‘मौद्रिक नीतिले ब्याजदर घटाउन र आन्तरिक उत्पादन बढाउन प्रोत्साहन गरेन’

 साउन ८, २०८० सोमबार २०:०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निजी क्षेत्रका छाता सङ्गठनले नेपाल राष्ट्र बैंकले हिजो आइतवार सार्वजनिक गरेको मौद्रिक नीतिले विद्यमान अर्थतन्त्रका समस्या समाधान गर्न नसक्ने निष्कर्ष निकालेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले चालु आर्थिक वर्षका लागि हिजो राष्ट्र बैंकले सार्वजनिक गरेको नीति समय अनुकूल नभएको बताएका हुन् । संयुक्त विज्ञप्ति निकालेर उनीहरूले उच्च ब्याजदर, न्यून माग, नगद प्रवाहमा भएको समस्या, न्यून उत्पादन एवम् रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका विद्यमान अर्थतन्त्रका चुनौतीहरूको सामना गर्ने गरी मौद्रिक नीति आउनुपर्नेमा अर्थतन्त्रलाई मन्दीको अवस्थाबाट उकास्न सहयोग नपुग्ने नीति आएको बताएका हुन् ।

गएकाे आर्थिक वर्षको मौद्रिक नीतिले निजी क्षेत्रमा जाने ऋण लक्ष्य १२ दशमलव छ प्रतिशत राखेकोमा चालु आर्थिक वर्षका लागि यस्तो लक्ष्य साढे ११ प्रतिशतमा झारिएको छ । यसरी निजी क्षेत्रमा विस्तार हुने कर्जा सङ्कुचित गर्दा बजेटमार्फत सरकारले लिएको छ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन निजी क्षेत्रको ठहर छ । मौद्रिक नीतिले ब्याजदर नियन्त्रणमा पहलकदमी लिन नसकेको, कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न दिइनुपर्ने, पुर्नकर्जाको सुविधा उपलब्ध गराउनुपर्ने लगायतका माग पनि पूरा नभएको उनीहरूको भनाइ छ ।

यस्तै ठूला ऋणीहरूको सुपरीवेक्षणलाई प्रभावकारी बनाउन छुट्टै मार्गदर्शन जारी हुने व्यवस्थाले निजी क्षेत्र निरुत्साहित हुनसक्ने आशङ्का जन्माएको पनि विज्ञप्तिमा उल्लेख छ ।

वित्तीय स्राेतलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई आन्तरिक उत्पादन क्षमता अभिवृद्धि गर्नेतर्फ मौद्रिक नीतिको कार्यदिशा हुने व्यवस्था समेटिए पनि के सुविधा दिने भन्ने प्रष्ट नभएको निजी क्षेत्रले जनाएको छ । समग्रमा अर्थतन्त्रमा चरम निराशा रहेको अवस्थामा मौद्रिक नीतिले निजी क्षेत्रको विश्वास बढाई अर्थतन्त्र चलायमान बनाउन सक्ने कार्यक्रम तत्कालका लागि ल्याउन नसकेको उद्योग वाणिज्य महासङ्घ, उद्योग परिसङ्घ र चेम्बर अफ कमर्सको ठहर छ ।

अन्तिम अपडेट: असोज २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया