लुम्बिनीले विराटनगरलाई दियाे १ सय ९२ रनकाे लक्ष्य
मंसिर १९, २०८१ बुधबार
काठमाडाैं – रामेछापको रामेछाप नगरपालिका ८ लामा टोलकी रमिता तामाङका श्रीमान् बहराइन गएको दुई वर्ष भन्दा धेरै भयो । दुई वर्षमा दुई लाख रुपैयाँ पठाउनुभयो ।
त्यो पैसा छोराछोरी पढाउँदा र घर खर्च चलाउँदा सक्कियो । एकातिर घरका काम धन्दा एक्लै गर्नुपर्दाको धपेडी अनि अर्कोतिर खर्चले ल्याउने समस्या । घर चलाउन अप्ठ्यारो परिरहेका बेला श्रीमानले कम्पनी बन्द हुन लागेको खबर सुनाएपछि उहाँलाई तनाव झनै थपियो । ‘यस्तो बेलामा उताबाटै केही हुन्छ कि भन्ने आश थियो तर उहाँले त्यसो भनेपछि त के गर्ने के गर्ने सोच्नै सकिन’ रमिताले भन्नुभयो ।
रमिता र कमला तामाङको गाउँ एउटै । परिस्थिती पनि उस्तै छ दुवै जनाको । कमलाका श्रीमान् पनि विदेशमै हुनुहुन्छ । कमलाका श्रीमान तीन पटक भयो विदेश जाँदै आउँदै गरेको । कमाउन गएका श्रीमानले पैसा पठाइदिन्छन र घरको गर्जो टार्छु भन्ने सोच्नुहुन्थ्यो कमला ।
कमलाका श्रीमान् कतारमा ९ सय रियाल तलब हुने काममा जानुभएको थियो । खाना आफैं खानु परेपछि ८ सय रियाल बचाउनुहुन्थ्यो । त्यति बचाउँदा पनि तीन चार महिनामा कहिले ३० हजार त कहिले ४० हजार रुपैयाँ पठाउनुहुन्थ्यो घरमा ।
कमाइ नभएपछि कतारमा श्रीमानलाई तनाव हुन्थ्यो अनि यता कमलालाई । कमाइ नभएकै तनावमा कमलालाई थपियो हरहिसाब लेखेर नराख्दाको तनाव । तीन वर्ष अघि श्रीमान फर्किएको बेला यही थियो । अर्थात भूकम्प गएको बेला ।
बस्दै गरेको घर भत्किएपछि नयाँ बनाउनुपर्ने भयो । पैसा भएन । त्यतिबेला श्रीमानले कमलाई खै त मैले पठाएको पैसा ? मैले दुई वर्षमा ७/७ त पठाएको थिएँ होला त भन्नुभयो । कमलासँग देखाउने कुनै प्रमाण थिएन ।
श्रीमान दुई महिना बसेर फर्किनुभयो । त्यतिबेला सुरु भएको तनाव कमलाले नियन्त्रण गर्न सक्नुभएन । रिसको झोंकमा कमलाले छोराछोरीलाई पनि कुट्न थाल्नुभयो ।
तर अहिले रमिताको अवस्था पहिलाको जस्तो छ न त कमलाको नै । उहाँहरुले विदेश यहाँ भनेको जस्तो हुँदैन भन्ने बुझ्नुभएको छ । त्यो भन्दा पनि विदेश गएका श्रीमानले कहिले पैसा पठाइदेलान र घर खर्च टरौंला भनेर बस्यो भने तनाव हुने रहेछ भन्ने पनि बुझ्नुभएको छ ।
यो बुझाइले तनाव त कम भएको छ नै व्यवहार पनि फेरिएको छ । कमलाले छोराछोरीलाई कुट्नु त के ठूलो स्वरले गाली पनि गर्नुहुन्न । ‘अहिले त रिस उठ्यो भने त्यसलाई आफैं कन्ट्रोल गर्छु’ कसरी त ? कमला सुनाउनुहुन्छ ‘मैले चाहिँ उहाँलाई घर व्यवहार कसरी चल्छ थाहा छैन त्यही भएर त्यस्तो भन्नुभएको हो, त्यसैले पछि घर आएपछि व्यवहार चलाउन दिन्छु अनि आफैं थाहा पाइहाल्नुहुन्छ नी भन्ने सोचेर आफूलाई सुधारेको छु ।’
यस्तो तनाव र त्यसलाई व्यवस्थापन गर्ने तरिका रमिता र कमलाको मात्रै होइन, रामेछाप नगरपालिका ८ लामा टोलमा भएको सामुहिक मनोपरामर्शको कक्षामा सहभागीहरुका पनि साझा समस्या हुन् । समस्या साझा भए जस्तै समाधान गर्ने तरिका पनि उस्तै उस्तै छ उहाँहरुको । कारण, उनीहरु कक्षामा आफ्ना समस्या अरुलाई सुनाउछन् अनि समाधान खोज्छन् ।
तर परदेशीका श्रीमतीलाई घर खर्च चलाउने र श्रीमानलाई खुशी पार्ने कुराले मात्रै तनाव दिएको छैन । त्यो भन्दा तनाव त परिवार र गाउँलेले गर्ने कुराले दिन्छ । तर त्यो समस्या पनि समाधान नहुने खालको पक्कै छैन भन्ने उनीहरुले बुझेका छन् ।
‘भन्न त विदेशका मान्छेका श्रीमतीलाई ककल्ले (कस कसले) के भन्छन् भन्छन् नी’ कमलाले भन्नुभयो ‘ त्यसलाई पन्छाउने उपाय पनि हामीसँगै हुने रैछ । आफू गलत बाटो नहिँडेपछि किन अर्काका कुरा सुन्नु पर्यो अनि ती कुरा सुनेर रिसाउनु र डराउनु पर्यो’
परदेशीका परिवारलाई पर्ने यस्तो तनाव कम गर्न सिकाउने यस्तो कक्षा १५ दिनमा एक पटक हुन्छ । कक्षामा विदेश जानेका परिवारका सदस्य सहभागी हुन्छ । कक्षामा सहभागी कसैका श्रीमान विदेश छ त कसैका छोरा र भाई ।
भरेली तामाङका चाहिँ दुई जना भाइ विदेशमा छन् । भाइहरु घरमा हुँदा सबै काम दिदीभाइ मिलेर गर्नुहुन्थ्यो तर भाईहरु विदेश गएपछि अहिले उहाँ कामको चाप थपियो । त्यसैले उहाँ १६ वटा हात भए जस्तै गरेर काम गर्नुपर्छ भन्नुहुन्छ । यही कामको बोझले उहाँलाई तनाव हुन्थ्यो ।
तर त्यो तनाव लिने विषय होइन रैछ भन्ने कुरा भरेलीले कक्षामा सहभागी भएपछि सिक्नुभयो । ‘आखिरी जति तनाव लिए पनि काम त आफैं गर्नु पर्ने रैछ नी त भन्ने कुरा बुझेपछि अहिले पहिलाको जस्तो हुँदैन’ भरेलीले भन्नुभयो ।
यो कक्षामा सहभागी भएकामध्ये कसैको परिवारको सदस्य विदेश गएपछि तनाव लिएर बस्ने मात्रै छैनन् । तनाव नलिई अभिभावकको भूमिका खेल्नेहरु पनि छन् । त्यस्तै मध्येकी एक हुनुहुन्छ सुनमाया तामाङ । उहाँको दुई जना छोरा विदेशमा छन् । एक जना बुहारी नाति लिएर काठमाडौंमा बस्छिन् । अर्की बुहारी घरमै छिन् ।
गाउँकी स्वास्थ्य स्वयमसेविका भएकाले सुनमायाले गाउँ घुम्दा विदेश जानेहरुका सासु बुहारीको सम्बन्ध राम्रो नभएको देख्नुभएको छ । तर उहाँको परिवारमा यस्तो समस्या छैन । कसरी ? ‘विदेश गएको छ भन्दै उनीहरुलाई फोन गरे पिच्छे तनाव दिने कुरा गर्नुभएन ।
जस्तै पैसाका कुरा’ सुनमायाले भन्नुभयो ‘अनि बुहारीलाई पनि किन गाली गर्ने । यदी पैसा चाहियो भने मलाई पैसा चाहिएको छ देओ है भनेर मागे भइगो नी । उनीहरुसँग झर्कियो, गाली गर्यो भने त झगडा हुन्छ अनि तनाव भइहाल्छ नी’
उनीहरुका कुरा सुन्दा नै थाहा हुन्छ परदेशीका परिवारलाई तनावमा पार्ने कुरा एउटा मात्रै हुँदैन भन्नुुहुन्छ मनोसामाजिक परामर्शकर्ता मनिका सुनुवार । कतिको परिवारका सदस्यबिच विचार नमिल्दा तनाव भएको छ ।
अनि कतिलाई जिम्मेवारी बढ्दा । सुरुमा आफूलाई थाहा नहुने अनि रिस उठ्नु, दिकदार लाग्नुलाई सामान्य सम्झिँदा त्यसले ठूलो रुप लिन पनि सक्छ । तर त्यसलाई व्यवस्थापन गर्न नसकिने होइन । त्यसैले तनावमा पार्ने कारणलाई बुझाएर उनीहरुलाई त्यसै अनुसार परामर्श दिनु गरेको उहाँले बताउनुभयो ।
तनावमा पर्नेहरुले आफूलाई भइरहेको समस्या ठूलो होइन भन्ने बुझ्न सक्दैनन् । जसले गर्दा त्यो तनावले व्यक्तिसँगै परिवारलाई पनि असर पार्छ । तर त्यसलाई स्वयम व्यक्तिले नै नियन्त्रण गर्न सक्छ ।
‘सुरुमा उनीहरुले तनाव हुँदा के गर्छ भनेर बुझ्छौं अनि उपायहरु बताउँछौ’ तनाव कम गर्न व्यक्ति आफैंले गर्न सक्ने कामका बारेमा अर्की मनोसामाजिक परामर्शकर्ता शान्ता पुलामी भन्नुुहुन्छ ‘एक्लै मनमा कुरा खेलाएर बस्नु भन्दा रेडियो सुनेर, टिभी हेरेर मन अर्कोतिर मोड्नुपर्छ, आफूलाई लागेका कुरा मनमा गुम्स्याएर राख्नु हुँदैन आफ्नो मन मिल्ने साथीलाई सुनाउनुपर्छ । हामीले उहाँहरुलाई त्यही कुरा सिकाएर तनाव कम गर्न सघाइरहेका छौं ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।