हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने लेस्टरका अर्बपति मालिक को हुन् ?

 कात्तिक १२, २०७५ सोमबार १६:१४:२ | एजेन्सी
unn.prixa.net

सन् २०१६ मा लेस्टर सिटीले प्रिमियर लिगको उपाधि जितेपछि क्लबका खेलाडी, पदाधिकारी, कर्मचारी र आमन्त्रित पाहुनाहरु उत्सव मनाइरहेका थिए । 

एकाएक त्यो उत्सवमा अर्को खुसियाली थपियो, जब क्लबका मालिक भिचाई श्रीभाधनाप्रभाले रोयल लेस्टर इन्फर्मरी अस्पताललाई १० लाख पाउण्ड दान गरेको घोषणा गरे । 

थाइल्याण्डका अर्बपति श्रीभाधनाप्रभा जति धनि थिए त्यति नै दयालु र नम्र । 

लेस्टर सिटीको रंगशालाबाहिर भएको हेलिकप्टर दुर्घटनामा ६१ वर्षीय मालिकको मृत्यु भएपछि अहिले क्लब शोकाकुल अवस्थामा छ । थाइल्याण्डका नागरिक श्रीभाधनाप्रभा दुई अर्ब ९० करोडको मूल्य रहेको किंग पावर इन्टरनेश्नल ग्रुपका अध्यक्ष हुन् । 

उनले सन् २००९ मा घाटामा रहेको लेस्टर सिटी ३ करोड ९० लाख पाउण्डमा किनेका थिए । त्यसपछि क्लबलाई ऋणमुक्त गरे र चार वर्षपछि शीर्ष डिभिजनमा उकाल्न सफल भए । 

त्यसपछि लेस्टरलाई सन् २०१५–१६ को ट्रफीसमेत जिताए जुन नतिजा सम्भवतः कसैले पनि अनुमान लगाएका थिएनन् । 

लेस्टरको त्यो कथा विश्व खेलकुदमा कहिल्यै नबिर्सिने क्षण बनिसकेको छ । तर, थाइल्याण्डका चौथो धनी व्यक्तिलाई लजालु चित्रण गरिन्थ्यो, किनभने उनी व्यक्तिगत जीवन बिताउन चाहन्थे र मिडियामा आउन चाहँदैनथे । 

‘२०१६ मा लेस्टर सिटीले अभूतपूर्व सफलता हात पारेपछि उनको व्यक्तित्वमा आमूल परिवर्तन आयो,’ बीबीसीका दक्षिण–पूर्व ब्यूरोका प्रतिनिधि जोना हेड भन्छन्, ‘विवादकाबीच पनि उनी क्लबप्रति ठूलो लगाव थियो । तर थाइल्याण्डमा उनको छुट्टै प्रकारको छाप छ । उनलाई थाइल्याण्डको ड्युटी फ्री बजारमा एकाधिकार जमाउन सफल किंग पावरको लगानीकर्ताका रुपमा चिनिन्छ ।’ 

उनी व्यक्तिगत जीवन बिताउन चाहन्थे, उनको कम्पनी पनि त्यस्तै प्रकारको छ । उनको बारेमा धेरैलाई थाहा छैन । उनले किंग पावर कम्पनी १९८९ मा स्थापना गरे र छोटो समयमा नै त्यो कम्पनीले ठूलो आर्थिक लाभ उठाउन सफल भयो ।

श्रीभाधनाप्रभा– चिनियाँ मूलका थिए, जसका चार सन्तान किंग पावर कम्पनीमा काम गरिरहेका छन् । लेस्टर सिटीको होम गेममा उनी लण्डनमा रहेको घरबाट आफ्नो प्राइभेट हेलिकप्टरमा किंग पावर स्टेडियम पुग्थे । 

उनको अर्को घर ब्रेकसायरमा पनि थियो, जहाँ उनले आफ्ना घोडाहरु पालेका थिए । 

क्लबका मालिकको रुपमा उनले स–साना कुराहरुमा खेलाडी, पदाधिकारी र समर्थकप्रति प्रभाव पारिरहेका थिए । 

उनी थाइल्याण्डबाट बौद्ध धर्मगुरुलाई बेलायत लिएर जान्थे र खेलाडीलाई जितका लागि प्रार्थना गराउँथे । 

लेस्टर सिटी सपोर्ट्स क्लबका अध्यक्ष क्लीफ जिनेटा भन्छन्,‘ लेस्टरका जनता र क्लब क्लबप्रतिको योगदानका कारण उनको परिवार लेस्टर सिटीका समर्थकको माझमा प्रिय छ ।’ 

‘उनीहरुले लेस्टरलाई विश्व मानचित्रमा पुर्‍याएका छन । श्रीभाधनाप्रभाको परिवारले लेस्टरका स्थानीय अस्पताल र शिशु स्याहार केन्द्रहरुमा करोडौंको दान गरिसकेका छन् ।’ 

लेस्टर सिटीले लिग जित्दा बेलायती खेलकुद इतिहासमा एउटा ठूलो र अविश्मरणीय कथा रचिएको छ । विपक्षी टिमका समर्थकले पनि लेस्टरको माया तथा प्रशंसा गरे । 

सन् २०१४ मा शीर्ष डिभिजनमा बढुवा भएपछि अध्यक्षले तीन वर्षभित्र शीर्ष पाँचमा पुग्ने योजना बनाएका थिए । जुन सोचेभन्दा पनि बढी सफल भयो । 

क्लाउडियो रानेरीलाई प्रशिक्षकमा नियुक्त गर्नु र अघिल्लो प्रशिक्षकले भित्राएका रियाद मेहरेज, जेमी भार्डी र एंगोलो कान्टे स्ता खेलाडीलाई निरन्तरता दिनु श्रीभाधनाप्रभाको चतुर निर्णय थियो ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया