बीआरआईमा चीनको चासो छ : गृहमन्त्री श्रेष्ठ

 असार १७, २०८० आइतबार १३:४२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पाँचदिने चीनको भ्रमण सकेर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कनुभएको छ ।

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ पाँचदिने चीन भ्रमण सकेर आइतवार स्वदेश फर्कनुभएको हो । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष पत्रकार सम्मेलनमा बोल्दै चीन भ्रमण फलदायी भएको बताउनु भयो ।

उहाँले भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्रीबीच द्विपक्षीय भेटवार्तामा दुई देशबीचको विकास, व्यापार र लगानीका सम्भावनाको विषयमा सकारात्मक छलफल भएको बताउनु भयो ।

उहाँले चीन भ्रमणका क्रममा दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’ लगायत विषयमा छलफल भएको र चीन सरकात्मक रहेको बताउनु भयो । चीनद्वारा नेपालमा विगतमा हुँदै आएको सहयोग बढाउन आग्रह गरिएको पनि उहाँले बताउनु भयो ।

उहाँले व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमानाकामा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको बताउनु भयो । चीन सरकारसँग सम्झौता भएको बीआरआईको कार्यान्वयनको विषयमा चीन सरकारले चासो राखेको बताउनु भयो ।

उहाँले नेपाल सरकारले बीआरआईमा २०७० मा नै सम्झौता गरेकाले कार्यन्वयनको मोडालिटी बनाएर कार्यान्वयन प्रक्रिया टुङ्गो लगाउने बताउनु भयो । उहाँले नेपाल चीनसँग भएको बीआरआई सम्झौताले लाभान्वित हुने विश्वास लिएको बताउनु भयो । 

उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान प्रान्तीय लगानी समूहसँग छलफल गरी नेपालमा लगानी वृद्धि गर्न आग्रह गरिएको बताउनु भयो । उहाँले सिचुवान एयरलाइन्सका पदाधिकारीसँगको छलफलमा छेन्दु–काठमाण्डाै रूटमा हवाई उडान वृद्धि गर्न तथा छेन्दुबाट पोखरा र भैरहवा विमानस्थलमा कमर्सियल उडान शुरू गर्न आग्रह गरेको बताउनु भयो ।

उहाँले भैरहवा भन्दा पनि सिचुवान एयरलाइन्स पोखरामा उडान भर्न तयार रहेको देखिएको बताउनु भयो । उपप्रधानमन्त्री श्रेष्ठले जिपिङ जलविद्युत् केन्द्र तथा दुजियाङ सिँचाइ प्रणालीको अवलोकन गरेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘चीन भ्रमणमा हामीले चीन र नेपालबीचको असल मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भयो । नेपाल र चीन सिचुवानबीचमा आपसी सम्बन्धलाई सुधार गर्नुको अतिरिक्त विकास, व्यापार र लगानीका क्षेत्रमा रहेका सम्भावनाको बारेमा भएका छलफलहरु सकारात्मक भएका छन् । चीनले नेपालको सार्वभौम सत्ता भौगोलिक अखण्डता र स्वाधिनताका लागि सधैँ सम्मान गर्दै आएको छ । नेपालको विकास प्रक्रियामा पनि सधैँ साझेदारको रुपमा सकारात्मक भूमिका खेल्दै आएको छ । नेपालमा सङ्कट पर्दा भूकम्प र कोभिड महामारीमा गरेको सहयोगको हार्दिक प्रकट गरेका छौँ। नेपालले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर अघि बढी रहेको अवस्थामा विगतमा गर्दै आएको आर्थिक सहयोगलाई थप वृद्धि गर्नको लागि विशेष अनुरोध गरेका छाैँ। साथै बिआरआईको कार्यान्वयनका लागि दुई पक्षबीचमा छलफल भइरहेको छ । अन्तिम रुप दिइसकेपछि बिआरआई प्रोजेक्टको मोडालिटिको बारेमा टुङ्गो लगाउने छौँ । यो प्रोजेक्टबाट पनि हामी लाभान्वित हुने अपेक्षा गरेका छौँ।’

उपप्रधानमन्त्री श्रेष्ठ सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत बुधवार चीन भ्रमणमा जानुभएको थियो । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया