उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
फेसबुकमा आफ्नो फेस देखाउने र अर्काको केस कोट्याउने कला त सबैसित छ, तर यो कलामा अरूभन्दा आफैँ बेस देखिने र ठान्नेहरूको बिगबिगी छ । लेख्न हुने/नहुने सबैथोक लेख्न सक्ने भएकाले तपाईँ, म र हामीजस्ता सबै विद्वान् र बुद्धिजीवी ! अरूको विचार, बोली र व्यवहारको निगरानी गर्ने भएकाले हामी आफैँ प्रहरी ! आफ्नो आङमा भैँसी उफ्रेको नदेखेर अर्काको टाउकोमा जुम्रो दौडिएको देख्ने नामुद अनुसन्धानकर्ता ! अर्काको विचार र टिप्पणी हेर्नेबित्तिकै फैसला गर्नसक्ने खुबी भएका न्यायाधीश ! हामीसँग यति धेरै खुबी छ, तर खुबीअनुसार एकै पटक यति धेरै काम गर्न सक्ने अरू ठाउँ छैन । ठाउँ छ त फेसबुक र सामाजिक सञ्जालमा छ । त्यसैले आउनुहोस् सञ्जालको जञ्जालमा बसेर जाल हानी पहिले अर्कोलाई गाली खुवाउने चाल चलौँ, अनि चाल सफल भएपछि अरूले शुरु गर्ने गालीको तालमा ताल मिलाएर गालीको वर्षा गरौँ र मज्जाले रमाऔँ ।
फेसबुकमा गालीको वर्षा गराउनुअघि गाली खुवाउने पात्र खोज्नुपर्छ । त्यस्ता पात्र हाम्रा वरपर जति पनि छन् । उनीहरूलाई कहाँ–कस्तो अवस्थामा के बोल्नुपर्छ भन्ने हेक्का छैन । मौका पाउनसाथ मुख आँ गरिहाल्छन् । माइक तेर्सिएको देख्नेबित्तिकै भाषण छाँटिहाल्छन् । मसानघाटमा पनि मुस्काउँछन्, आर्यघाटमा पनि आलोचना गर्छन् । औँला ठड्याउँछन्, मुक्का तेर्साउँछन् । उनीहरू आफैँले त्यसो गरेनन् भने पनि गराउनेहरूले गराएरै छाड्छन् । उनीहरूलाई उत्तेजित बनाउनेमध्ये कसैले क्यामरा बोकेको हुन्छ, कसैले माइक । जसरी हुन्छ उनीहरूलाई गाली खुवाउने मान्छे चाहिएको छ । त्यो मान्छेलाई पनि बोल्ने ठाउँ चाहिएको छ । भोलि जिरो नै हुन किन नपरोस्, बस अहिलेलाई हिरो हुनु परेको छ ।
बोल्न थालेपछि हुने/नहुने कसरी बोल्ने भन्ने कुरा हाम्रा प्रधानमन्त्रीहरू र नेताहरूले हामीलाई निःशुल्क तालिम दिइरहेका छन् । यसमा उनीहरूलाई जति अनुभव अरूलाई छैन । अगुवाहरूले चिप्लिन सिकाएपछि पछुवाहरूको जिब्रोले घिउ तेलविनै चिप्लिन सिकिहाल्छ । कथम् कदाचित चिप्लिएन भने पनि चिप्ल्याउनेहरू क्यामरा तेर्साएर ढुकिरहेकै हुन्छन् । मात्र उसले केही बोल्नुपर्याे । बोलेको कुरालाई चिप्ल्याउनेले चिप्लिने गरी कैँची लगाइहाल्छ ।
बोलेको कुरालाई कैँची लगाउन धेरै खप्पिस भइसके । कैँची लगाएकै कुरालाई धेरैले मन पराउँदा रहेछन् भन्ने कुरा सबैलाई थाहा भइसक्यो । त्यसैले सबैभन्दा पहिले बोलीमा कैँची लगाउन हानथाप हुन्छ । अनि बोलेको बिकाउ कुरा फेसबुकमा पोस्ट हुन्छ । त्यसपछि फेसबुकका विद्वान्, पण्डित, ज्योतिष, प्रहरी, न्यायाधीशको काम आउँछ । पहिलो कुरा त पोस्ट गर्नेले नै आधी कुरा काटेर राखेको हुन्छ । हेर्नेले आधीको पनि आधीमात्रै हेर्छ । अनि त्यही आधीको आधी कुरालाई लिएर फेसबुकभरि गालीको वर्षा हुन्छ ।
अहिले फेसबुकमा गालीको वर्षा फेरि कम भयो भनेर तपाईँलाई छटपटी भएको हुन सक्छ । चिन्ता नलिनुहोस्, कसैले केही बोलेको छ कि खोज्नुहोस् । अहिले डेङ्गी र लामखुट्टेको विषयमा भाषण गर्दा फूलभुट्टा भरेर कसैले यसो भनेको हुनसक्छ– ‘तपाईँसँग लामखुट्टे भगाउने धुप र लिक्विड छैन भने लामखुट्टेको खुट्टा भाँच्दा पनि हुन्छ । पखेटा उखेलेर फाल्दा पनि हुन्छ ।’
आहा क्या बिकाउ बोली ! अब गालीको वर्षा हुने गरी बोली बिकाउनतिर लागौँ । सबैभन्दा पहिले यो बोलीलाई मिलाएर कैँची लगाउँ र फेसबुकमा लेखौँ, ‘लामो खुट्टा भएकाको खुट्टा भाँच्दा पनि हुन्छ – फलानो ।’ अनि के चाहियो, फेसबुकमा विद्वानहरूको तर्क र बहस शुरु भइहाल्छ । अनि थरीथरीका टिप्पणी र प्रतिक्रिया ओइरिन थाल्छन् यसरी :
‘फलानाले लामो खुट्टा भएकाको खुट्टा भाँच्दा पनि हुन्छ भन्यो ।’
‘कतिसम्म लामो खुट्टा भएकाको चाहिँ भाँच्ने भनेको हो, त्यो कुरा पनि स्पष्ट हुनुपर्याे ।’
‘लामो खुट्टा भएकाको मात्रै किन, छोटो खुट्टा भएकाको पनि खुट्टा भाँच्नुपर्छ ।’
‘लामो खुट्टा होस् या छोटो खुट्टा, कसैको पनि खुट्टा भाँच्न हुँदैन ।’
विवाद र बहस चर्कँदै गएपछि फलानाले साँच्चै यस्तो बोलेको होला त भनेर कसैले खोजीनीति गर्छ । अनि उसले लेख्छ, ‘फलानाले त लामखुट्टेको चाहिँ खुट्टा भाँच्नुपर्छ पो भनेको रहेछ ।’
फेरि पनि अर्को बहस सुरु हुन्छ, ‘लामखुट्टेलाई त धूप बालेर भगाउने हो, मार्ने हो, किन खुट्टा भाँच्ने ?’
त्यसपछि फेसबुकमा कुनै लामखुट्टे अधिकारवादी निस्कन्छ : ‘लामखुट्टेलाई मार्न पनि हुँदैन, खुट्टा भाँच्न पनि हुँदैन, मान्छे आफैँ झुलभित्र बस्ने हो भने न लामखुट्टेले टोक्छ न उसलाई मार्नुपर्छ ।’
यो बहस पनि सकियो । फेसबुकका विद्वान्, विश्लेषक, वकिल, न्यायाधीशकर्ताहरूको एकमेलो काम पनि सकियो । फेरि कसैको बोलीलाई लिएर केही लेख्ने र गाली गर्ने खसखस भइसक्यो । अब के गर्ने ? के मा बहस गर्ने ?
यति कुरा पढेपछि तपाईँलाई पनि मलाईजस्तै केही छाँट्न मन लागेको होला । तपाईँ छाँट्दै गर्नुहोस्, गाली वर्षाउँदै गर्नुहोस् । त्यसपछि फेरि मेरो पालो !
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।