बजेट संशोधन नभइकन पास हुन्छ : अर्थमन्त्री

 असार ११, २०८० सोमबार १७:४०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अर्थमन्त्री डा. प्रकाशशरण महतले आउँदाे आर्थिक वर्ष २०८०/०८१ को बजेट संशोधन नभइकन पास हुने दाबी गर्नुभएको छ ।

सोमवार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा अर्थमन्त्रीले बजेट असार १३ गते कुनै पनि संशोधनविना पास हुने बताउनुभयो । उहाँले आफूले बजेट ल्याउँदा सीमित स्राेत साधनलाई मध्यनजर गरेर ल्याएको र बजेट आजको वास्तविकतामा आएको दाबी गर्नुभयाे । बजेटमा समानता भएन भन्ने सांसदहरूको भनाइ आफूले मागेअनुसारको नआएको भन्नेमा मात्रै सीमित रहेको उहाँकाे भनाइ थियाे । 

उहाँले भन्नुभयो, ‘बजेट पास हुन्छ त्यसमा दुई मत नै छैन । थोरै स्राेत साधन तर आवश्यकता धेरै यो आजको वास्तविकता हो । आजको सम्भावित स्राेत साधनलाई मध्यनजर गरेर नै बजेट ल्याएको हो । बजेटको सीमाभित्र रहेर सम्बोधन गर्ने ठाउँ सम्बोधन हुनेछन् । आएको बजेट नै पास हुन्छ, संशोधन हुँदैन ।’

मन्त्री महतले बजेट ल्याउनुअघि नै धेरै छलफल गरेर ल्याइएको भन्दै विधिभित्र रहेर पास हुने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया