सरकार सत्ताका लागि परराष्ट्र नीतिमै सन्तुलन गुमाउने काममा संलग्न भयो : प्रदीप ज्ञवाली

 साउन १, २०८० सोमबार १५:४६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका उपमहासचिव एवम् पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता टिकाउनका लागि नेपालको परराष्ट्र नीतिमै सन्तुलन गुमाउने खालको काममा संलग्न भएको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री प्रचण्डकाे भर्खरै सम्पन्न भारत भ्रमणबारे सङ्केत गर्दै ज्ञवालीले पछिल्ला दिनमा सत्ता टिकाउनका लागि जस्तोसुकै जोखिम मोल्न पनि तयार भएको उल्लेख गर्दै त्यसो हुन नदिनका लागि सरकारलाई सचेत गराउन बुद्धिजीवीहरूलाई समेत आग्रह गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालय नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) ले सोमवार कीर्तिपुरमा आयोजना गरेको कार्यक्रममा उपमहासचिव ज्ञवालीले सत्ता टिकाउनका लागि असंलग्नताको परराष्ट्र नीतिमा विचलन ल्याउने काम नगर्न पनि सरकारलाई सचेत गराउनुभयो । प्रधानमन्त्रीले भारत भम्रणका क्रममा नेपालको हितलाई समेत ध्यानमा नराखी बिजुली खरिदसहितको सम्झौता गरेको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।

उहाँले भन्नु भयो, ‘असंलग्नता नेपालका लागि सान्दर्भिक छ । पछिल्ला दिनमा त्यसमा विचलनहरू देखा पर्न थालेका छन् । सत्ता टिकाउनका निम्ति जस्तोसुकै पनि जोखिम गर्दा केही वर्ष सत्ता टिक्ने कुरा एउटा होला तर नेपालजस्तो देशले धेरै–धेरै मूल्य चुकाउनुपर्छ । असंलग्नताको हाम्रो मूलभूत सिद्धान्तभन्दा दायाँबायाँ हुने गरी कदम नचाल्न सरकारलाई आग्रह गर्दछु । देशको प्राकृतिक स्रोतमाथि हामीले कतै आफ्नो नियन्त्रण गुमाउँदै गएका हौँ कि ? ऊर्जामा हामी भारतसँग नै साझेदारी गर्ने तर त्यसमा पनि तपाईँसँग आफ्नो हातमा त केही हुनु पर्‍याे नि । राष्ट्रिय हितहरूको सन्दर्भमा पनि त्यो सन्तुलनलाई हामीले गुमाउनु हुन्न ।’

उपमहासचिव ज्ञवालीले नेपालले आफ्नो राष्ट्रिय हितलाई ध्यानमा राखेर छिमेकी देशहरूसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने पनि बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसकी नेत्री एवम् पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपालले भारत–चीनबीचको सम्बन्ध बलियो बनाउने काममा प्रयास गर्नुपर्ने बताउनुभयो । दुई देशबीचको सम्बन्ध राम्रो भएमात्रै नेपालले त्यसबाट लाभ लिन सक्ने भएकाले सरकारले त्यहीअनुसारको सम्बन्ध अघि बढाउने कुरामा जोड दिनुपर्ने उहाँको तर्क थियो । नेत्री कोइरालाले नेपालले राष्ट्रिय हित विपरीत कुनै पनि देशको बहकाउमा गएर परराष्ट्र सम्बन्ध अघि बढाउन नहुने पनि सचेत गराउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले नेपाल भूराजनीतिक चपेटामा फस्दै गएको उल्लेख गर्दै त्यसबाट मुक्त हुने खालको परराष्ट्र नीति बनाउने काममा पहलकदमी लिन परराष्ट्रविद्हरूलाई आग्रह गर्नुभयो । उहाँले बीआरआई, एमसीसीजस्ता परियोजना नेपालको हितमा नभएको दाबी गर्दै त्यसले पार्ने असरबारे नेपाल सचेत हुनुपर्नेमा जोड दिनुभयो । नेता कार्कीले नेपालले विश्व अर्थव्यवस्था र विश्व राजनीतिबारे गहिरो अध्ययन गरी त्यहीअनुसारको परराष्ट्र सम्बन्धलाई अघि बढाउने कुरामा ढिलाइ गर्न नहुने बताउनुभयो ।

अन्तिम अपडेट: भदौ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया