श्रीमतीहरूको पछिल्लो टिकटक : मेरा त बुढाले रक्सी खाँदैनन्

 साउन १५, २०८० सोमबार १६:०:२२ | मिलन तिमिल्सिना
unn.prixa.net

मोटरसाइकलको 'ब्रेक शु' भित्र सुन लुकाएर तस्करी हुने गरेको तथ्य खुलेपछि आफ्नै पहेँलो सु पनि सुन नै हो कि भनेर झसङ्ङ भएको मान्छे सपनामा पनि तर्सन थाल्यो । सुनको कुरा सम्झेर घरीघरी तर्सने रोगको उपचार के होला त ? सोधीखोजी गर्दै जाँदा थाहा भयो, रक्सी । बेस्सरी रक्सी धोकेपछि पिसाबै सुनजस्तो पहेँलो हुने, पिसाबै पहेँलो भएपछि पहेलो सुन सम्झेर तर्सने रोग आफैँ हराउने !

देशमा इमानदार र सोझो त कि आफू कि आफ्ना मान्छे । बाँकी अरू सबै फटाहा र बेइमान । सबै केही न केही काण्डमा मुछिएका । कोही नक्कली भुटानीमा, कोही नक्कली श्रीमतीमा । कोही सुन तस्कर, कोही नुन तस्कर । जता हेरे पनि तस्कर र भ्रष्टाचारीको लस्कर । अब त देश बन्ला कि भनेर मख्ख परेको, कहिल्यै नबन्ने भयो । नेताहरूका उस्तै मारमुङ्ग्री । दलहरूभित्र उस्तै कचकच र झिनाझपटी । सरकारी काममा त्यही बेथिति र ढिलासुस्ती । देशको चिन्ताले कहिल्यै नछोड्ने भयो । चिन्ता दूर गर्ने उपाय के होला त ? यसको पनि एउटै औषधि थाहा भयो, त्यही रक्सीको झोल !

व्यापार व्यवसाय सबै चौपट । आम्दानी सुक्दैछ, खर्च फुक्दैछ । ऋणमाथि ऋण, खर्चमाथि खर्च । न खेती फस्टायो न व्यापार, दुःखको सागरबाट कसरी होला त पार ? टाउकोमा हात राखेर झोक्राइरहेको मान्छेलाई उस्तै बेहालको अर्को मान्छेले उपाय बताइदियो– एक गिलास रित्याएपछि सबै चिन्ता खलास !

आ जोसुकैलाई जेसुकै चिन्ताले सताओस् । आफूलाई खान पुगेकै छ, लगाउन पुगेकै छ । बेकारमा के को चिन्ता ? अरू सबै दुःखी हुँदा आफूलाई मात्रै हाँसीखुशी र मोजमस्ती छ । खुशीयालीको यो अवसरलाई पनि त उत्सवको रूपमा मनाउनुपर्‍याे । अरू दुःख बिर्साउन पिउँछन्, आफू खुशी साट्न !
.......... 
रक्सीको तलतलले छोएपछि थरीथरीका बहाना निस्कियो । सुखमा होस् कि दुःखमा, मिलनमा होस् कि बिछोडमा, नोटै नोटको चाङमा सिरानी राखेर सुत्नेलाई होस् कि एकपैसो पनि नभएर नाङ्गो आङ खाली खाटमा सुत्नेलाई, सबैलाई मिल्ने त्यही त छ । तरकारीलाई आलुजस्तो, पियक्डलाई रक्सी !

थरीथरीका बहाना बोकेका पियक्डहरू संयोगले एउटै जाँड अड्डामा भेला भए । देशको अवस्थाले दुःखित भएका, आफ्नै अवस्थाले चिन्तित भएका, अनि अरूको खुशी देखेर मन पोलेका र खुशीले गदगद भएकाहरू आ–आफ्नै पारामा पिउन थाले । जान त जान्छु तर पिउँदिन भनेर पछि लागेकाहरूले पनि थोरै मात्रै चाख्ने शर्तमा साथ दिँदै गए । नपिउँदासम्म सबै अपरिचित थिए, पिउन थालेपछि सबै परिचित । पियक्कडले त यसै पनि बोतल लडायो, पिउँदिन भन्नेले त घ्याम्पै घोप्ट्यायो । पिउँदा पिउँदा जिब्रो लटपटिन र खुट्टा लरबरिन थालेपछि जाँड पार्टीका बुढाहरू मोबाइल हेर्न थाले । सबैका मोबाइलमा बुढीहरूका टिकटक ।   

....‘छरछिमेकी साथीसँगी वरको र परको
के छ खबर सुन्तली तिम्रा घरको’....

हैन बुढीले नाम फेरेर सुन्तली राखिसकिछ, आफूलाई पत्तै छैन । सुन्तली पनि ठिकै छ, माया गरेर भन्दा सुन्तु । आहा ! कति राम्रो नाम, सुन्तु । कति राम्रो नाच्दी रहिछ त मेरी सुन्तु । के छ खबर भनेर सोध्ने चाहिँ पल्लोघरकी भाउजु रहिछिन् । हाम्रो घरको खबर त तिनलाई यसै थाहा छ नि, किन सोध्नुपर्‍याे ‘के छ खबर सुन्तली तिम्रो घरको’ भनेर । 

....‘बेलैमाथि घर आउँछन् बाहिर पनि जाँदैनन्
मेरा त बुढाले रक्सी खाँदैनन्....’

ल बित्यास पार्‍याे । हैन म सधैँ बाहिर जान्छु, बेलामा घर पुग्न पनि भ्याउँदिन । यसले कसलाई चाहिँ भनेकी होला त ‘बेलैमाथि घर आउँछन् बाहिर पनि जाँदैनन्’ भनेर । त्यसमाथि ‘मेरा त बुढाले रक्सी खाँदैनन्’ भनेर पनि कम्मर मर्काएर मस्केकी छ । अरूको बुढा भन्या होला त ? हैन मेरा बुढा नै भनेकी छ । कि अर्को बुढोको कुरा गर्‍या हो ? मेरोजस्तै उसको पनि अरू कोही त छैन ? हैन, हैन... बुढो मान्छेलाई पनि त बुढा भन्न मिल्छ नि । मेरा ससुरा बुढा, छिमेकी बुढा, पल्लोघरका बुढा, लौरो टेकेर हिँड्ने अरू बुढाले रक्सी खाँदैनन् भनेकी होला । यो त ठिकै छ नि ।

ओ साथी तिम्री बुढीले चाहिँ कसलाई भनेकी रहिछ, टिकटकमा ?

खै मेरी बुढीले पनि त्यही भनेर कम्मर मर्काएकी छ, ‘मेरा त बुढाले रक्सी खाँदैनन् ।’

रक्सी नखाने अरू कोही बुढालाई भनेकी होलिन् नि ?

हैन मेरै कुरा गरेकी जस्ती छ ।

अनि तिमीले रक्सी खाँदैनौ र साथी ?

कहाँ रक्सी खान्छु र, कहिलेकाहीँ पिउँछु मात्र क्या ।

भनेपछि घरमा चाहिँ नपिउने होला ? 

अँ घरमा चाहिँ पिउँदिनँ । कहिले भान्सामा, कहिले बार्दलीमा, कहिले बेडमा, कहिले यी यतै भट्टीमा ।

अनि तिमीले रक्सी पिउने कुरा बुढीलाई थाहा छैन र ?

किन थाहा नहुनु ? थाहा भयो भन्दैमा ‘मेरा त बुढाले रक्सी खान्छन्’ भन्दै नाच्नु त ! अनि तिमीले रक्सी पिउने कुरा तिम्री बुढीलाई चाहिँ थाहा छ कि छैन नि ?

थाहा भएको भए त मारिहाल्थी नि । बुढीको डरले पानी त धेरै पिउन सक्दिन, रक्सीको कुरा गर्छाै ! बुढीले अहिलेसम्म थाहा पाएकी छैन र त अहिलेसम्म जिउँदै छु साथी ।

हाहाहा......साथीले हँसाएर मार्ने भयो ।

हैन ए साथीहरू रक्सी खाएको बेलामा पनि बुढीका कुरा कति कुरा गर्नु । त्यो मोबाइल पनि बन्द गर क्या । देश नै ठिकठाक नभएको बेलामा के को टिकटक ? देशका कुरा गर न देशका । यो देश कहिल्यै बन्ने भएन बुझ्यौ ?

अब बन्छ, म बनाउँछु देश......खै अर्को पेग थप त !
...............

जाँडअड्डामा देश बनाउन व्यस्त भएपछि बुढाहरूलाई घर पुग्न झन् ढिलो भयो ।

घरमा बसेर बुढाहरूको बाटो हेर्दाहेर्दै थाकेका बुढीहरूले फेरि अर्को पोजमा टिकटक बनाउन थाले, ...‘मेरा त बुढाले रक्सी खाँदैनन् ।’...

अन्तिम अपडेट: फागुन १२, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

5 Comments

  • indira dahal

    Aug. 1, 2023, 9:58 a.m.

    रक्सी खान मनोबिग्यानले समेत सहि भनेको छ तर त्यसरी झाडा बान्ता हुने गरि होइन नि | हामी त रक्सी खान्छ्म तर थोरै खान्छ्म भन्नू पर्थ्यो

  •  0 Reply
  • Dipendra Malla

    Aug. 1, 2023, 7:28 a.m.

    शीर्षक एउटा छ तल एउटा छ क हो? यो समाचार,कथा,जिबनी, उपन्यास तेत्तिकै हावा लेखेको छ

  •  0 Reply
  • अमर आचार्य

    July 31, 2023, 10:07 p.m.

    हामी ,हाम्रो समाज, गाउँ ,टोल अनि बस्तिहरु लाई थाहा छैन कि हामी सतही कुरा को पछि दौडन्छौ अरुले त्यही कुराको फाइदा उठाउछन यति उडाइएको छ कि गित लाई लाज मनु बनाए 🤔🤔🤔

  •  0 Reply
  • Himal Thapa kshetri

    July 31, 2023, 8:44 p.m.

    नेकपा एकीकृत समाजबादीकि आदरणीय नेतृ @jamuna sanam ले १० बर्ष पहिले गायको गीतले अहिले न्याय पाएको छ । आदरणीय कमरेडप्रती लाल सलाम ।

  •  0 Reply
  • dipaka🇨🇭🇳🇵🖤💔vir pakham

    July 31, 2023, 5:31 p.m.

    Shre matre, kasare gar vatruna, Yao saba pane thapunos, shrli namakar🇳🇵🇨🇭🇳🇵🖤💔

  •  0 Reply

तपाईको प्रतिक्रिया