदि ।

नेपालको सन्दर्भमा डिजिटल डिभाइड निक्कै ठूलो र टड्कारो देखिन्छ । सहरी क्षेत्रमा र समाजका केही सुविधा सम्पन्न वर्गको डिजिटल स्रोतहरूमा राम्रो पहुँच छ भने ग्रामीण र सीमान्तकृत वर्ग डिजिटल प्रविधि भन्दा टाढा छ ।

नेपालमा डिजिटल डिभाइड कुन स्तरमा छ भन्ने स्पष्ट गर्न एउटा उदाहरण हेरौँ : पहाडी क्षेत्रका दुर्गम गाउँमा भरपर्दो बिजुली आपूर्ति छैन । इन्टरनेटको सुविधा त झन् टाढाको कुरा भयो ! विद्यार्थी लगायत गाउँलेहरूसँग कम्प्युटर, स्मार्टफोन वा इन्टरनेटको सुविधा छँदै छैन वा अत्यन्त न्यून छ । परिणाम स्वरूप, दुर्गम गाउँका मानिसहरू सूचना, ज्ञानका स्रोत, र अनलाइन उपलब्ध अन्य थुप्रै अवसरहरूबाट वञ्चित छन् ।

अर्कातिर, काठमाण्डाै र नेपालका अन्य प्रमुख सहरमा इन्टरनेट जडान तुलनात्मक रूपमा राम्रो छ र डिजिटल उपकरणमा पहुँच बढी छ । यी क्षेत्रका विद्यालय र कलेजहरूमा कम्प्युटर प्रयोगशाला, इन्टरनेट सुविधा र दक्ष शिक्षकहरू उपलब्ध छन् । यसबाट सहरी क्षेत्रका विद्यार्थीहरूलाई डिजिटल प्रविधि प्रयोग गरेर सिप विकास गर्न सजिलो छ । सहरी क्षेत्रका विद्यार्थीहरू अनलाइन शैक्षिक प्लेटफर्महरू प्रयोग गर्ने, भर्चुअल कक्षा कोठामा बसेर सिक्न पाउने र आफ्नो ज्ञान र सिप बढाउन डिजिटल स्रोतबाट अधिकतम फाइदा लिइराखेका छन् । 

विश्व बैंकको एउटा तथ्याङ्क अनुसार सन् २०२२ मा नेपालको करिब ९७ दशमलव ७ प्रतिशत जनसंख्यामा बिजुलीको पहुँच थियो । 'तर सहरी र ग्रामीण क्षेत्रबीच बिजुलीको पहुँचको स्तरमा आकाश जमिनको फरक छ । सहरी क्षेत्रमा बिजुली पूर्वाधार पर्याप्त छ भने ग्रामीण क्षेत्रले अझै पनि भरपर्दो र निरन्तर विद्युत् आपूर्ति पाइराखेको छैन,' विश्व बैँक भन्छ ।

अहिलेका वर्षहरूमा नेपालमा इन्टरनेटको पहुँच लगातार बढ्दै गएको छ । तर अझै पनि सहरी र ग्रामीण क्षेत्रबीच डिजिटल डिभाइड व्यापक छ । विश्व बैंकका अनुसार सन् २०२२ मा इन्टरनेट पहुँच दर करिब ५४ दशमलव ८८ प्रतिशत रहेको अनुमान गरिएको थियो । यसको अर्थ लगभग ५४ दशमलव ८८ प्रतिशत जनसंख्याको इन्टरनेटको पहुँच थियो ।

प्रविधिमा पहुँचको यो असमानताले नेपालको ग्रामीण र सहरी क्षेत्रबीच ठूलो डिजिटल डिभाइड सिर्जना गरेको छ । डिजिटल स्रोतहरूमा पहुँचको अभावले ग्रामीण विद्यार्थी र सामान्य मानिसहरूलाई शैक्षिक अवसरहरूबाट वञ्चित गराउँछ, आर्थिक सम्भावनाहरू सीमित पारिदिन्छ । फलस्वरूप भौगोलिक क्षेत्र र सामाजिक-आर्थिक समूहहरूबीचको खाडल फराकिलो बनाइदिन्छ ।

नेपालमा डिजिटल डिभाइड ग्रामीण र सहरी असमानतामा मात्र सीमित छैन । भौगोलिक तथा आर्थिक रूपले पिछडिएका वर्गमा यो असमानता झन् व्यापक छ । यो वर्गले भाषाका समस्या, सीमित डिजिटल साक्षरता, र अपर्याप्त पूर्वाधार जस्ता अनेक चुनौतीहरू सामना गर्नु परिराखेको छ । यसले देश भित्र डिजिटल डिभाइडलाई अझ बढाएको छ ।

युवालाई सशक्त बनाउन डिजिटल साक्षरता

प्राविधिमा भर पर्ने आजको संसारमा युवालाई सशक्तीकरण गर्न डिजिटल साक्षरताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । युवा सशक्तीकरणका लागि डिजिटल साक्षरता निम्न कारणले महत्त्वपूर्ण हुन्छ :

* सूचना र ज्ञानमा पहुँच : डिजिटल साक्षरताले युवालाई डिजिटल प्लेटफर्म प्रभावकारी रूपमा प्रयोग गर्ने सिप र ज्ञान दिन्छ । डिजिटल साक्षरताले युवालाई सूचना, जानकारी, शैक्षिक स्रोत, र अनलाइन सिक्ने अवसरको विशाल भण्डारमा पहुँच गर्न सक्षम बनाउँछ । डिजिटल रूपमा साक्षर भएर, युवाहरूले आफ्नो ज्ञानको आधार विस्तार गर्न, सिकाइ र अनुभव बढाउन, तथा आफ्नो जानकारी तथा ज्ञान अद्यावधिक सक्छन् ।

* शैक्षिक अवसर : डिजिटल साक्षरताले शैक्षिक अवसरहरूको अनेक ढोका खोल्न मद्दत गर्छ । अनलाइन पाठ्यक्रम, भर्चुअल कक्षा र शैक्षिक प्लेटफर्महरूले विश्वको जुनसुकै ठाउँमा बसेर पनि गुणस्तरीय शिक्षामा पहुँच पाउन सकिन्छ । डिजिटल साक्षरताको सिपलाई युवाहरूले आफ्नो शैक्षिक उन्नयन गर्न, नयाँ सिपहरू सिक्न र भावी जीवनका लागि अनेक बाटाहरूको पहिचान गर्न सक्छन् ।

* रोजगारी र आर्थिक अवसर : आजको डिजिटल युगमा रोजगारी र उद्यमशीलताका लागि डिजिटल साक्षरता अत्यावश्यक छ । डिजिटल उपकरण, सञ्चार प्लेटफर्म, र अनलाइन प्रविधि प्रयोग प्रभावकारी ढङ्गले गर्न सक्ने क्षमताले जागिरको सम्भावना र उद्यमशीलताको सम्भावना बढाउँछ । डिजिटल साक्षरताले युवालाई डिजिटल रोजगारी बजारमा विचरण गरी अनेक अवसरको खोजी गर्न, घरमै बसेर गर्ने कामका अवसरहरूमा पहुँच गर्न र बदलिँदो आवश्यकता अनुरूप आफूलाई ढाल्दै लग्न र थप सिप सिक्न अनेक अवसर प्रदान गर्छ ।

* सृजनात्मक सोच र समस्या समाधान : डिजिटल साक्षरताले युवालाई सूचनाको मूल्याङ्कन कसरी गर्ने, विश्वसनीय स्रोतहरू कसरी पत्ता लगाउने र डिजिटल सामग्रीको विश्लेषण कसरी गर्ने भन्ने जस्ता महत्त्वपूर्ण सिप सिकाएर सृजनात्मक सोच विकास गर्न र समस्या समाधान गर्ने मद्दत गर्छ । सञ्चार माध्यममा आएका सामग्रीहरूको आलोचनात्मक उपभोक्ता बन्न र सही निर्णय गर्न सक्षम बनाउँछ । डिजिटल साक्षरताले समस्या समाधान गर्ने क्षमता पनि बढाउँछ, किनकि युवाहरूले प्राविधिक समस्याहरू समाधान गर्न, नयाँ प्रविधिहरूमा अनुकूलन गर्न र डिजिटल क्षेत्रमा रचनात्मक समाधानहरू खोज्ने सिप सिक्छन् ।

* सामाजिक र नागरिक संलग्नता : डिजिटल साक्षरताले युवाहरूलाई डिजिटल क्षेत्रमा सक्रिय रूपमा सहभागी हुन सक्षम बनाउँछ । तिनीहरूलाई सामाजिक र नागरिक मुद्दाहरूमा संलग्न हुन सक्ने बनाउँछ । डिजिटल प्लेटफर्मले कुनै पनि सार्वजनिक विषयमा आफ्नो विचारहरू व्यक्त गर्न, जागरूकता बढाउन र सामाजिक चासोका विषयहरूमा काम गर्ने अवसर प्रदान गर्छ ।

* डिजिटल सुरक्षा र कल्याण : डिजिटल साक्षरताले अनलाइन सुरक्षा, गोपनीयता र डिजिटल कल्याण प्रवर्द्धन गर्न मद्द पुर्‍याउँछ । साइबर बुलिङ, अनलाइन ठगी, र डिजिटल फुटप्रिन्ट व्यवस्थापन जस्ता डिजिटल संसारसँग सम्बन्धित जोखिम र चुनौतीहरू हाम्रा युवाले बुझ्नु जरूरी छ । डिजिटल साक्षरताले युवाहरूलाई आफूलाई सुरक्षित राख्न, जिम्मेवार छनाेट गर्न र डिजिटल संसारमा आफ्नो फाइदा हुने कामहरू गर्न  आवश्यक सिप सिकाउँछ ।

 नेपालमा डिजिटल डिभाइडका चुनौतीहरू

नेपालमा डिजिटल डिभाइडका अनेक चुनौती छन् । यी चुनौती समाधान गरी डिजिटल खाडल पुर्न सजिलो छैन । कस्ता कस्ता छन् त नेपालले सामना गरिराखेका डिजिटल डिभाइडका प्रमुख चुनौतीहरू ?

* सीमित पूर्वाधार : सञ्चार प्रविधिका लागि चाहिने पूर्वाधार निर्माणमा नेपालको भौगोलिक वनावट एउटा ठूलो अड्चन हो । भरपर्दो 'कनेक्टिभिटी' पूर्वाधार निर्माण गर्न र मर्मत गर्न हाम्रो जटील भूबनोटका कारण गाह्रो छ ।

* ग्रामीण क्षेत्रमा सीमित पहुँच : पहाड होस् वा तराई, नेपालका दुर्गम गाउँहरूमा बिजुली र इन्टरनेटको पहुँच सीमित छ । दुर्गम गाउँहरूमा अझै पनि भरपर्दो बिजुली आपूर्ति छैन । यसले गर्दा डिजिटल पूर्वाधार स्थापना गर्न, त्यसलाई सञ्चालन गर्न र दिगो रूपमा प्रयोगमा ल्याउन चुनौती छ ।

* आर्थिक सीमा : डिजिटल उपकरण, इन्टरनेट सेवा र बिजुलीको लागत अति कम आय भएका व्यक्ति र समुदायका लागि समस्या हुन सक्छ । यो वर्गका जनतालाई स्मार्टफोन, कम्प्युटर र इन्टरनेट आदिको खर्च धान्न गाह्रो छ । त्यसैले डिजिटल स्रोत सबैको पहुँचमा पुर्‍याउनु नेपालका लागि गम्भीर चुनौती हो ।

* डिजिटल साक्षरता र सिपको खाडल : डिजिटल साक्षरता र सूचना प्रिवधि सम्बन्धी सिप सबै नागरिकमा पुर्‍याउन नसकेसम्म डिजिटल डिभाइडको खाडल पुर्न सकिन्न । तर विडम्बना, धेरै नेपालीहरू, विशेष गरी ग्रामीण क्षेत्रका जनतामा, डिजिटल प्लेटफर्ममा विचरण गर्न, प्रभावकारी रूपमा डिजिटल उपकरणहरू प्रयोग गर्न र अनलाइन सूचनाको मूल्याङ्कन गर्न चाहिने सिपको अभाव छ ।

* भाषा र सामग्री विविधता : नेपाल भाषिक रूपमा विविधतापूर्ण छ । स्थानीय भाषाहरूमा डिजिटल सामग्री र सेवाहरूको उपलब्धता सीमित छ । अङ्ग्रेजी वा नेपाली भाषा राम्ररी नजान्ने मानिसहरूले उपलब्ध डिजिटल स्रोतबाट चाहिने जति फाइदा लिन सकिराखेका छैनन् ।

* गोपनीयता र साइबर सुरक्षा : डिजिटल कनेक्टिभिटी विस्तार हुँदै जाँदा साइबर सुरक्षा खतरा, गोपनीयता भङ्ग हुने, अनलाइन ठगी जस्ता जोखिमहरू बढ्दै जान्छन् । व्यक्तिको डिजिटल सुरक्षा र गोपनीयता सुनिश्चित गर्नु आवश्यक छ ।

नेपालमा डिजिटल डिभाइडकाे खाडल पुर्ने उपायहरू

नेपालमा डिजिटल डिभाइड पुर्न सजिलो छैन । अनेक चुनौतीहरू हुँदा हुँदै पनि यो समस्या समाधान गर्नै नसकिने चाहिँ हैन । के-के गर्नु पर्ला त यो विकराल डिजिटल डिभाइडको खाडल पुर्न ? समाधानका उपाय यस्ता हुन सक्छन् :

* पूर्वाधार विकास : सूचना प्रविधि पूर्वाधार विस्तारमा लगानी गर्ने । यस्तो लगानी विशेष गरी ग्रामीण र दुर्गम क्षेत्रहरूमा गर्ने । भरपर्दो बिजुली आपूर्ति, ब्रोडब्यान्ड इन्टरनेट सुविधा र सेवा नपुगेका क्षेत्रहरूमा पुग्न स्याटेलाइट इन्टरनेट जस्ता प्रविधिहरू प्रयोग गर्न सकिन्छ ।

* सार्वजनिक-निजी साझेदारी : सरकार, निजी क्षेत्र र गैरसरकारी संस्थाबीचको सहकार्यलाई प्रोत्साहन गर्ने । सार्वजनिक-निजी साझेदारीले डिजिटल डिभाइड पुर्न स्रोत, विशेषज्ञता र प्रविधि परिचालन गर्न मद्दत गर्न सक्छ । दूरसञ्चार कम्पनी, इन्टरनेट सेवा प्रदायक, र प्रविधि फर्मलाई यस्तो सहकार्यमा संलग्न गर्ने ।

* मोबाइल प्रविधि : मोबाइल प्रविधिको प्रयोग जनताले व्यापक रूपमा गर्ने वातावरण निर्माण गर्न मोबाइल फोन लगायत अन्य डिजिटल सेवाको विस्तार गर्ने । मोबाइल नेटवर्कहरूको कभरेज विस्तार गर्ने र शैक्षिक सामग्री, स्वास्थ्य सेवा,र ई-बैँकिङ सेवाहरू व्यापक पार्ने ।

* डिजिटल साक्षरता कार्यक्रम : मूल रूपमा ग्रामीण र सीमान्तकृत समुदायलाई केन्द्रमा राखेर, सबै उमेरका मानिसहरूलाई लक्षित गर्दै व्यापक डिजिटल साक्षरता कार्यक्रमहरू सञ्चालन गर्ने । यस्ता कार्यक्रममा आधारभूत कम्प्युटर सिप, इन्टरनेट प्रयोग, र अनलाइन सुरक्षाबारे प्रशिक्षण दिने ।

* लागत घटाउने : डिजिटल उपकरण, इन्टरनेट जडान र बिजुलीको लागत घटाउने उपायहरू अपनाउने । अनुदान दिने, कम लागतका इन्टरनेट प्याकेजलाई प्रवर्द्धन गर्ने, आयात करमा छुट दिने, स्थानीय उत्पादनलाई प्रोत्साहन दिने जस्ता उपयाहरू अपनाएर डिजिटल उपकरण र प्रयोगलाई सस्तो बनाउन सकिन्छ ।

* स्थानीय भाषामा सामग्री उत्पादन : स्थानीय भाषाहरूमा डिजिटल सामग्री उत्पादनलाई प्रोत्साहन दिने । यसबाट विविध स्थानीय भाषा बोल्ने समुदायमा डिजिटल प्रविधिको पहुँच बढाउन थप मद्दत पुग्छ ।

* साइबर सुरक्षाका उपायहरू : साइबर सुरक्षा पूर्वाधार बलियो बनाउने र अनलाइन जोखिम र यसबारे जनतालाई चेतनशील बनाउन विभिन्न प्रकारका सचेतना अभियान सञ्चालन गर्ने ।

* जनसहभागिता र स्वामित्व : डिजिटल प्रविधिका क्षेत्रमा योजना, कार्यान्वयन र मर्मत आदि कार्यमा स्थानीय समुदायलाई सहभागी गराउने । समुदायमा आधारित संस्थाहरूलाई डिजिटल परियोजनाहरूको स्वामित्व लिन र सक्रिय सहभागिता जनाउने वातावरण निर्माण गर्ने । यसो गर्दा योजना र कार्यक्रमहरू दिगो बन्न सक्छन् ।

* नीति र नियामक सुधार : डिजिटल डिभाइड पूर्ण विद्यमान नीति र नियमहरूको समीक्षा गरी अद्यावधिक गर्ने । निजी क्षेत्रको लगानी प्रोत्साहन गर्ने, इजाजतपत्र प्रक्रियालाई सरल बनाउने, प्रतिस्पर्धालाई प्रवर्द्धन गर्ने र डिजिटल समावेसीकरण र पहुँचलाई प्रमुख राष्ट्रिय उद्देश्यका रूपमा प्राथमिकता दिने नीतिहरू अपनाउने ।

यी उपायहरू अपनाएर तिनको प्रभावकारी कार्यान्वयन गरेको खण्डमा नेपालले डिजिटल डिभाइडलाई कम गर्न, नागरिकलाई सशक्तीकरण गर्न र सामाजिक-आर्थिक विकास प्रवर्द्धन गर्ने दिशामा उल्लेखनीय प्रगति गर्न सक्छ ।

स्रोत : https://data.worldbank.org/indicator/EG.ELC. ACCS.ZS?locations=NP

लेखकलाई [email protected]  मा सम्पर्क गर्न सकिन्छ

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अविनाश गजुरेल

स्नातकका विद्यार्थी अविनाश गजुरेल थ्रीडी एनिमेसनमा रूचि राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया