ओली र प्रचण्डमा को ठूलो ? झगडाको निहुँ पानीविनाकाे कुलो

 असार २४, २०८० आइतबार १४:२७:१९ | मिलन तिमिल्सिना
unn.prixa.net

‘खै अझै दिनुहुन्न ?’ दुई हातका बुढीऔँला रगड्दै कुर्सीमा गजधम्म बसिरहेका भूपू प्रेमी प्रचण्डलाई ओलीले सोधे ।

‘के दिनुपर्‍याे फेरि ? मने भएभरको सर्वश्व उतिबेलै सुम्पिँदा पनि नपुगेर बटारिनुभयो । अब के बाँकी छ र दिनलाई ?’ प्रचण्ड झोक्किए ।

‘चुनाव अगाडि त के थियो र तपाईँसँग, अहिले त छ नि, त्यसैले मागेको’ ओलीले प्रचण्ड बसिरहेको कुर्सीतिर देखाए ।

‘तपाईँले नै बसालेको त हो नि मलाई बार्दलीमा बोलाई बोलाई, उबेला चाहिँ बिन्ती गरेर बस्न भन्ने, अहिले फेरि त्यही कुर्सी माग्न लाज लाग्दैन ?’

‘ए लाज पनि मैले नै मान्नु पर्ने ? अनि मैले लौन बाबा बसिदेउ भनेर कुर्सी दिएको कि आफैँ पाउ पर्न आएको ?’

‘अँ तपाईँको पाउ परेर कुर्सी पाइन्छ नि ! कसको पाउ परेर पाइन्छ भन्ने त दुनियाँलाई थाहा छ, अस्ति पनि अलिकति खुस्काइदिसकेको छु ।’

‘हो यो कुरा किन खुस्काएको तपाईँले ? दुनियाँलाई थाहा छ भन्दैमा चिच्याउँदै हिँड्नु पर्छ । तपाइँले गर्दा हाम्रोसमेत बेइज्जत भयो । आफैँ भनी हिँड्न भएन, त्यसैले खुरुक्क राजीनामा दिनुस् ।’

‘त्यति सजिलै दिउँला नि राजीनामा ! कहिले तपाईँको बार्दलीमा, कहिले देउवाजीको आँगनमा, कहिले माधवजी र उपेन्द्रजीहरूको चोटाकोठामा पुगेर कत्रो दुःखले हात पारेको कुर्सी त्यत्तिकै छाड्छु होला नि ! हेर्नुस् तपाईँहरू जोडिएका सबै काण्डका फाइल नखोली कुर्सी छाडिन्नँ । मैले छाडेँ भने त तपाईँहरूले म मुछिएका काण्ड खोतलेर फेरि मेरो उठीबास लगाइहाल्नु हुन्छ नि । मैले नचिनेको हो र ? त्यसैले काम्रेड त्यति सजिलै कुर्सी छाडिँदैन । ढुक्क हुनुहोस् ।’

‘तपाईँ बसेको कुर्सी जथाभाबी बोलेर बस्ने ठाउँ होइन । छोड्नुपर्छ ।’

‘सामाजिक सञ्जालतिर छरपस्ट नभएको भए त बोलेकै छैन भन्नुहुन्थ्यो । तर मैले छैन भने पनि मान्छेले थाहा पाइहाले । त्यसमाथि मैले बोलेको त्यही एउटा कुरा हो, – उहाँ (प्रितम सिंह) राजनीतिमा पनि रुचि राख्नुहुन्थ्यो, मलाई प्रधानमन्त्री बनाउन दिल्लीसम्म पनि पुग्नुभयो ।’

‘यसको अर्थ तपाईँ दिल्लीको आशीर्वादमा प्रधानमन्त्री बन्नुभयो ।’

‘मैले त्यसो भनेको छु र ? मैल त उहाँ दिल्लीसम्म पनि पुग्नुभयो मात्रै भनेको छु । दिल्ली पुगेर भारतीय शक्तिसँग कुरा गर्नुभयो त भनेको छैन नि ।’

‘सबै भन्नुपर्छ ? त्यति भनेपछि कुरा बुझिँदैन ?’

‘बुझिँदैन काम्रेड, बुझिँदैन । मैले भनेको कुरा सुन्नुभयो भने उहाँ दिल्लीसम्म पुग्नुभयो भन्ने बुझिन्छ, तर कसैसँग कुरा गरेर फर्कनुभयो कि नगरि नेपाल फर्कनुभयो भन्ने बुझिँदैन । उहाँ मलाई प्रधानमन्त्री बनाउन त चाहनुहुन्थ्याे, तर म उहाँको र भारतीयको चाहनामा भएँ भन्ने बुझिँदैन । बरु म त कहिले तपाईँको र कहिले देउवाजीको चाहनामा प्रधानमन्त्री भएँ भन्ने पो बुझिन्छ । भलै, मैले सबै कुरा भनिनँ ।’

‘नचाहिँदो कुरा गर्नुहुन्छ ? तपाईँले दिल्लीकै आशीर्वादमा प्रधानमन्त्री भएँ भन्नुभएको हो ।’

‘हैन तपाईँहरूको आशीर्वादमा भन्न खोजेको । प्रितम सिंहले त काठमाण्डौमा पनि दौडधुप गर्नुभयो भनेको छु नि । काठमाण्डौमा भनेपछि तपाईँहरू भन्ने बुझिँदैन ?’

‘हैन, दिल्ली नै भनेको हो । राजीनामा दिनुस् ।’

‘भनेकै छैन, दिन्नँ ।’

प्रचण्ड र ओलीको छलफल सुनिरहेका एक जना सज्जनले असारको योबेला खेतमा सँधियारहरूबीच हुने पानी झगडा सम्झिए । 

खहरे खोलामा फाँटभरिलाई पुग्ने पानी हुँदैन । पानीका लागि पालो कुर्नुपर्छ । कुलोको पानी आफ्नो खेततिर सार्न सँधियारहरूबीच बेलाबेला झैझगडा र हानथाप हुन्छ । अहिले ओली र प्रचण्डको हानथाप र झैझगडा यस्तै खालको हो । उनीहरू कुरोलाई आफ्नै दुनोतिर सोझ्याउने दाउमा छन् ।

जसले जतिसुकै हल्लीखल्ली गरे पनि दिल्लीसँग सिल्ली नहुँदासम्म यता डाडुपन्यु समाउन पाइँदैन । डाडुपन्यु हातमा भएन भने आफ्नो मात्रै होइन, नातागोता र आसेपासेको भागमा समेत मिठोमसिनो पर्दैन । अर्कैको भागमा परेको मिठोमसिनो हेरेर कति चित्त बुझाउने ? त्यसैले आफ्नै हातमा डाडुपन्यु पार्न हाम्रा नेताहरू अर्कोलाई सिल्ली भन्दै आफू दिल्लीको अघिल्तिर पालैपालो लम्पसार पर्छन् । आफू लम्पसार परेको हो भनेर चाहिँ खुल्लमखुल्ला भन्दैनन् । तर कहिलेकाहीँ दिल्लीसँग आफू सिल्ली भएको कुरा भन्नुपर्ने अवस्था पनि आउँछ । यसपालि डाडुपन्यु समाएर बसेका प्रचण्डलाई यस्तै अप्ठ्यारो आइलाग्यो ।

जाडोमा घामतिर र गर्मीमा रुखतिर ढल्केर दुनो सोझ्याएका प्रचण्डलाई केही दिनदेखि आफ्नो कुर्सी हल्लिन थालेको अनुभव भइरहेको छ । पहिले आफूलाई काँध हालेर छेउ लागेका ओलीलाई त यसै पनि छटपटी भइरहेको छ, पछि काँध हालेर पालो कुरिरहेका देउवालाई पनि उकुसमुकुस भइसक्यो । डाडुपन्यु समाउन नपाएर छटपटी र उकुसमुकुस भइरहेका दुई जना मिले भने छँदाखाँदाको आफ्नो रजगज सकिन्छ । त्यसपछि के हेरेर बस्ने ? आफूले उनीहरूका काण्ड खोलेजस्तै उनीहरू मिलेर आफ्नो काण्ड खोले भने बरबाद हुन्छ । त्यसैले दिल्लीलाई खुशी पार्ने मौका पर्खिरहेका उनले प्रितम सिंहको कार्यक्रममा दिल्लीसँगको प्रेम उजागर गर्दै भने, ‘मलाई प्रधानमन्त्री बनाउन उहाँ धेरै चोटि दिल्ली जानुभयो ।’ 

यति वाक्यले दिल्लीवालाको दिल जित्यो कि जितेन भन्ने त पछिको कुरा, अहिलेलाई काठमाण्डौको राजनीति तात्न यति एउटा वाक्य पर्याप्त भयो । विपक्षीलाई मसला मिल्यो, सत्तातिरका असुन्तष्टले पनि 'बार्गेनिङ' गर्ने औजार भेटे । त्यही डाडुपन्यु हात पार्ने दाउ हेरेर बसेका ओली बुरुक्क उफ्रे । जसो गरेर पनि डाडुपन्यु आफैँले मात्र समात्न खोज्ने प्रचण्ड झसक्क झस्किए । अनि कुलोझैँ कुरोलाई हिँड्न नसक्ने ठाउँतिर पनि डोहोर्‍याउन खोज्दैछन् ।

अन्तिम अपडेट: जेठ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया