कोशी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको आदेश, मुख्यमन्त्री थापाको नियुक्ति तत्कालका लागि जोगियो

 असार २७, २०८० बुधबार १८:५९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । आज बुधवार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले काेशी सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नू/नगराउनू भनी अन्तरिम आदेश जारी गरेको हो ।

असार २१ गते नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा सभामुख बाबुराम गौतमसहितको हस्ताक्षरमा काेशीकाे मुख्यमन्त्री बन्नुभएको थियो । प्रदेश प्रमुख पर्शुराम खापुङले सभामुखको हस्ताक्षरलाई मान्यता दिएको विरोधमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले असार २२ गते रिट दायर गर्नुभएको थियाे । यसअघि लगातार तीन दिन हेर्न नभ्याइने सूचीमा परेको रिटमाथि आज सुनुवाइ भएको हो ।

सर्वोच्च अदालतकाे आजको फैसलाले तत्कालका लागि भने कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति जोगिएको छ । सर्वोच्चले थापाले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्दा बुझाएका प्रदेशसभा सदस्यहरूको समर्थन, दाबी, हस्ताक्षरलगायतका कागजात र प्रदेश प्रमुख खापुङले गरेको नियुक्तिको निर्णयको सक्कल साउन ३ गतेभित्र झिकाउन आदेश दिएको छ । त्यसपछि ७ गते पेसी तोक्न र निरन्तर सुनुवाइ गर्न पनि आदेश दिएको छ ।

९३ सदस्यीय कोशी प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का सभामुखसहित १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका छ, नेकपा (एकीकृत समाजवादी) का चार र जनता समाजवादी पार्टीका एक सांसद छन् । सभामुखबाहेक सत्ता गठबन्धनसँग ४६ सांसद छन् जुन बहुमतभन्दा एक मत कम हो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया