सहजै पुगिने दूधकुण्ड (फाेटाेफिचर)

 असार २३, २०८० शनिबार १४:४५:३६ | सुरेश खड्का
unn.prixa.net

हिमालको फेदमै जाने र ? चिसो हुन्छ ? बास कहाँ बस्ने ? बाटो अप्ठ्यारो छ? मेलाको बेलामा भन्दा अरु समय जान सकिन्न रे लगायतका दर्जनौँ समस्याहरुको प्रश्न ममाथि साथीहरुले नथोपरेको कहाँ हो र ? वास्तवमै सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका वडा नं १ तथा साविकको टाक्सिन्दु गा.वि.स वडा नं ८ मा रहेको दूधकुण्ड ताल नयाँ यात्रीहरुको लागि धेरै समयअघि कठिन नै थियो ।

यही कठिनाइको सहज उतर दिने हेतुले जनैपूर्णिमाको अवसरमा मात्र प्रायः मानिसहरु जाने यस क्षेत्रमा हामी मंसिर पौषको जाडोमा घुम्न जाने निधो गर्याैँ । सदरमुकाम सल्लेरीबाट शुरु भएको हाम्रो यात्रा बोलेरो गाडीमार्फत् करिब डेढघण्टा टाक्सिन्दु डाँडासम्म रह्यो । यात्रामा हामी ६ जना सहभागी थियौँ । 

पर्यटन व्यवसायी मित्र फुछिरिङ शेर्पाको अगुवाइमा मलगायत राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय सोलुका तत्कालीन शाखा प्रमुख चित्रबहादुर खड्का, रावाकै गोविन्द बाँस्तोला, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कर्मचारी मित्रहरु सञ्जय बस्नेत र भीम भट्टराई  र सहयोगी एक जना भाइ यात्रामा सरिक थियौँ । वास्तवमै सोलुखुम्बुमा हिउँदको समयमा जनजीवन अत्यन्तै कष्टकर रहन्छ । हाम्रो यात्रा शुरु भएकै दिनबाट मौसम अत्यन्तै सफा रहेको कारण यात्रा झन सहज रहेको थियो ।

बिहान करिब ७ बजे टाक्सिन्दुबाट यात्रा प्रारम्भ गरियो । टाक्सिन्दुबाट करिब १ घण्टामा हामी केरुङ पाटी आइपुग्यौँ । हामी सबैले आआफ्ना ज्याकेट, पानी खाने बोतल, केही ड्राइ फुड्स, सामान्य प्राथमिक उपचार बक्स औषधिसहितको झोला बोकेका थियौँ । साथमा लौरो सबैले नै टेकेका थियौँ । उकालो यात्रामा लौरो अत्यन्तै भरपर्दो रहन्छ साथै यात्रामा सहज समेत रहन्छ ।

हिउँदको समय भएकाले बाक्लो तुसारो कहीँकतै देखिन्थ्यो, पानी भएको स्थानहरु जमेका थिए वर्षायाममा मात्र मेरो यात्राको अनुभव रहेको थियो जनैपूर्णिमाको अवसरमा यहाँ भव्य मेला लाग्ने र त्याे मेला हेर्न नजिकका छिमेकी जिल्ला तथा यस स्थानसँग परिचित देशैभरका भक्तजनहरु आउने गर्दछन् ।

त्यही अवसरमा २०६६ सालदेखि नेपाल रेडक्रस सोसाइटी टाक्सिन्दु उपशाखाले आयोजना गर्ने प्राथमिक उपचार शिविरमा धैरैपल्ट शिविरको नेतृत्व गर्दै आइरहेको थिएँ यस पटक भने नितान्त भ्रमणको उद्देश्यले आउँदाँ मन त्यसै प्रफुल्लित रहेको थियो ।

वर्षायाममा आउँदा बाटो अत्यन्तै चिप्लो र हिलो हुँदा पदयात्रा गर्ने भक्तजनहरुलाई अत्यन्तै कष्ट रहन्थ्यो, यसपटक आउँदा भने सोलुदूधकुण्ड नगरपालिकाले दूधकुण्डसम्मै व्यवस्थित सिँढीसहितको पदमार्ग स्थापना गरिदिएकाले हिँड्न अत्यन्तै सहज रहेको थियो ।

सरकारीपाटीमा खानेपानीको प्रबन्ध समेत रहेको थियो । हालसालै दूधकुण्ड सामुदायिक वन उपभोक्ता समितिले आफ्नो क्षेत्रमा पर्ने सरकारी पाटी, कामीडाँडा, गाम्टाङ, जुम्ल्याहाखोला, सहस्र बेनी तथा दूधकुण्डमा अस्थायी होटल गर्न चाहनेहरुलाई अवसर दिने भएपश्चात यस क्षेत्रका व्यवसायीहरुले होटल सञ्चालन गरिरहेका रहेछन् ।

सरकारीपाटीबाट कामीडाँडाको ठाडो उकालो सकिएलगतै बिहान हामी करिब ११ बजे कामेडाँडा पुगियो त्यहाँ टाक्सिन्दुकै स्थानीय लाक्पा शेर्पा र छिरी शेर्पा दाजुभाइले नुम्बुर रिट्रेट नामक होटल (९८६२३०९०९०) सञ्चालन गर्न लाग्नुभएको रहेछ, यहाँ आवाससहितको व्यवस्थापनले गर्दा जुनसुकै मौसममा आउने यात्रीहरुलाई सहज पुग्ने देखियो ।

हामीले बिहानको खाना त्यहीँ खायौँ, त्यस स्थानबाट सगरमाथा हिमश्रृङ्खला अत्यन्तै नजिकबाट नियाल्न सकिन्छ । खाना आइसकेपश्चात हामी नजिकैको डिलमा उक्लिएर मनोरम हिमश्रृङ्खलाको साथमा रमाउन पुगियो, यस स्थानबाट सोलुखुम्बु जिल्लाको धेरै भाग नियाल्न सकिन्छ भने सोलुखुम्बुमा रहेका प्रायः सबै हिमालहरु यस स्थानबाट देख्न सकिन्छ । सायद सगरमाथालाई धेरै नै नजिक स्पष्ट देखिने सोलुखुम्बुका केही स्थानहरुमध्य यो पनि एक हो ।

सहयात्री साथीहरु धेरैजना पहिलोपटक यस स्थानको भ्रमण भएकाले अत्यन्तै उत्साहित हुनुहुन्थ्यो समुद्री सतहबाट करिब ३८०० मिटरको यस स्थानले हामी सबैलाई मनमोहक तुल्यायो । मौसम अत्यन्तै सफा रहेकाले हाम्रो यात्रा अत्यन्तै आनन्ददायक रहेकाे थियो ।

कामेडाँडाबाट मास्तिर उक्लिएपश्चात रुख बोटबिरुवा रहेको क्षेत्र कम हुँदै जान्छ यस स्थानमा सुनपाती टिप्न टाक्सिन्दु बेनी क्षेत्रका मानिसहरु आउने गर्दछन्, सुनपातीको बास्ना अत्यन्तै कडा हुन्छ त्यसैले जोकोहीलाई यसको बास्ना मन नपर्न पनि सक्दछ, यसैको गन्धले पनि सामान्य टाउको दुख्छ ।

हामी यात्रामा सहभागी प्राय जिल्लावासी नै भएको कारण सुनपातीको बास्नासँग परिचित थियौँ त्यही भएर हामीलाई खासै समस्या परेन । निरन्तरको आनन्ददायिक हिँडाइ, ठाउँठाउँमा बिसाउने चौतारीहरुमा बिसाउँदै, वारिपारिका रमाइला पहाडी दृश्य आँखामा सजाउँदै हामी कामेडाँडाबाट करिब २ घण्टाको हिँडाइमा जुम्ल्याहा खोला आइपुग्यौँ वर्षायाममा यस क्षेत्रमा चौँरीगोठ तथा भेडागोठहरु प्रशस्तै हुने गर्दछन् हिउँदमा भने चिसो तथा घाँसको अभावले गर्दा यस क्षेत्रमा काेही हुन्नन् ।

जुम्ल्याहा खोलाबाट करिब १० मिनेटको ओरालोपश्चात हामी सानो बेनी आइपुग्यौँ । यहाँसम्म आइपुग्दा सबै साथीहरुलाई केही पनि स्वास्थ्य समस्या आएको थिएन यहाँबाट सहस्रबैनीसम्म पुग्न करिब १ घण्टाको दम्स्याइलो उकालो चढनुपर्दछ, यस उकालोमा भने साथीहरुलाई अलि कठिन नै रह्यो तैपनि बिस्तारै लट्ठीको सहारामा उभिँदै, पानी तथा झोलामा बोकेका खानेकुरा खाँदै हामीले उकालो चढ्यौँ ।

वारिपारि नियाल्दा पानीको ससाना खोल्सीहरु झरिरहेको देखिन्थ्यो, खोल्सी शुरुवात रहेको प्रत्येक स्थानहरुमा यहाँ हिमतालहरु रहेको फुछिरिङले बताए, हामी करिब दिउँसोको ४ बजे आजको यात्राको गन्तव्यस्थल सहस्रबेनी आइपुग्यौँ, यहाँ टाक्सिन्दुकै दावा शेर्पा दाइले होटल (९७६३०८७०२१) सञ्चालन गर्दै आउनुभएको छ । उहाँ चौरीपालक कृषक भएता पनि वर्षैभरी यस स्थानमा नै बस्नुहुन्छ ।

हामी पुग्नासाथ हतारहतार तातोपानी तथा चियाले हामीलाई स्वागत गर्नुभयो । आज यस क्षेत्रमा जिल्ला वन कार्यालयका कर्मचारीहरुसमेत अनुगमनका लागि आउनुभएको रहेछ, त्यस्तै पदमार्ग निर्माण गर्दै आएका करिब ५० जना कामदारहरु समेत यसै स्थानमा रहेछन् त्यसैले आजको बसाइ अत्यन्तै रमाइलो रहने निर्क्यौल गर्यौँ । बेलुकी घाम अस्ताउनै लाग्दा नुम्बुर, कर्यालुंग तथा खटाङ हिमाल सुन जस्तै देखिएको थियो, हामीले पनि केही तस्बिरहरु आआफ्नो मोबाइलमा खिच्यौँ ।

हामीले यात्रा शुरुवात गर्दाबखत पक्कै जाडोले गर्दा कठिन हुने परिकल्पना गरेका थियौँ , घाम ढल्केपश्चात चिसो सिरेटो चलेता पनि त्यस्तो कष्टदायक भने थिएन पानी चाहिँ अत्यन्तै चिसो थियो । बेलुकी दावा दाईले मिठो खाना खुवाउनुभयो, दिनभरीको हिँडाइले थकित भएको हुँदा हामी सुत्नका लागि तयारी गर्न थाल्यौँ । दावा दाइकोमा करिब ३०/४० जना अटाउने ठाउँ भएता पनि हामी भने टेन्ट आफैँले लिएर आएको हुनाले टेन्टमै सुत्ने निधो गर्याैँ ।

सञ्जय जी र म एक स्थानमा चित्रसर, गोविन्दसर र भीमसर एक स्थानमा  तथा फुछिरिङ र सहयोगी भाइ अर्कै स्थानमा सुतियो । राति जाडो हुन्छ होला भन्ने लागेको थियो पटक्कै चिसोको अनुभवै रहेन, सल्लेरीबाट हिँड्दाबखत धेरैजनाले चिसोले अत्यन्तै समस्या हुन्छ भनेका थिए तर हामीलाई भने केही महसुस नै भएन । थकानको कारण आनन्दले रातभर निदाएपश्चात बिहान एकैपटक ५ बजे नै हामी सबैजना ब्युँझियौँ ।

बिहान उठेर सबै नित्यकर्म सकेर तातोपानी, चिया तथा सुपसहितको खाजा खायौँ, आआफ्ने बोतलमा तातोपानी भरेर सहस्रबेनीबाट दूधकुण्डतर्फ हाम्रो यात्रा अघि बढ्याे । प्राय यस स्थानमा आउने यात्रु तथा भक्तजनहरुलाई समस्या आउने स्थान यही उकालो नै हो सहस्रबेनी करिब ४००० मिटरको उचाइमा रहेको छ भने उकालो सँगसँगै उचाइ पनि बढ्दै जाने हुुँदा स्वासप्रश्वासमा समस्या, लेक लाग्ने समस्या रहन्छ ।

हतारमा आउनेहरु एकै दिनमा पनि सल्लेरीबाट आइपुग्छन् बानी परेकालाई खासै समस्या नहुने भएता पनि पहिलोपटक आउने यात्रुहरुलाई भने यसरी हतारमा आउँदा बिरामी हुने सम्भावना रहन्छ । दूधकुण्ड यात्रा मेरो १५/१६औँ पटक रहेको कारण पनि यस क्षेत्रसँग म अत्यन्तै नजिक रहेको छु ।

सहस्रबेनीको ठाडो उकालो लट्ठी र पानीको सहाराले हामी करिब २ घण्टापश्चात हाम्रो यात्राको गन्तव्यस्थल समुद्री सतहबाट ४६३२ मिटरको उचाइमा रहेको दूधकुण्ड आइपुग्यौँ । मेलाको समयमा भने यहाँ प्रशस्तै अस्थायी होटलहरु रहन्छन् । यस समयमा भने सहस्रबेनीमा मात्र होटल रहेको कारण बास बस्नका लागि सहस्रबेनी नै उपयुक्त रहन्छ । शुरुमा भूतपोखरी हुँदै गंगा जमुना ताल हेर्दै हामी मुख्य ताल रहेको स्थान दूधकुण्ड आइपुग्योैँ मौसम सफा भएकाले नुम्बुर तथा कर्यालुङ हिमाल आँखाअगाडि प्रष्ट देखिन्थ्यो ।

बिहान केही चिसो भएकाले हामी सबैले डाउन ज्याकेट लगाएका थियौँ । घाम अलि छिप्पिएपश्चात चिसो पनि कम नै थियो । पोखरीको डिलमै रहेको दियो बत्ती बाल्ने घरमा हामी सबैले पुजाआजा गर्यौँ, ध्यान तथा प्रार्थना गर्यौँ ।  पानी जमेर आइस भएको कारण पोखरीसमेत आधा जमेको थियो । साथीहरुलाई पोखरी पूरै घुमाउने इच्छा थियो तर आइस जमेको कारण मैले पोखरीको डिलबाटै यस क्षेत्रको प्रचलित किंवदन्ती तथा यस वरपर रहेका अन्य स्थानहरुको निम्नानुसार वर्णन गरिदिएँ। 

दूधकुण्ड ताल वरपर तालहरु बाहेक अन्य महत्त्वपूर्ण स्थानहरु समेत रहेका छन्, जो प्राकृतिक रुपमा सदियौँ वर्षदेखि यस स्थानमा कायम रहेको छ, जसले समेत धार्मिक महत्त्व बढाइरहेको छ ।

*    पवित्र जल लिने स्थान – दूधकुण्ड तालदेखि केही माथि रहेको, जुन पोखरी परिक्रमाको क्रममा भेटिन्छ, हिमालको गर्भबाट आएको याे जल सबै धर्मावलम्बीहरुले उत्तिकै श्रद्धाका साथ घरमा ल्याएर राख्ने गर्दछन्, उक्त जल घरमा ल्याएर राखेमा सदा सुखी रहिने मानिसहरुको विश्वास रहेको छ, दूधकुण्ड जान नसक्ने मानिसहरु समेत उक्त जल शरीरमा सेचन गरेको खण्डमा पवित्र हुने जनविश्वास रहेको छ ।

*    जलकुण्ड – पवित्र जल लिने स्थानबाट अलि मास्तिर ढुंगामा कहिले नसुक्ने गरी सानो जल कुण्ड रहेको छ, उक्त कुण्डमा हात हालेर कसैको हातमा कुनै वस्तु परेमा उक्त वस्तुलाई घरमा राख्दा राम्रो हुने विश्वास छ, सबैले उक्त कुण्डमा हात हाल्दा नपर्ने हुन्छ, प्राय : ढ्याक पैसा, फुल जस्ता वस्तुहरु सो ठाउँमा हात हाल्दा भेटिने गर्दछ ।

*    बुद्धको प्रतिमा – दूधकुण्ड तालको अग्रभागमा बुद्धको सानो प्रतिमा रहेको छ, प्रायः बौद्ध धर्मावलम्बीहरुले विशेष रुपमा प्रार्थना तथा भेटी चढाउने गर्दछन् । यस स्थानमा आउनको लागि मात्रै पनि भाकल गरेको हुनाले यहाँ आएमा पुण्य कमाइने विश्वास रहेको छ ।

*    आयु माग्ने स्थान – पोखरी परिक्रमाको क्रममा चीरआयुको कामना गर्ने स्थान समेत रहेको छ, सो स्थानमा आएर दर्शन गर्दा चिरायू हुने विश्वास छ ।

*    गाईभैँसी तथा सन्तान माग्ने स्थान – प्रायः सबै धर्मावलम्बीहरुको प्रमुख आस्थाको रुपमा रहेको यस स्थानमा गाईभैँसी पाल्न नजुरेकाहरु यहाँ आएर भेटी चढाएर दर्शन गर्दा, गाईभैँसी,चौरी जुर्ने गरेको विश्वास छ, त्यस्तै सन्तान नहुने पीतामाताहरु समेत यस स्थानको दर्शन पश्चातः सन्तान प्राप्त हुने विश्वास छ ।

मुख्य तालहरु

पवित्र भूमि यस स्थानमा साना ठूला गरी कयौँ तालहरु रहेका छन् । यस स्थानमा रहेका तालहरुको संक्षिप्तमा बयान गरिएको छ ।

१. दूधकुण्ड ताल

दुई हिमाल नुम्बुर तथा कार्यालुंगबाट पग्लिएर बनेको  यो ताल नै यस क्षेत्रको सुन्दर तथा ठूलाे हिमताल अन्तर्गत पर्दछ । धार्मिक महत्त्व बोकेको यस तालको पानीले नुहाएमा पवित्र हुने तथा सम्पूर्ण पापकर्म नष्ट हुने साथै चिताएको पुग्ने जनविश्वास कायम रहेको छ । नयाँ अन्न नुवागी समेत यस स्थानमा चढाए अन्नबाली समेत राम्रो उत्पादन हुने विश्वास छ । केही वर्ष अघि यस तालमा राजहाँस तथा सेतो गाईहरु समेत देखिने चौरीगोठालाहरु बताउँदछन्, यस्ता विविध कुराहरुले यो ताल पवित्र तथा प्रसिद्ध रहेको छ ।

२. भूतपोखरी

दूधकुण्ड तालभन्दा केही तल अत्यन्तै कालो पोखरी रहेको छ, जसलाई भूतकुण्ड तथा भूतपोखरीको नामले समेत चिनिन्छ, शुरुमा दूधकुण्ड दर्शन गर्न जाँदा भूतपोखरीको दर्शन गर्दै जाने तथा आउँदाँ भने सो स्थानबाट नभइ अर्कैबाटोबाट जानुपर्ने यहाँको प्रचलन छ, दूधकुण्डबाट फर्किँदा यस स्थान हुँदै आएमा मागेको वर नपाइने जनविश्वास छ ।

३. गंगा जमुना ताल

दूधकुण्ड ताल तथा भूतपोखरीको बीचभागमा गंगा जमुना ताल  रहेको छ, उस्तै आकारप्रकारको दुईवटा अत्यन्तै निलो रंगमा रहेका यी तालहरुमा समेत दैविकशक्ति कायम रहेको कारण यस तालमा समेत नुहाउँदा पवित्र भइने भएकाले हिन्दु, बौद्ध तथा किराँत सबै धर्मावलम्बीहरुले समान आस्थाका रुपमा लिने गर्दछन् ।  

४. आँखेपोखरी

लगभग मानव आँखाको आकारको रुपमा रहेको यस ताल भर्खरै मात्र पत्ता लागेको हो, दूधकुण्ड तालभन्दा पूर्व दिशामा रहेको पर्वतको काखमा यो ताल रहेको छ ।

५. महाकुण्ड

कार्यालुंग हिमालको बीच दरारमा यो ताल अवस्थित छ, यस ताललाई भैरव कुण्डको नामले समेत चिनिने गर्दछ ।

६. च्योकर्मा ताल

दूधकुण्ड तालभन्दा पारिपट्टी नूम्बुर हिमालकै छेउमा च्योकर्मा ताल छ , झन्डै दूधकुण्ड पोखरी ताल जतिकै लम्बाई रहेको यो ताल केही वर्ष अघि फुटेको पनि थियो । 

उत्पतिसम्बन्धी किंवदन्तीहरु

धार्मिक मान्यताअनुरुप धर्मअनुसारको आ–आफ्नै किंवदन्ती रहेको छ । अध्ययनको क्रममा विभिन्न मानिसहरुले बताएका कथाहरुलाई आधारमानि विभिन्न किंवदन्तीहरु प्रस्तुत गरिएको छ ।

क) बौद्धमार्गीहरुको भनाइमा

परापूर्वकालमा बौद्धमार्गीहरुका विभिन्न धार्मिक गुरुहरु तिब्बत तथा नेपालका यस स्थानमा आइ तपस्या गर्ने गरेको तथा  तपस्या गरेकै जस्तो आज पनि नुम्बुर हिमालमा प्रतिक देखिन्छ ,सोहीकारण बौद्धमार्गीहरु यस स्थानलाई विशेष आस्थाका रुपमा लिन्छन् । यहाँ आएमा चिताएको कुरा पुग्ने जस्तै सन्तान नहुनेले सन्तान माग्दा पूरा हुने, गाईबस्तु माग्ने, आयु माग्ने जस्ता कुराहरु बौद्धमार्गीहरुमा प्रचलित रहेको छ ।  केही बौद्धमार्गीहरु काठमाण्डाै उपत्यकामा रहेको पानी मन्जुश्री (शेर्पा भाषामा फाकेरिन्जी )ले चोभारको डाडो काटेर केही बाहिर पठाएपश्चात बाँकी रहेको पानी यहाँ ल्याएर लुकाइ राखेको र यहाँ कुण्डमा रहेको पानी त्यही काठमाण्डाै उपत्यकाको हो भन्ने प्रचलन समेत रहेको छ । बौद्धमार्गीहरुले यहाँ बुद्धको प्रतिमा थापना गरी बर्सेनि पूजाआजा समेत गर्दै आएका छन् । जो पोखरीको शिरमा कायमै छ ।

ख) हिन्दु तथा किराँत धर्मावलम्बीहरुको भनाइमा 

बौद्धमार्गीहरु जस्तै यहाँ हिन्दु तथा किराँत धर्ममा आस्थावान मानिसहरुको भनाइमा यहाँ परापूर्वकालमा भगवान महादेवले तपस्या गरेको स्थानका रुपमा लिने गर्दछन् । यहाँ पोखरीको छेवैमा शिवलिंग समेत रहेको प्रमाणको आधारमा उक्त कुरालाई मान्न सकिन्छ । पौराणिककालका कथाहरुमा चन्द्राचल र दोर्णाचल पर्वत तथा त्यसको मुनि कुण्ड रहेको त्यहाँ अमृतसमानका जडीबुटीहरु सो स्थानमा रहेको तथा समुद्रमन्थन यही स्थानमा भएको भन्ने कथनलाई आधारमानि हेर्दा यहाँका २ वटा हिमालहरु नुम्बुर तथा कार्यालुंग हिमाल दुरुस्तै चन्द्राचल र दोर्णाचल आकारका रहेका कारण पनि हिन्दुधर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा यो परिचित रहेको छ ।

त्यस्तै समुद्र मन्थनको समयमा निस्किएको कालविषले संसारलाई नै ध्वस्त पार्ने अवस्था आएको तथा उक्त विषबाट संसारलाई मुक्ति दिलाउन भगवान शिवले उक्त विष आफ्नो घाटीमा लिइ छट्पटाएर यसै दूधकुण्ड क्षेत्रमा आइ यहाँको शुद्ध चिसो पानी खाएपश्चात सो विष समेत मत्थर भएको तथा यहाँका जडीबुटीहरुले उक्त विषको असर समेत नियन्त्रणमा आएको समेत कथन रहेको छ ।

त्यस्तै भगवान रामको कान्छो भाइ लक्ष्मण लङ्का युद्धका बेला मृत्युशय्यामा पुगेको बेला ऋषिमुनीले हनुमानलाई तीन वटा बुटी ल्याउन आग्रह गरेपछि सञ्जीवनी बुटी, समबन्धिनी बुटी र बिशल्या बुटी। यी बुटी शिर कुण्डको वरिपरि पाइने र शिर कुण्ड चन्द्रमा जस्तै देखिने चन्द्राचल र कैलाश जस्तै देखिने द्रोणाचलको मुनि रहेको बताएका थिए। जो अहिले नुम्बुर र कारेलुङ हिमालको नामले परिचित छ। यहाँ अवस्थित दूधकुण्ड ताल सबैभन्दा ठूलाे रहेको कारण भक्तजनहरु यसलाई ठूली दिदी ताल समेत मान्दछन् ।

त्यस्तै माइली साल्पापोखरी ताल, साइली गोसाइँकुण्ड तथा कान्छी दूधकुण्ड नगरपालिका ४ फाप्लुमा रहेको सानो दूधकुण्ड ताललाई लिने गर्दछन् । खालिंग राई जातिका पुर्खा स्यालिव्यले हुर्किसकेको कान्छा छोरा क्याम्प्युब्याको विवाह गरिदिए, क्याम्प्युब्याबाट दुईजना छोराहरु जेठा दिक्प्या र कान्छा माप्या जन्मिए । ती दुई भाई छोराहरु हुर्किसकेपछि जेठा छोरा दिक्प्या चाहिँ दूधकुण्ड हिमालको फेदितिर लागे । जुमुंग हांगलाई आफ्नो छोराहरु हराएकोमा चिन्ता लागिरहेको थियो, ध्यान दृष्टिले हेर्दा उत्तर हिमालतिर रहेको पत्ता लगाइ खोजी कार्य गर्दा आफ्नो सन्तान फेला परेपछि किराँत खालिंग राई जातिले मृत्यु पश्चात र मुन्धुममा पनि दूधकुण्डको बारेमा चर्चा रहेको पाइन्छ ।

यी यस्ता धार्मिक किंवदन्तीहरु प्रचलनमा रहेता पनि यस क्षेत्र पर्यटकीय रुपमा अत्यन्तै सुन्दर रहेको छ । जैविक विविधतायुक्त यस क्षेत्र धार्मिक सहिष्णुतायुक्त समेत छ । यस क्षेत्र बौद्ध, हिन्दु, किराँत सबै धर्म मान्ने मानिसहरुले उत्तिकै श्रद्धाका रुपमा लिने गर्दछन् । 

दूधकुण्ड ताल पुगिसकेपश्चात जीवनका सबै दु:ख कष्टबाट मुत्तिः मिलेजस्तै प्रत्याभूति रहन्छ । यात्रामा सरिक सबै साथीहरुले स्वर्गानुभूति गरेको आभाष मिल्यो । यात्राको दोस्रो दिन नै हामी बिहान ११ बजे त्यस स्थानबाट फर्कियौँ । पुन: सहस्रबेनीमा आएर खाना खाइसकेपछि गफिँदै दिउँसो करिब ५ बजे रिङमु गाउँ आइपुग्यौँ । सल्लेरी जाने गाडी तयारी अवस्थामा रहेकाले बेलुकी करिब ६ बजे हामी सल्लेरी आइपुग्यौँ । यस पटकको भ्रमण अत्यन्तै सुखद र फलदायी रह्यो । हाम्रो यात्राको उद्देश्य जुनसुकै समयमा पनि सहजै दूधकुण्ड जान सकिने सुखद समाचारको थियो । 

अन्तिम अपडेट: साउन २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुरेश खड्का

सुरेश खड्का सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

1 Comments

  • Anupokhrel

    July 9, 2023, 8:30 p.m.

    Nice

  •  0 Reply

तपाईको प्रतिक्रिया