भारतले नेपालमा सरकार बनाउँछु भनेकाे छैन तर प्रचण्डले भनिरहेका छन् : केपी ओली

 असार २२, २०८० शुक्रबार १६:१२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा गएका बेला भारतीय गुप्तचर प्रमुखसँग भेटेर आएको दाबी गर्नुभएकाे छ । 

शुक्रवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर बसेको दाबी गर्नुभयो । उहाँले त्याे भेट पनि प्रधानमन्त्रीले लुकाएको आरोप लगाउनुभयो । भारतीय गुप्तचर प्रमुख नेपालमा आएका बेला आफूले भने सार्वजनिकरूपमै भेटेको र कुनै कुरा नलुकाएको ओलीकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘जे कुरामा पनि नेकपा एमालेलाई दोषी देखाउने काममा लागेका छन् । भारतबाट रअका प्रमुख नेपाल आए, मसँग भेट्छु भने, नेपालमा आएर भेटेँ, मैले सार्वजनिकरूपमा भेटेँ, कुरा गरेँ । यस पटक प्रचण्डजी दिल्ली जानुभयो, उनको निवासमा गएर लुकेर भेट्नुभयो । उहाँले मैले त्यस्तो गोप्य मन्त्रणा गरेको होइन, उहाँ गएर भेटेको होइन, मलाई भेट्न आएको ठाउँमा मैले भेट दिएको हो, नागरिककाे हितको पक्षमा कुरा गरेँ, अहित केही कुरा गरिनँ भन्नुभयाे । उहाँले देशको हितको पक्षमा कुन शब्द उच्चारण गर्नुभयो ? के भन्नुभयो ? भेटेको कुरा पनि स्वीकार्न सक्नु हुन्न उहाँ ।’

अध्यक्ष ओलीले नेपालमा बहुदलीय व्यवस्था भए पनि लोकतन्त्र र कानुनी राज नरहेको जिकिर गर्नुभयो । ओलीले प्रचण्डले नेपालको प्रधानमन्त्री नेपाली नागरिक र नेपाली संसदबाट नचुनिएको भन्ने अभिव्यक्ति दिएर छिमेकी देशलाई समेत विवादमा तान्ने प्रयास गरिएको बताउनुभयो । उहाँले नागरिकमा रहेको सार्वभौमसत्ताको मजाक गर्न नमिल्ने भन्दै प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने र सत्तापक्षसँग कुनै पनि ठाउँमा भेट्न आफू तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा बहुदलीय व्यवस्था छ तर लोकतन्त्र र कानुनी राज छैन । संसदबाट छानिएको भन्ने सरकार छ तर संसदबाट छानिएको होइन रहेछ । अस्ति प्रधानमन्त्री आफैँले एउटा प्रमाण पेस गर्नुभएको छ, कति प्रमाण छन् छन् यस्ता । प्रितम सिंहलाई पनि उहाँले बेकारमा मुछ्नुभयाे । प्रितम सिंह दिल्ली नै जानुभएको छैन, तर मलाई प्रधानमन्त्री बनाउन जानुभयो भनेर उहाँले झुट बोल्नुभयो । मित्रराष्ट्र भारतले नेपालमा सरकार बनाउँछु भनेर अहिलेसम्म भनेको छैन, त्यो भन्नु नेपालको सार्वभौमसत्ता विपरीत हुन्छ, त्यो भारतलाई पनि थाहा छ । भारत भन्दैन तर नेपालको प्रधानमन्त्री भनिरहेका छन् । राष्ट्रियतामाथि मजाक उडाइएको छ । सार्वभौमसत्तामाथि मजाक उडाइएको छ ।’ 

ओलीले कोही प्रदेशमा सरकार गठनको नाममा लगातार संविधान मिचिएको पनि बताउनुभयो । उहाँले काेशी प्रदेशमा सभामुखसहितको हस्ताक्षर बुझाएर सरकार गठन गर्ने कुरा उचित नरहेको बताउनुभयो । अहिलेको कोशी प्रदेश सरकार सङ्घबाट दिएको निर्देशनअनुसार चलेको र संविधानको बर्खिलापमा गएको उहाँले आरोप लगाउनुभयो ।

अध्यक्ष ओलीले बालुवाटारकाे ललिता निवासलगायतका अनियमतताका घटनाहरूको सत्य/तथ्य छानबिन गर्न एमाले तयार रहेको बताउनुभयो ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया