कांग्रेसले राष्ट्रपति पाउने भएपछि प्रचण्डलाई विश्वासको मत दिएका थियौँ : उपसभापति खड्का

 साउन २, २०८० मंगलबार १७:८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसका उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएबापत आफ्नाे पार्टीले राष्ट्रपति पद पाउने पूर्वसहमति भएको खुलासा गर्नुभएको छ ।

आज मङ्गलवारदेखि शुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति खड्काले कांग्रेसले राष्ट्रपति पाउने सर्तमा प्रधानमन्त्री प्रचण्डलाई पुस २६ गते विश्वासको मत दिइएको बताउनुभएको हो । एमाले–माओवादी केन्द्रलगायतका दलहरूको गठबन्धनमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको थियो ।

उपसभापति खड्काले पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलमा प्रचण्डले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने प्रतिबद्धता व्यक्त गरेसँगै विश्वासको मत दिइएको स्पष्ट पार्नुभयो । कांग्रेसले विश्वासको मत दिएसँगै आफूहरूबीचको गठबन्धन पुनःस्थापित हुने वातावरण बनेको र अहिले कांग्रेस सरकारमा पुगेको उहाँले उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वलाई विश्वासको मत दिने निर्णयमा हामी पुग्यौँ । आफूलाई विश्वासकाे मत दिएमा राष्ट्रपतिको चुनावमा एउटा वातावरण बनाएर कांग्रेसको उम्मेदवारको पक्षमा फर्कने वातावरण बनाउनका लागि वर्तमान प्रधानमन्त्री प्रचण्डले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । त्यही विश्वासको आधारमा हामीले विश्वासको मत दियौँ ।’ 

उपसभापति खड्काले सरकारले नागरिकलाई उत्साहित र प्रेरित गर्ने खालको काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नागरिककाे अपेक्षा पनि पार्टीले सरकारमा गएर राम्रो काम गरोस् भन्ने रहेको भन्दै आफूहरूले अहिलेसम्म कुनै गल्ती र कमजोरी नगरेको जिकिर गर्नुभयाे ।

खड्काले सरकारले गर्नुपर्ने कामको सम्बन्धमा पार्टीकाे केन्द्रीय समितिले ध्यानाकर्षण, सुझाव तथा निर्देशन दिने विश्वास पनि व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया