'स्मार्टफोन' को लत खतरनाक हुनसक्छ

 साउन ४, २०८० बिहिबार ९:४१:४५ | अविनाश गजुरेल
unn.prixa.net

तस्बिर : एजेन्सी

के तपाईँलाई मोबाइल फोन एकैछिन पनि छोड्न गाह्रो हुन्छ ? केही नयाँ आयो कि भनेर छिनछिनमा फोन हेर्नै पर्ने बानी परेको छ ? फोन हेर्‍यो, केही नयाँ कुरा छैन ! तर, जतिखेर पनि ध्यान चाहिँ मोबाइलमै हुन्छ ! यस्तो मनस्थितिमा हुनुहुन्छ भने तपाईँलाई स्मार्टफोनको नराम्रो लत (एडिक्सन) लागिसक्यो । धेरैले त्यति महत्त्व नदिएको यो समस्या विकराल बन्दै गएको छ । संसारैभरी नै प्रति दिन यो समस्या बढ्दो छ ।

हालै गरिएको एउटा अध्ययन अनुसार संसारभर स्मार्टफोनका कुल प्रयोगकर्तामध्ये लगभग आधा मानिस यो गम्भीर लतमा फसिसकेका छन् । स्मार्टफोनको यो लतले हाम्रो जीवनमा गम्भीर प्रभाव पारिराखेको छ ।

'वर्ड इण्डेक्स' नामक अनुसन्धान संस्थाका अनुसार स्मार्टफोनको कुलतमा लट्ठिएका सबैभन्दा धेरै मानिस चीनमा छन् । त्यही प्रतिवेदनले नेपाललाई दशौँ स्थानमा राखेको छ, जतिखेर पनि मोबाइल फोनमा झुण्डिरहनेहरूका हिसाबले ।

मोबाइल फोनको कुलतले हाम्रो पारिवारिक तथा सामाजिक सम्बन्ध, हाम्रो काम र हाम्रो स्वास्थ्यमा अनेक समस्या निम्त्याउन सक्छ । यो लत लाग्यो भने कुनै काममा एकाग्र भएर ध्यान केन्द्रित गर्न नसक्ने, नयाँ कुरा सिक्न नसक्ने र निदाउन समेत गाह्रो हुन सक्छ ।

मोबाइल फोनको कुलत खतरनाक हुनसक्छ

विश्वलाई प्रविधिले जोड्दै लगेर पृथ्वी नै एउटा गाउँ जस्तो भैसक्यो । सञ्चार प्रविधि प्रयोग गरेर हामी 'भर्चुअल' हिसाबले संसारको जुनसुकै कुनाको विचरण निर्बाध रूपले गरिराखेका छौँ । मोबाइल फोनमार्फत् एक प्रकारले हामी सम्पूर्ण विश्वलाई हत्केलामा बोकिराखेका छौँ । तर त्यही मोबाइल फोनले हामीलाई यसरी बन्दी बनाइराखेको छ कि हामी एकैछिन पनि फोनविना बस्नै नसक्ने हुँदै गएका छौँ । मोबाइल फोनले एउटा महामारीको रूपमा नजानिँदो किसिमले दशौँ करोड मानिसलाई कज्याइसक्यो । 

स्मार्टफोनको पर्दाको झल्याक-झुलुकले हामीलाई सूचना, जानकारी, ज्ञान र मनोरञ्जन दिइराखेको छ । तर यसले लाइक, शेयर, कमेन्ट अनि अनन्त स्क्रोलिङको सुरुङमा पनि हामीलाई छिराइराखेको छ । मोबाइलमा लठ्ठिएर हामी महत्त्वपूर्ण समय, एकाग्रता, ध्यान, सोच्ने क्षमता, र सम्भवतः हाम्रो विवेक पनि गुमाउँदैछौँ ।

वास्तविक जीवन र भर्चुअल संसारबीचको भिन्नता र सीमा मेटिएको जस्तो भैसक्यो मोबाइल फोनका कारण । अब सोच्ने बेला आइसक्यो, के हामी स्वतन्त्र छौँ ? वा कठपुतलीका रूपमा डिजिटल उद्योगी र व्यापारीहरूको तालमा नाचिरहेका छौँ हामी ?

स्मार्टफोन हाम्रो जीवनको अभिन्न अङ्ग बनेको छ । यसले कुराकानी गर्ने, काम गर्ने, पैसा कमाउने र सूचनामा पहुँचको तरिकामा परिवर्तन ल्याएको छ । तथापि, स्मार्टफोनको अत्यधिक प्रयोगले मोबाइल फोन एडिक्सनको रूपमा चिनिने एउटा गम्भीर समस्या जन्माएको छ ।

मोबाइल फोनको एडिक्सनले प्रयोगकर्ताको जीवनका अनेक पक्षमा नकारात्मक परिणाम निम्त्याउँछ । जतिबेला पनि फोन चलाइराख्ने यो रोगले मानिसको दैनिक काम, मानवीय सम्बन्ध र जीवनको समग्र पक्षलाई खल्बलाइदिन्छ ।

स्मार्टफोन एडिक्सनका लक्षणहरू :

* जति बेला पनि फोन चलाइराख्ने : स्मार्टफोनको एडिक्सनले गाँजेका व्यक्तिहरू फोनमा अत्यधिक समय बिताउँछन् । आफ्नो दैनिकी लगायत अन्य गतिविधि र जिम्मेवारीलाई बेवास्ता गर्छन् । स्टेटिष्टा (Statista) नामक अनुसन्धान संस्थाको सन् २०२० को एउटा अध्ययन अनुसार विश्वभर स्मार्टफोनमा खर्च गरिने औसत प्रति व्यक्ति दैनिक समय लगभग ३ घण्टा १० मिनेट पाइएको थियो । केही व्यक्ति त औसत भन्दा निक्कै धेरै समय फोन चलाएर बस्छन् ।

* छटपटी र चिन्ता : मोबाइल फोनको लतमा फसेका मानिस फोनबाट एक्कै छिन टाढा हुँदा पनि लागू पदार्थको कुलतमा परेको जस्तै गरी छटपटाउन थाल्छन् । चिन्ता, बेचैनी र झर्कने लक्षण देखिन सक्छ यस्ता व्यक्तिमा । सन् २०२२ मा 'कम्प्युटर्स इन ह्युमन बिहेबियर' नामक जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार स्मार्टफोनबाट अलग भएका बेला मोबाइल फोन दुर्व्यसनीको मुटुको धड्कन बढ्ने, रक्तचाप बढ्ने र चिन्तित हुने गरेको पाइएको थियो।

* छिन-छिनमा फोन हेर्ने : स्मार्टफोन दुर्व्यसनी नयाँ सूचना, सन्देश, अपडेट आयो कि भनेर छिन-छिनमा फोन हेर्छन् । सामाजिक सञ्जाल अपडेट नगरी एक्कै छिन पनि बस्नै सक्तैनन् यस्ता व्यक्ति । प्यु रिसर्च सेन्टरले सन् २०२१ मा गरेको एक सर्वेक्षण अनुसार ६७ प्रतिशत स्मार्टफोन प्रयोगकर्ताले आफ्नो फोनमा कम्पन वा घण्टी नबज्दा पनि नोटिफिकेसनका लागि चेक गर्ने गरेको पाइएको थियो ।

* वास्तविक जीवनको व्यवहारबाट पन्छिने : स्मार्टफोनको एडिक्सनले प्रत्यक्ष भेटेर गरिने सामाजिक अन्तरक्रियामा ह्रास ल्याउन सक्छ । मोबाइल फोनको कुलतमा फसेका व्यक्तिलाई मानिससँग कुराकानी गर्न वा साथीभाइ तथा परिवारसँग समय बिताउन गाह्रो  लाग्न सक्छ । सन् २०२० मा कम्प्युटर्स इन ह्युमन बिहेबियर नामक जर्नलमा प्रकाशित एक अध्ययनले स्मार्टफोनको कुलतको स्तर उच्च भएका मानिसहरूमा प्रत्यक्ष भेटेर गरिने अन्तरक्रियामा कमी आएको देखिएको थियो ।

* एकाग्रता र उत्पादकत्वमा ह्रास : स्मार्टफोनको अत्यधिक प्रयोगले व्यक्तिको उत्पादकत्व र एकाग्रताको स्तरमा ह्रास ल्याउन सक्छ । सन् २०१९ मा जर्नल अफ द एसोसिएसन फर कन्जुमर रिसर्चमा प्रकाशित एक अध्ययन प्रतिवेदन अनुसार स्मार्टफोन प्रयोग नगरिकन नजिकै राखेका सहभागीहरूले, फोन नजिकै नभएका व्यक्तिहरूका तुलनामा तार्किक अन्तरक्रियामा नराम्रो प्रदर्शन गरेका थिए ।

* निद्रामा गडबडी : मोबाइल फोनले फाल्ने नीलो प्रकाशले हाम्रो निद्रा बिगार्न सक्छ र निदाउन कठिनाइ हुनसक्छ । सन् २०१७ मा 'पीएलओएस वान' जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार सुत्नु अघि स्मार्टफोनको बढ्दो प्रयोगले निद्राको गुणस्तर कम हुनुका साथै निदाउने समयमा समेत कमी आएको पाइएको थियो ।

* मानसिक स्वास्थ्यमा नकारात्मक असर : स्मार्टफोनको दुर्व्यसनलाई डिप्रेसन, चिन्ता लगायत अनेक मानसिक स्वास्थ्य समस्याहरूसँग जोडेर हेर्ने गरिएको छ । सन् २०१९ मा जर्नल अफ बिहेबियरल एडिक्सनमा प्रकाशित एउटा प्रतिवेदनले स्मार्टफोनको कुलत र डिप्रेसन, छटपटी र चिन्ताका लक्षणहरूबीच सम्बन्ध फेला पारेको थियो ।

* शारीरिक स्वास्थ्य समस्या : दैनिक लामो समयसम्म स्मार्टफोन चलाउने बानीले घाँटी दुख्ने, आँखा टट्याउने, पिठ्यूँ दुख्ने जस्ता शारीरिक स्वास्थ्य समस्या आउन सक्छ । गेम र सामाजिक सञ्जाल जस्ता गतिविधिका लागि स्मार्टफोनमा बढ्दो निर्भरताले गतिहीन जीवन शैली निम्त्याउन सक्छ । वजन बढ्ने जस्ता अन्य स्वास्थ्य समस्या आउन सक्छ ।

मोबाइल फोनको एडिक्सनका उपरोक्त लक्षणहरू व्यक्तिपिच्छे फरक हुन सक्छ । यो दुर्व्यसन गम्भीर समस्या भएकाले यसको समाधान पत्ता लगाएर हाम्रो डिजिटल जीवनमा स्वस्थ्य सन्तुलन ल्याउनु जरूरी छ ।

युवामा स्मार्टफोन दुर्व्यसनको असर :

स्मार्टफोनको कुलतका कारण युवापुस्तामा पर्ने असर :

* पढाइमा कमजोर हुनु : युवाहरूमा स्मार्टफोनको अत्यधिक प्रयोगले पढाइमा नकारात्मक प्रभाव पार्न सक्छ । विचलित हुनु, पढ्ने समय घट्दै जानुले परीक्षामा राम्रो गर्न नसक्ने जस्ता कमजोरी देखिन सक्छ । सन् २०१९ मा कम्प्युटर्स इन ह्युमन बिहेबियर नामक जर्नलमा प्रकाशित एक अध्ययन प्रतिवेदनले कलेजका विद्यार्थीमा स्मार्टफोनको कुलत र शैक्षिक उपलब्धिबीच नकारात्मक सम्बन्ध रहेको देखाएको थियो ।

* सामाजिक अलगाव : स्मार्टफोनको कुलतले सामाजिक लगाव घटाउँछ र युवाहरूमा प्रत्यक्ष भेटेर गरिने अन्तरक्रियामा कमी ल्याउन सक्छ । भर्चुअल संसार र सामाजिक सञ्जालमा अत्यधिक निर्भरताले वास्तविक जीवनका गतिविधिहरूमा कमी आउन सक्छ । युवाहरूमा एक्लोपन र अरूबाट टाढा बस्ने अलगावको प्रवृत्ति वढाउन सक्छ । सन् २०१७ मा जर्नल अफ एडोलेसन्समा प्रकाशित एक अध्ययन अनुसार स्मार्टफोन दुर्व्यसनका कारण किशोर-किशोरीमा सामाजिक अन्तर्क्रियामा ह्रास आएको देखाएको थियो ।

* मानसिक स्वास्थ्यमा असर : स्मार्टफोनको दुर्व्यसन युवाहरूमा डिप्रेसन, चिन्ता, छटपटी र तनाव लगायत विभिन्न मानसिक स्वास्थ्य समस्याहरूसँग जोडिएको पाइएको छ । 'अनलाइन प्रोफाइल' अपडेट गरिराख्ने निरन्तरको दबाब, साइबरबुलिङ र अरूले बिर्सने हुन् कि, आफू पछि परिने हो कि भन्ने डरले युवाहरूमा मनोवैज्ञानिक रूपमा नकारात्मक असर पार्छ । सन् २०१८ मा साइबर साइकोलोजी, बिहेबियर एन्ड सोसल नेटवर्किङ जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार स्मार्टफोनको कुलत र किशोर-किशोरीमा डिप्रेसनका लक्षणबीच प्रत्यक्ष सम्बन्ध रहेको देखाएको थियो ।

* निद्रामा गडबडी : सुत्नु अघि स्मार्टफोनको अत्यधिक प्रयोगले निद्रामा खलल पुर्‍याउन सक्छ । स्मार्टफोनबाट उत्सर्जित नीलो प्रकाशले 'मेलाटोनिन' नामक हर्मोनको उत्पादनमा बाधा पुर्‍याउन सक्छ । यो हार्मोनले हाम्रो निद्रा नियमित गर्न मद्दत गर्छ । फलस्वरूप मानिसलाई निदाउन गाह्रो हुन सक्छ । निदाउने अवधि कम हुन सक्छ र राम्रो निद्रा नलाग्ने हुन सक्छ । सन् २०१९ मा स्लीप मेडिसिन जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार स्मार्टफोनको कुलत किशोर-किशोरीहरूमा निद्राको गुणस्तर कमजोर हुनुसँग सम्बन्धित रहेको पाइएको थियो ।

* शारीरिक स्वास्थ्य समस्या : स्मार्टफोनको कुलतले युवाहरूमा अनेक शारीरिक स्वास्थ्य समस्या निम्त्याउन सक्छ । स्मार्टफोनको प्रयोग गर्दा धेरै बेरसम्म एकै ठाउँमा, एउटै आशनमा बस्दा शारीरिक गतिविधिमा कमी आउँछ । यसबाट वजन बढ्ने, मोटाउने, र त्यसबाट उत्पन्न हुने अन्य विविध स्वास्थ्य समस्या आउन सक्छ । सन् २०१६ मा पीएलओएस वान जर्नलमा प्रकाशित एक अध्ययनले स्मार्टफोनको कुलतले किशोर-किशोरीमा गतिहीन व्यवहार र हलचल नगरि एकै ठाउँमा बसिरहने जस्ता गतिविधि अत्यधिक रहेको देखाएको थियो ।

* सिक्ने क्षमतामा ह्रास : स्मार्टफोनको अत्यधिक प्रयोगले युवाहरूको सिक्ने क्षमतामा ह्रास ल्याउन सक्छ । एकाग्रता घट्दै जाने, पढाइमा ध्यान दिन छोड्ने, तार्किक र उत्पादनमूलक सोचाइ हराउँदै जाने जस्ता समस्या देखिन सक्छ । सन् २०१८ मा फ्रन्टियर्स इन साइकोलोजी जर्नलमा प्रकाशित एक अध्ययन प्रतिवेदनले स्मार्टफोनको कुलतमा परेका किशोर-किशोरीहरूमा पढाइमा कमजोरी, स्मरणशक्तिमा ह्रास जस्ता समस्या अत्यधिक रहेको देखाएको थियो।

* सञ्चार सिपमा ह्रास : स्मार्टफोनको अत्यधिक प्रयोगले प्रभावकारी सञ्चार सिपको विकासमा बाधा पुऱ्याउन सक्छ । फलस्वरूप मानिस-मानिसबीचको भावनात्मक सम्बन्ध निर्माण गर्न र त्यस्ता सम्बन्ध कायम राख्न कठिनाइ हुन सक्छ ।

* उत्पादकत्वमा ह्रास : स्मार्टफोनको कुलतले कार्यस्थलमा र पढाइमा उत्पादकत्व घटाउन सक्छ । यसबाट समग्र आर्थिक विकास र व्यक्तिगत क्षमतामा नकारात्मक असर पर्छ ।

* सार्वजनिक स्वास्थ्यमा असर : स्मार्टफोनको अत्यधिक प्रयोगले मानिसलाई शारीरिक रूपमा गतिहीन बनाइदिन्छ । शारीरिक गतिविधि कम गर्ने, हिँडडुल नगर्ने, व्यायाम नगर्ने जस्ता बानी धेरै मानिसमा भयो भने त्यसले सिङ्गो समाजको स्वास्थ्यमा असर पार्छ । धेरै मानिस रोगी भए भने समाज र राष्ट्रलाई नै भार पर्न सक्छ ।

स्मार्टफोनको कुलतले व्यक्तिलाई मात्र होइन सिङ्गो समाज र राष्ट्रलाई नै नकारात्मक असर पारिराखेको छ । खासगरी युवापुस्ताको भलाइ र उनीहरूको समग्र विकासका लागि स्वस्थ्य डिजिटल वातावरण सिर्जना गर्नु जरूरी छ ।

स्मार्टफोन एडिक्सन समाधान गर्ने उपायहरू :

समयमै सटिक उपाय अपनाइयो भने स्मार्टफोनको कुलतबाट बच्न सकिन्छ । निम्न हुन सक्छन् त्यस्ता उपाय :

* चेतना र शिक्षा : स्मार्टफोनको एडिक्सनको सम्भावित जोखिम र परिणामबारे युवावर्गमा चेतना बढाउनु जरूरी छ । यसका लागि विभिन्न शैक्षिक कार्यक्रम, कार्यशाला र अभियान सञ्चालन गरेर युवालगायत सबैलाई स्मार्टफोन प्रयोग आवश्यकताअनुसार मात्र गर्न प्रोत्साहन गर्न सकिन्छ । सन् २०१९ मा जर्नल अफ मेडिकल इन्टरनेट रिसर्चमा प्रकाशित अनुसन्धानका अनुसार चेतनामूलक कार्यक्रमहरू गर्दा कलेजका विद्यार्थीहरूमा स्मार्टफोनको कुलतको स्तर उल्लेखनीय रूपमा घटाएको पाइएको थियो ।

* प्रयोगको सीमा निर्धारण : स्मार्टफोन प्रयोग गर्ने निश्चित समय र सीमा निर्धारण गरेर प्रयोगकर्तालाई मद्दत गर्न सकिन्छ । निश्चित समय तोकेर 'नो-फोन' समय र स्थान लागू गर्ने, सुत्ने बेलामा र खाना खाने समयमा फोन प्रयोग निषेध गर्ने जस्ता उपाय अपनाउन सकिन्छ । सन् २०१८ मा जर्नल अफ बिहेबियरल एडिक्सनमा प्रकाशित एक अध्ययनले स्मार्टफोनको प्रयोगमा स्वघोषित सीमाले कुलतको लक्षण कम भएको देखाएको थियो ।

* डिजिटल 'डिटक्स' : बेलाबेलामा  डिजिटल 'डिटक्स' को उपाय अपनाउन प्रोत्साहित गरेर निश्चित समयका लागि स्मार्टफोन प्रयोगमा रोक लगाउन सकिन्छ । यसका लागि फोन प्रयोगकर्तालाई 'अनलाइन' जान नमिल्ने स्थिति सिर्जना गरेर उनीहरूलाई 'अफलाइन' गतिविधिमा संलग्न हुन प्रेरित गर्न सकिन्छ । सन् २०१८ मा कम्प्युटर्स इन ह्युमन बिहेबियर नामक जर्नलमा प्रकाशित अनुसन्धानले डिजिटल डिटक्स गतिविधिमा संलग्न हुँदा स्वास्थ्यमा सुधार आएको र स्मार्टफोनको कुलतका लक्षणहरू कम भएको देखाएको थियो ।

* मोबाइल 'याप' जस्ता सुविधाको प्रयोग : स्मार्टफोन निर्माताहरू र याप बनाउनेहरूले स्मार्टफोनको स्वस्थ्य प्रयोगलाई प्रोत्साहन गर्ने खालका सुविधाहरू समावेश गरेर कुलत कम गर्न मद्दत गर्न सक्छन् । यसमा स्क्रिन टाइम ट्र्याकिङ, याप प्रयोग गर्ने सीमा, सूचना व्यवस्थापन याप जस्ता सुविधाहरू प्रयोग गर्न सकिन्छ ।

* स्वस्थ्य 'अफलाइन' गतिविधिलाई प्रोत्साहन : स्मार्टफोन प्रयोगकर्ताहरूलाई अफलाइन गतिविधिहरूमा संलग्न हुन प्रोत्साहित गरेर यो कुलत कम गर्न सकिन्छ । यसका लागि सामाजिक अन्तरक्रिया, शारीरिक व्यायाम र 'हवि' लाई प्रोत्साहन दिन सकिन्छ । खेलकुद, कला, सामुदायिक संलग्नता, र अन्य गतिविधिहरू मनोरञ्जनका साथै समय उपयोग गर्ने वैकल्पिक उपाय हुन सक्छन् ।

* सहयोगी वातावरण निर्माण : स्मार्टफोनको प्रयोग आवश्यकता पर्दा मात्र गर्ने खालको वातावरण निर्माण गर्नु जरूरी हुन्छ । व्यक्तिगत भेटघाट र अन्तरक्रिया जस्ता गतिविधिलाई प्रोत्साहन गर्न सकिन्छ । विद्यालय, परिवार र कार्यालयले स्वस्थ्य प्रविधि प्रयोगको बानीलाई प्रोत्साहन गर्ने नीति अपनाउन सक्छन् ।

* विशेषज्ञको सहयोग : स्मार्टफोनको गम्भीर कुलत लागेका व्यक्तिहरूका लागि थेरापिष्ट वा कुलत विशेषज्ञहरूको सहायता लिनु पर्ने हुन सक्छ । अनेक प्रकारका थेरापी र अन्य उपायमार्फत् स्मार्टफोन कुलतको उपचार गर्न सकिन्छ ।

स्मार्टफोन एडिक्सन कम गर्न अपनाइने उपरोक्त उपायहरू व्यक्तिको आवश्यकता र परिस्थिति अनुरूप हुनुपर्छ । कुलतको स्तर र आवश्यकता अनुसार विभिन्न रणनीतिहरू एकै पटक प्रयोग गर्नु पर्ने हुन सक्छ । यस्ता प्रयास लगातार जारी राख्ने हो भने धेरै दुर्व्यसनीलाई स्मार्टफोनको कुलतबाट मुक्त गर्न सकिन्छ ।

स्मार्टफोनको कुलतले युवा मात्र होइन समग्र समाजका लागि ठूलो चुनौती खडा गरेको छ । स्मार्टफोनको प्रयोग बढ्दै जाँदा, कुलतका लक्षणहरू पहिचान गर्न र यो समस्या समाधान गर्न अनेक उपाय अपनाउनु महत्त्वपूर्ण हुन्छ । डिजिटल साक्षरता बढाएर, स्वस्थ्य स्मार्टफोन प्रयोगको  बानीलाई प्रोत्साहन गरेर र आवश्यकता अनुसारका विविध उपचारात्मक उपायहरू अपनाएर स्मार्टफोन कुलतको नकारात्मक असर कम गर्न सकिन्छ । र सन्तुलित र एक-आपसमा जोडिएको स्वस्थ्य समाज निर्माण गर्न सकिन्छ ।

सन्दर्भ स्रोत :

  1. How addicted are newly admitted undergraduate medical students to smartphones?: a cross-sectional study from Chitwan medical college, Nepal: https://bmcpsychiatry.biomedcentral.com/articles/10.1186/s12888-020-02507-1
  2. link.springer.com/article/10.1007/s11620-021-00596-y
  3. Prevalence of Smartphone Addiction during COVID-19 Pandemic Lockdown and Its Impact on Online Learning in Kathmandu: https://www.nepjol.info/index.php/mrj/article/download/43575/32993/128439
  4. Smartphone addiction is increasing across the world: A meta-analysis of 24 countries: https://osf.io/fsn6v/download
  5. The Impact of Smartphone Addiction on Mental Health: https://www.ncbi.nlm.nih.gov/pmc/articles/PMC7250217/
  6. The Prevalence of Smartphone Addiction in Adolescence: A Systematic Review and Meta-Analysis: https://www.frontiersin.org/articles/10.3389/fpsyg.2020.02164/full

लेखकसँग [email protected] मा सम्पर्क गर्न सकिन्छ ।

अन्तिम अपडेट: कात्तिक १५, २०८०

अविनाश गजुरेल

स्नातकका विद्यार्थी अविनाश गजुरेल थ्रीडी एनिमेसनमा रूचि राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया