काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाडाैं - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको निलम्बन फुकुवाका लागि मार्ग प्रशस्त गर्न नेपाल क्रिकेट संघले राष्ट्रिय खेलकुद परिषदलाई विपक्षी बनाएर दायर गरेको मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।
नेपाल क्रिकेट संघ केन्द्रीय कार्यसमितिको शनिबार काठमाडौंमा बसेको बैठकले बिक्रम सम्वत २०७२ पुस २८ गते राखेपलाई विपक्षी बनाउँदै सर्बोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने सैद्धान्तिक निर्णय गरेको महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिनुभयाे ।
राष्ट्रिय खेलकुद परिषदले निर्वाचित क्यानलाई मान्यता नदिई रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति गठन गरेसँगै क्यानका पदाधिकारीले सर्वाेच्चमा मुद्दा दायर गरेका थिए । त्यसको चार महिनापछि २०७३ वैशाखमा क्रिकेटमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले नेपाली क्रिकेटलाई निलम्बनको निर्णय गरेको थियो ।
निर्वाचित क्यानले आईसीसीको निर्देशनअनुसार मुद्दा फिर्ता लिने निर्णय गरेको हो । गएकाे महिना आईसीसीले निर्वाचित क्यान र राखेप दुवैलाई पत्र पठाएर कानूनी प्रक्रियाको पछिल्लो अपडेट मागेको थियो भने क्यानलाई मुद्दा फिर्ता लिन तथा राखेपलाई तदर्थ समिति औपचारिक रुपमा विघटन गर्न निर्देशन दिएको थियो ।
यसैबीच निर्वाचित क्यानले मुद्दा फिर्तासँगै क्यान निलम्बन फुकुवाका लागि सबै पक्षसँग छलफल तथा समन्वयका लागि पाँच सदस्यीय अधिकारसम्पन्न समिति पनि बनाएको छ । समितिमा अध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेल, उपाध्यक्षहरु दिवाकर घले, सैलेश चौधरी र सञ्जयराज सिंह छन् ।
क्यानको विधान हुबहु पारित भएलगत्तै निलम्बन फुकुवा हुने आश्वासन पाए पनि त्यसो नभएको र अहिले मुद्दा फिर्तामा कुरा अड्किएको जस्तो बनाइएको महासचिव प्याकुरेलले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘हामीले मुद्दा फिर्ता लिएपछि निलम्बन फुकुवा पनि निश्चित हुनुपर्यो । सबै पक्षसँग छलफल र समन्वय गर्नका लागि समिति बनाएका हौं ।’
निर्वाचित क्यानले सर्वाेच्चको मुद्दा फिर्ता लिएपछि पछिल्लो साढे २ वर्षदेखि निलम्बनमा रहेको नेपाली क्रिकेट फुकुवाको सम्भावना प्रवल बनेको छ । घरेलु विवाद समाधान भएपछि आईसीसीले उपयुक्त मौकामा निलम्बन फुकुवा गर्ने बताउँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।