रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै - टोखा नगरपालिकाले पालिकालाई शैक्षिक हबका रुपमा विकास गर्ने योजना अघि सारेको छ । आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा नगरपालिकाभित्रै स्नातकतहसम्मको पढाइ ई–लर्निङ्गबाट हुने विषय उल्लेख छ ।
पालिकाले आर्थिक, सामाजिक, पूर्वाधार विकासका साथै वातावरण तथा विपद् व्यवस्थापन र संस्थागत विकास सेवा प्रवाह तथा सुशासनलाई प्राथमिकता दिएको छ । शिक्षा क्षेत्रका लागि मात्रै १६ वटा योजना समेटिएका छन् ।
‘विद्यालय जाने उमेर समूहका बालिकाको पहिचान गरौँ : विद्यार्थी भर्ना अभियानलाई सफल पारौँ’ भन्ने मान्यताका आधारमा बालबालिकालाई विद्यालयमा ल्याउने, सिकाउने र टिकाउने कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।
नगरपालिकाले ‘मेयर दिवा खाजा : टोखाको वाचा’ भन्ने नारालाई पूर्णता दिन सामुदायिक विद्यालयका कक्षा ७ देखि १० सम्म अध्ययन गर्ने अध्ययनरत विद्यार्थीलाई २० रुपैयाँका दरले रकम उपलब्ध गराउने भएको छ ।
विद्यालय शिक्षाको गुणस्तर विकास गर्न सामुदायिक, निजी र सहकार्यमा सञ्चालित विद्यालयलाई (थ्री पी मोडेल) मा विद्यालयको नियमन गर्ने उल्लेख छ । ‘सबै उमेरसमूहको इच्छा : वैकल्पिक तथा अनौपचारिक शिक्षा’ भन्ने नाराका साथ नगरपालिकाभित्र रहेका वैकल्पिक विद्यालय, सामुदायिक सिकाइ केन्द्र र सामुदायिक पुस्तकालयको क्षमता विकास र विस्तार गर्ने र प्रभावकारी व्यवस्थापन गर्ने कार्यक्रम छ ।
यस्तै ‘टोखाको पराक्रम : स्थानीय पाठ्यक्रम’ भन्ने मान्यताका साथ वडानम्बर २ र ३ मा मातृभाषा (नेपाल भाषा) को पाठ्यक्रम लागू गर्ने, ‘सेवामुखी भावना : हामी सबैको चाहना’ भन्ने नाराका साथ विद्यार्थीहरुलाई आत्मनिर्भर र सेवामुखी बन्न प्रेरित गर्ने कार्यक्रम समेटिएको छ ।
‘स्वस्थ्य जीवन : त्यागौँ दुर्व्यसन’, ‘टोखाको शैक्षिक रफ्तार: ईलर्निङ सेवाको विस्तार’, सम्पूर्ण विद्यालयमा महिनाको एक पटक बुक फ्री डे कार्यक्रम, नगरभित्रका सामुदायिक विद्यालयहरुमा स्नातक तह अध्यापनको व्यवस्था मिलाउने विषय पनि समेटिएका छन् ।
यसैगरी योग ध्यान विषयलाई विद्यालय तहमा लागू गराउँदै लैजाने, नगरभित्रका सबै संस्थागत विद्यालयमा गरिब, जेहेनदार तथा लक्षित वर्गका विद्यार्थीहरुलाई निःशुल्क पठनपाठन गराउने, विद्यालयमा अध्ययनरत छात्राहरुका लागि निःशुल्क सेनिटरी प्याड र भेण्डिङ मेसिन साथै डिस्पोजल मेसिन उपलब्ध गराउने र उपमेयरसँग बालबालिका कार्यक्रम सञ्चालन गरिने जस्ता कार्यक्रम पनि उल्लेख छन् ।
टोखा नगरपालिकाले पशु, स्वास्थ्य, पर्यटन, जेष्ठ नागरिक, सांस्कृतिक प्राचिन महत्त्वका घर, भवन र सार्वजनिक ठाउँको संरक्षण सम्बन्धी कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ ।
यस्तै, खानेपानी, नगरसरसफाइ, निजी क्षेत्रबाट सञ्चालित सङ्घ संस्थाहरु सञ्चालनलाई प्रभावकारी अनुगमन गर्ने र गुणस्तरीय बनाउने, नगरपालिकाको कर्मचारी र जनप्रतिनिधिको सामूहिक दुर्घटना बीमाको व्यवस्था गर्ने, नयाँ ज्ञान लिनका लागि नगरसेवक कर्मचारीलाई वर्षमा १० दिन पर्यटन काजमा पठाउने व्यवस्था पनि समेटिएको छ ।
यस्तै, खरिद विरुद्ध शून्य सहनशीलताको नीतिलाई कडाइका साथ लागू गर्न टुक्रे खरिदलाई अन्त्य गरी बढीभन्दा बढी प्रतिस्पर्धा कायम हुने गरी बोलपत्रको माध्यमबाट खरिद गर्ने कार्यक्रम पनि समेटिएका छन् । भएका कार्यक्रम र नीतिलाई इमानदारिताका साथ पालना गर्दै सबैभन्दा राम्रो कार्यक्रम गर्ने वडालाई पुरस्कृत गर्दै वडा सम्मान कार्यक्रम पनि समेटिएको छ ।
टोखा नगरपालिकामा ११ वटा वडा छन् । नगरपालिकाले यी कार्यक्रम सम्पन्न गर्न आउँदाे आर्थिक वर्षका लागि एक अर्ब ८८ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले विगतका वर्षमा भएका कमीकमजोरीलाई सुधार गर्दै अघि बढ्ने बताउनुभयो ।आउँदो असार १४ गते आर्थिक विद्येयक र विनियोजित विद्येयकका विषयमा छलफल गर्ने कार्यक्रम रहेको नगरपालिकाको सूचना प्रविधि शाखाका अधिकृत वसन्त पाठकले जानकारी दिनु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।