३० वर्षभन्दा धेरै जेल सजाय भोगेका भुटानी राजनीतिक बन्दी मगरल...
असोज १२, २०८० शुक्रबार
देशमा राजमार्गको संख्या ८० रहेको छ । यसभन्दा अगाडि पनि हामीले बर्खाको बेलामा राजमार्ग अवरुद्ध भएर धेरै दुःख पाएका छौँ । त्यो अनुभवलाई लिएर यसपटक पनि हामीले सकेसम्म राजमार्ग अवरुद्ध नहोस् र भइहाले पनि सकेसम्म चाँडै त्यसलाई खुलाउन सकियोस भनेर तयारी गरेका छौँ ।
सबै ८० वटै राजमार्गमा बर्खाको बेलमा गाडी सञ्चालन हुने अवस्था भने छैन । जहाँ नियमित गाडी चलिरहेका छन् त्यस्तो राजमार्ग बर्खाको बेलामा अवरुद्ध नहोस् र अवरुद्ध भइहालेका खण्डमा समयमै खुलाउन सकियोस भनेर हाम्रो डिभिजन कार्यालयहरुलाई तयारीका साथ राखेका छौँ ।
यसका लागि हाम्रा आठ वटा ‘हेभी इक्विप्मेन्ट’ डिभिजन काठमाण्डौ, इटहरी, जनकपुर, हेटौँडा, पोखरा, बुटवल, नेपालगञ्ज, गोदावरी कैलाली र छ वटा यान्त्रिक कार्यालय फिदिम, खुर्कोट, नुवाकोट, जुम्ला, डोटीको वुडर, डुम्रे तयारी अवस्थामा छन् । यी १४ वटा कार्यालयहरुले ‘इक्विप्मेन्ट’को व्यवस्था गर्छन् । यसमा हाम्रा विभिन्न किसिमका गरी दुई सय ४२ वटा ‘इक्विप्मेन्ट’ हुन्छन् । जसमा क्रेन, लोडर, रोलर, डोजर, ट्रक, ट्रिपर, वाटर स्पेयर आदि रहेका हुन्छन् ।
गएको वर्ष पनि पहिरो आएर राजमार्ग अवरुद्ध भएका ठाउँको नजिकमा हामीले ‘इक्विप्मेन्ट’हरु राखेका छौँ । र हाम्रा चार वटा सङ्घीय सडक सुपरीवेक्षण कार्यालयको मागको आधारमा उनीहरुको स्वीकृति लिएर ‘इक्विप्मेन्ट’ परिचालन गरेर छिटोभन्दा छिटो राजमार्गहरु खुलाउने व्यवस्था गरेका छौँ।
त्यस्तै कथंकदाचित पुलहरु बगायो भने पनि त्यसको हामीले वैकल्पिक व्यवस्था गरेका छौँ । पुल बगाएको ठाउँमा हामीले छिटोभन्दा छिटो बेलिब्रीज लगाउने व्यवस्था पनि मिलाएका छौँ । बेलिब्रीज स्थापना गर्नका लागि अहिले हामीले बेलिब्रीज पनि मौज्दात गरेर राखेका छौँ । कतैकहीँ पुल क्षति भएर आवागमनमा बाधा पुगेका खण्डमा हामी चाँडोभन्दा चाँडो बेलिब्रीज लगाउँछौँ ।
विशेषगरी धेरै अवरुद्ध हुने सडकखण्डमा नागढुंगा–मुग्लिन तथा मुग्लिन–नारायणघाट हो । त्यस्तै मुग्लिन–पोखरा तथा मेची राजमार्ग पनि बर्खामा धेरै अवरोध हुनेमा पर्छ । त्यस्तै पूर्व–पश्चिम राजमार्गको पहाडी क्षेत्रहरुमा धेरै अवरुद्ध भएको देखिन्छ । त्यस्ता ठाउँहरुलाई हामीले विशेष ध्यानमा राखेका छौँ । हामीले राजमार्ग अवरोध भएका बेला यात्रुहरुलाई सूचना दिनका लागि वेबसाइटमा राख्ने गरेका छौँ । वेबसाइटमा कहिलेदेखि बन्द भएको हो, कहिलेसम्म खुल्न सक्छ, कति घण्टा जति अवरुद्ध हुनसक्छ भनेर सबै सूचना राख्ने गरेका छौँ ।
यसभन्दा अगाडि बाढीपहिरोले राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु बाटोमै दुई/तीन दिन अलपत्र परेको समाचार पनि आएको थियो । त्यो कुरालाई मध्यनजर गरी हामीले बाढीपहिरोले बाटो बिगारेको ठाउँसम्म पुग्नलाई लाग्ने समय बाहेक आधा घण्टादेखि तीन/चार घण्टासम्म बाटो खुलाउने गरी तयारी गरेका छौँ ।
तर, बाढीपहिरोको अवस्था कस्तो छ त्यो हेरेर मात्र कति समय लाग्छ भन्न सकिन्छ । तर, हामी भने सबै ‘इक्विप्मेन्ट’ र जनशक्ति लिएरै बसेका कारण सकभर आधा घण्टादेखि एक घण्टासम्ममा बाटो खुलाउने हाम्रो लक्ष्य छ । तर, प्राकृतिक विपद् भनेको हामीले भनेको, सोचेको जस्तो नहुने कारणले हामीले भने जस्तो हुँदैन । तर, पनि हामी यात्रुहरुलाई चाँडो बाटो खुलाएर गन्तव्यमा पुर्याउन लागि परिरहन्छौँ ।
यदि बाटो खुलाउन हाम्रो ‘इक्विप्मेन्ट’ले पुगेन भने त्यहाँ रहेका निजी ‘इक्विप्मेन्ट’हरु भाडामा लिएर पनि हामी सकेभन्दा चाँडो बाटो खुलाउने प्रयास गर्छौँ । हामी हाम्रो जनशक्तिलाई पूर्ण परिचालन गरेर काम अगाडि बढाउँछौँ । यस्तो भयो र उस्तो भन्ने नै हुँदैन । तर, पनि हामीले के बिर्सनु हुँदैन भने यो भनेको प्राकृतिक विपद् । यो कसरी आउँछ र के हुन्छ भन्ने थाहा हुँदैन । यसको प्रकृति अनुसार हामी बाटो भने चाँडो खुलाउने प्रयत्नमा जहिले पनि भइरहन्छौँ ।
विशेषगरी सिद्धार्थ राजमार्गको सिद्धबाबादेखि पाल्पा खण्डमा पोहोर पनि धेरै नै पहिरो आएको थियो । त्यसमा हामी विशेष सर्तक छौँ । मेची राजमार्गको विभिन्न खण्डमा पनि यो बर्सेनी हुने गर्छ । यस वर्ष पनि बाढीले दुःख दिइरहेको छ । नारायणघाटमा सडक बिस्तार भइरहेका कारण यहीँ भन्दा पनि त्यहाँ धेरै ठाउँमा बाढीपहिरोका कारण सडक अवरुद्ध हुनसक्छ । त्यहाँ चाहिँ हामीले निर्माण व्यवसायीकै ‘इक्विप्मेन्ट’ तयारी अवस्थामा राखेका छौँ
बेलिब्रीजको सन्दर्भमा भन्नुपर्दा सबै तयारी हुन्छ । तर, पनि त्यसको आधारस्तम्भहरु तयार गर्नुपर्ने हुँदा आजको भोलि नै त बेलिब्रीज पनि हाल्न सकिँदैन । तर, पनि यो पुलको विकल्प भएको हुँदा छिटोभन्दा छिटो तयार हुन्छ । आधारस्तम्भ तयार भएको ठाउँमा १० देखि १५ दिनमा बेलिब्रीज तयार हुन्छ । बेलिब्रीजका सामानहरु पहिले नै तयार हुन्छन् । त्यही तयार भएका सामानहरु लगेर जोड्ने मात्र हुँदा १० देखि १५ दिनमा तयार गर्न सकिन्छ ।
हामीले बाटो अवरुद्ध हुने सम्भावित क्षेत्र अर्थात् ‘ल्याण्डस्लाइड प्रोन एरिया’को नजिकमा डिभिजनका इन्जिनियरहरु हुन्छन् । उनीहरुले खबर गर्ने बित्तिकै ‘इक्विप्मेन्ट’ जाने व्यवस्था हामीले मिलाएका छौँ । अब सडक अवरुद्ध हुँदा प्रदेश तथा अन्य सडकमा पनि हामीले सहयोग नगर्ने भन्ने कुरा त हुँदैन । तर, हाम्रो मुख्य काम तथा ध्यान भनेको राजमार्ग खुलाउने नै हो । संकटका बेला जसलाई पनि सहयोग गर्नुपर्छ । तर, हाम्रो प्राथमिकता भनेको राजमार्ग नै हो।
कहिलेकाहीँ बाढीपहिरोका कारण अवरुद्ध सडक खोल्न नसकेर वैकल्पिक बाटोको प्रयोग गर्नुपर्ने पनि हुनसक्छ । अब प्राकृतिक प्रकोप भएका कारण के हुन्छ, कसरी र कस्तो हुन्छ भन्न सकिन्न । भइरहेको सडक खोल्न नसकिने भयो भने वैकल्पिक बाटो पनि खोल्ने गरेका छौँ । तर, यो सबै अवस्था हेरेर गर्ने हो । यस्तोमा अस्थायी ट्रयाक खोल्ने हो । तर, हाम्रो प्राथमिकता भनेको अवरुद्ध राजमार्ग खोल्ने नै हो । वैकल्पिक ट्रयाक खोल्ने ठाउँ छ भने वैकल्पिक ट्रयाक खोल्ने हो । तर, हामी यात्रुहरुलाई सुसूचित गरेर यति समयपछि मुख्य राजमार्ग खोल्छौँ र अहिलेलाई वैकल्पिक मार्ग प्रयोग गर्नुस् भनेर अनुरोध गरेरै काम गर्छौँ ।
अहिले कतिपयले देशको आर्थिक संकटलाई लिएर कतै यो कुरो बाढीपहिरोले अवरुद्ध राजमार्ग खोल्न अथवा बनाउने कुरामा पनि यसले प्रभाव पार्छ कि भन्ने कुरा पनि गर्ने गरेका छन् । तर, अवस्था त्यस्तो छैन र साँच्चै त्यस्तो बजेटको समस्या अइपरेका खण्डमा पनि हामीलाई तत्कालका लागि जहाँ जुनसुकै बजेटबाट कटौती गरेर भए पनि उद्धारको काम गर्छौँ । सकेसम्म मौजुदा बजेटको प्रयोग गर्छौँ । नभए पनि अर्थ मन्त्रालयसँग माग्छौँ । तर, यसकै लागि बजेटको समस्या भने छैन ।
हाम्रो मुख्यतया समस्या आउने भनेको पूवै पश्चिम राजमार्गको दाउन्ने खण्ड, सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड, पृथ्वी राजमार्गको मुग्लिन पोखरा खण्ड, नागढुंगा–नौबिसे–मुग्लिन खण्ड, मेची राजमार्गका केही खण्ड त्यस्तै कोशी राजमार्गका केही खण्डमा पनि समस्या आउने गरेको छ । तराईमा भन्दा पनि पहाडका राजमार्गमा समस्या आउने गरेको छ । सानातिना पहिरो त हामी तुरुन्तै नै हटाउँछौँ । ठूलो ठूलो पहिरोमा भने अलि समय लाग्न सक्ला तर, हामी ढिलो हुने गरी काम गर्दैनौँ ।
हामीले पहाडी भिरालो सडकमा पहिरो नजाओस भनेर ‘बायो इन्जिनियरिङ’को काम पनि गर्छौँ । त्यो भनेको सानासाना रुख बिरुवा र बुट्यानहरु रोप्ने काम गर्छौँ । अलि खर्चिलो प्रविधि त छ । विदेशमा हामीले यस्तो प्रविधि अपनाएको पनि देखेका छौँ । तर, हामीसँग साधन र श्रोतको अभावका कारण त्यसो गर्न सक्दैनौँ । हामीले हामीसँग उपलब्ध सस्तो प्रविधि के हुनसक्छ भनेर पहिले डिजाइन गर्दा नै त्यसको प्रयोग गर्ने गरेका हुन्छौँ । हाम्रो अध्ययन, अनुभवका आधारमा र कहिलेकाहीँ अध्ययन समितिले दिएको सुझावका आधारमा पनि काम गर्ने गर्छौँ ।
पहिरो रोक्नका लागि हामी पहिरो कस्तो खालको छ, माटोको प्रकृति कस्तो खालको छ त्यो सबै हेरेर ‘बायो इन्जिनियरिङ’को ‘म्यानुअल’ नै छ । यस्तोमा ठूला रुखहरु नभएर साना बुट्यानहरु जसको जरा अलि गहिरोसँग जान्छ त्यस्ता चिजहरुको हामीले प्रयोग गर्छौँ । जस्तै हामीले मदन भण्डारी राजमार्गमा भेटिभर घाँसको धेरै प्रयोग गरेका छौँ । अहिले फास्ट ट्रयाकमा पनि भेटिभरको प्रयोग भएको छ । भेटिभरको जरा तलसम्म जाने र वरपरको माटोलाई एकदम कडासँग पक्रेर राख्ने हुनाले हामीले भेटिभरको प्रयोग गरेका हौँ । त्यसकारण यो प्रभावकारी पनि देखिएको छ । ढुंगा भएको ठाउँभन्दा पनि माटो र बालुवा मिसिएको माटोमा यसले राम्रो काम गरेको पाइएको छ ।
हामीले राजमार्ग अवरुद्ध नहोस् भनेर मुख्यतया ‘इक्विप्मेन्ट’, जनशक्ति र ‘बेलिब्रीज’ एकदमै तयारी अवस्थामा राखेका छौँ । बाढीपहिरोका कारण ‘बेलिब्रीज’ अन्य स्थानीय सडक अवरुद्ध हुँदा पनि माग हुने गरेको छ । तर, हाम्रो प्राथमिकता भनेको राजमार्ग अवरुद्ध नहोस् भन्ने भएकोले हाम्रो पहिलो प्राथमिकता भनेको जसरी भए पनि अवरुद्ध राजमार्ग चाँडोभन्दा चाँडो खुलाउने नै हो ।
(पोखरेलसँगको कुराकानीमा आधारित )
पाेखरेल सडक विभागका उपमहादिर्नेशक तथा प्रवक्ता हुनुहुन्छ ।