सरकारले ‘ऋण लिएर घिउ खाएजस्तो’ गरेर बजेट विनियोजन गर्‍याे : खिमलाल देवकाेटा

 असार १९, २०८० मंगलबार १६:४:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रियसभाका सदस्य खिमलाल देवकोटाले देश ऋणको जालोमा फस्दै गएको टिप्पणी गर्नुभएको छ ।

मङ्गलवार राष्ट्रियसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकमाथिको सैद्धान्तिक छलफलमा सांसद देवकाेटाले यस्ताे टिप्पणी गर्नुभएकाे हाे । उहाँले आर्थिक सर्वेक्षणअनुसार देशमा २१ खर्ब रुपैयाँ ऋण तिर्न बाँकी रहनु देश ऋणको जालोमा फस्न लागेको सङ्केत भएको तर्कसमेत गर्नुभयाे । 

सांसद देवकाटाले सरकारले ‘ऋण लिएर घिउ खाएजस्तो’ गरेर बजेट विनियोजन गरेको बताउनुभयाे । उहाँले भन्नुभयो, ‘आन्तरिक ऋण भुक्तानीमा १०५ प्रतिशतले वृद्धि भएको रहेछ । यो शीर्षकमा अघिल्लो पटक १३४ अर्बकाे बजेट रहेको थियो । अहिले २७५ अर्ब छ । यसमा वैदेशिक ऋण मात्रै जोड्ने हो भने पनि यो फिगर अझ धेरै माथि जान्छ । यसले हामी बिस्तारै ऋणको जालोमा, ऋणको पासोमा फस्दैछौँ भन्ने सङ्केत गरिदियो । बजेटको तथ्याङ्कले पनि त्यही भन्छ । आर्थिक सर्वेक्षणअनुसार हामीले तिर्नुपर्ने ऋण २१ खर्ब छ । बजेट विनियाेजन हेर्दा ऋण लिएर घिउ खाएजस्तो अवस्था छ ।’

सांसद देवकोटाले सरकारले ल्याएको बजेट सङ्घीयता विरोधी रहेको पनि पटक–पटक दोहोर्‍याउनुभयो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया